५ हजार क्षमताकाे सभाहलः राष्ट्रपति भण्डारीले गरिन् शिलान्यास

दक्षिण एशियाकै नमुना, २ वर्षमै सम्पन्न गर्ने लक्ष्य
निर्माण सञ्चार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको शिलान्यास गरेकी छन् ।

२५६२ औं बुद्ध जयन्तीको मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी भएकी भण्डारीले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको शिलान्यास गरेकी हुन् ।

२ वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावा–हुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए ।

प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो ।

२ वर्षमा निर्माण सम्पन्न गरिने

करिब ४० करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

सभा हलको सुविधा

यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ । सभाहलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ ।

हललाई आवश्यकता अनुसार सानो–ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईले बताए । सभाहल निर्माणको जिम्मा अनकर अर्घाखाँची र बाबुल जेभीले पाएको छ ।

लुम्बिनीमा बन्न लागेको  उक्त क्षमताको सभाहलको स्केच

लुम्बिनी विकास कोषले तीन हजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने बनाइसकेको छ ।

तीन करोड ९७ लाख रुपियाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभाहलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

...

सोमबार १७, वैशाख ०७५

प्रतिक्रिया

Related