नेपालका नदीमाथि अब ‘सिग्नेचर’ पुल (भिडियो सहित), विश्व बैंकले दियो ४ अर्ब ऋण सहयोग

निर्माण सञ्चार, काठमाडौं । नेपालको पूर्वाधार विकास (सडक, पुल) मा सहयोग गर्दै आएको विश्व बैंकले विभिन्न नदीहरुमाथि ‘सिग्नेचर’ पुल बनाउन ४ अर्ब सहयोग गरेको छ ।

योसँगै नेपालमा पनि अब ‘सिग्नेचर’ पुल बन्ने भएका छन् । पहिलो चरणमा बन्ने ४ वटा ‘सिग्नेचर’ पुलको सुरुआती निर्माणका लागि डब्ल्यु बीले उक्त रकम सहयोग गरेको हो ।

सडक विभागले दिएको जानकारी अनुसार युरोपियन अमेरिकी मोडेलमा बन्ने यी पुलहरु कलात्मक र आकर्षक हुन्छन् ।

यी पुलहरु राजमार्ग र आसपासका सहरी क्षेत्रमा जोडिएका नदीमाथि बनाइने छ । नेपालको सडक पूर्वाधार निर्माणमा यस अघि पनि डब्ल्यु बीले सहयोग गर्दै आएको छ ।

यो वर्षका लागि विश्व बैंकले सडक विभागलाई १८ अर्ब दिने भएको छ । उक्त रकम मध्ये ४ अर्ब नदीहरुमाथि बन्ने सिग्नेचर पुलका लागि दिइने टुंगो लागेको हो ।

सडक विभागका पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार यसबारे सहमति भइसकेको छ । आउने जुलाईमा सहमति पत्रमा हस्ताक्षर हुने छ ।

‘यस्तो पुल निर्माणका लागि विश्व बैंकसँग ऋण सम्झौता हुने भएको छ,’ निर्माण सञ्चारसँग बोल्दै थापाले भने, ‘धेरै कुरा टुंगिसकेको छ । अब एग्रिमेन्ट मात्र बाँकी हो । आउने जुलाईमा एग्रिमेन्ट गर्ने तयारी छ ।’

थापाका अनुसार विश्व बैंकको सहयोगमा नेपालले पहिलोपटक सिग्नेचर पुल बनाउने भएको हो ।

केही महिना अघि सरकारले यसखाले पुल बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । सहुलियत ब्याजदरको ऋण दिन विश्व बैंक सहमत भएको हो ।

नौलो प्रविधिको पुल भएमा पर्यटन व्यवसाय पनि फस्टाउने हुनाले यस्तो पुल बनाउन लागिएको विभागको भनाइ छ ।

थापा भन्छन्, ‘नौलो पुल हेर्न महाकाली र कर्णालीमा नेपालीहरु जाने गरेका छन् । अब राजमार्गहरुमा पनि यस्तै पुलहरु बनाउन सकियो भने त्यसले पूर्वाधार विकासमा पनि नयाँ आयाम थप्ने छ ।’

नेपालमा बेली पुलहरु छँदैछन् ।

त्यस अतिरिक्त कर्णालीमा रहेको नौलो खाले पुल पर्यटकका लागि आकर्षणको केन्द्र पनि बन्दै आएको छ । सडक विभागले पुल प्रविधिमा आधुनिक शैली भित्र्याउन लागेको दाबी गरेको छ ।

कहाँ बन्दैछन् त सिग्नेचर पुल ?

विभागले बताए अनुसार पहिलो चरणमा बन्ने ४ वटा पुलहरु चितवनको नारायणी नदीबाट हुनेछ ।

विश्व बैंक सहमत भएसँगै विभागले भरतपुर र गैँडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर पुल बनाउन डिजाइनको काम अघि बढाइसकेको छ ।

विभागका अनुसार अब बुटवलको तिनाउ नदी माथि, सर्लाही र रौतहट जोड्ने बाग्मती र दमौली नदीमाथि सिग्नेचर पुल बन्ने छ ।

यसको डिजाइन तयार भइरहेको छ ।

विभागले बताए अनुसार देशैभरका ठूला नदीमाथि सिग्नेचर पुल बनाउने वैदेशिक महाशाखा मार्फत् प्रस्ताव गरिएको छ ।

२० वटा फरक फरक स्थानमा यस्ता पुल निर्माणका लागि विभागले प्रस्ताव गरेको छ ।


लागत कति ?

प्रारम्भिक अध्ययन अनुसार यस खाले पुल बनाउन करिब ३० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ४ वटा बाहेक अहिले बाँकी १६ पुलका लागि भने आर्थिक स्रोत जुटेको छैन ।

ढाँचा र जिम्वेवारी बदल्दै विभाग

सडक विभाग अबका दिनमा संघीय ढाँचामा जाने पनि विभागले बताउँदै आएको छ । प्रदेश र स्थानीय सरकारले गर्ने काम छुटाएर ठूला सडक र पुलहरु मात्र सडक विभागले हेर्ने तयारी थालिएको छ ।

आजसम्मको अवस्थामा विभागले देशैभर झन्डै १६ सय निर्माणाधीन पुल हेरिरहेको छ ।

तर, अब ७ सय पुलमात्रै विभागले हेर्ने र बाँकी प्रदेश तथा स्थानीय सरकारको काँधमा जिम्मेवारी सुम्पने सरकारको योजना छ ।

राजमार्ग अन्तर्गत आजसम्म बनेका र सञ्चालनमा रहेका १७ सय पुल हेर्ने जिम्मा पनि सडक विभाग अन्तर्गत नै रहेको थियो ।

 

 

...

सोमबार, १० वैशाख, ०७५

 

प्रतिक्रिया

Related