असिनाले स्याउ खेतीमा क्षति, स्याउ उत्पादन घट्ने अनुमान

काला पहाड जानुपर्ने पुरानो बाध्यता ज्यूँ काे त्यूँ
निर्माण सञ्चार, काठमाडौँ । जुम्लामा यति बेला स्याउका बोटहरु फुलेर पाखा बारीहरु सेताम्मे भएका छन् ।

वर्षेनी चैत वैशाखकै समयमा असिनापानी पर्नाले प्राय स्याउका फूल झर्ने समस्याले किसानलाई पिरोलिरहन्छ । वर्षभरीको मेहनत र परिश्रम गरी फल लाग्ने बेलामा असिना पानीले स्याउका फूल झर्ने हुँदा यस वर्ष पनि असिना पर्ने हो कि भनेर चिन्ता गरिरहेका जुम्ली किसानलाई वातावरणीय चपेटामा परेका छन् ।

परिश्रम पनि गयो अब उत्पादनका त कुरै छोडौँ । गएको सोमबार जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिका क्षेत्रमा असिना पानीले पुरै स्याउ खेतीमा क्षती पुर्याएको छ ।

कतै लागेका दानानै झरेका छन् भने कतै भर्खरै फुलेका फूलहरु झरेको स्थानीयले बताएका छन् । पातारासी गाँउपालिका ४ का मिनबहादुर बुढाको स्याउ बगैचामा रहेका ९० वटा विरुवामा फलेको सबै दाना असिनाले झारेर भुँई लटरम्मै हुँदा उनि पीडाले भक्कानिए ।

हावाहुरीसँगै ठुलो मात्रामा परेको असिनाले स्याउका दाना झार्दै जाँदा आफ्ना आँखाबाट आँशु झरेको उनले बताए । पुरै बगैचा नै रित्तो छ ।

पैसाले खल्ती भराउने साना साना स्याउका दाना अहिले असिनाले गर्दा बगैचानै भरिएका छन् । सोमबार साँझ परेको असिनापानीले जुम्ला पातारासी गाँउपालिकाका मिनबहादुर बुढा जस्ता सयौँ कृषकहरुले लगाएको स्याउ खेती नष्ट भएको छ ।

किसान तारा बोहराले भने, ‘असिनाले फल र पात झारेको नाङगो विरुवामा हेर्दा साह्रै दुखित हुन्छ ।’ सरोकारवाला निकायबाट राहातको लागि अपेक्षा गरेको छु, नत्र यो वर्ष पेट पाल्न महंगो ऋणमा डुब्ने निश्चित भएको छ । उनले अबको एक वर्ष कसरी घरखर्च चलाउने भन्दै दुख व्यक्त गरे ।

स्याउ खेतीमै आश्रित समुदायलाई पेट पाल्नै धौधौ हुने अवस्था आएको कृषि विज्ञहरुले बताएका छन् । सोमबार साँझ ठुलो मात्रामा परेको असिनाले पातारासी गाँउपालिका तथा चौधबिष क्षेत्रका लाखौँ स्याउ विरुवाको फूल तथा चिचिला, दाना झारेपछि यस वर्षको स्याउखेती नष्ट भएको छ ।

कृषकको स्याउमा वर्ष दिनको लगानी असिनाले झारेर नष्ट भएपछि त्यहाँका सयौँ कृषकहरु चिन्तीत भएका छन् । असिनाले स्याउसँगै आरु, ओखर, खुरपानी लगाएतका सबै फलफुलका विरुवाको फूल र दाना झारेको छ, भने मकै, आलु र गँहुबाली पनि नष्ट गरेको छ ।

स्याउ उत्पादन घट्ने अनुमान

पातारासी गाँउपालिका कृषि संयोजक लक्षीराम महतका अनुसार असिना पानीले त्यस क्षेत्रको स्याउबालीमा ९५ प्रतिशत क्षति पुगेको छ ।

महतले भने, ‘असिनाले भरर्खर फुल्दै गरेका फलफुलको सबै फूल र दाना झारेर नष्ट पार्यो । चौध बिषमा यस वर्षको स्याउ उत्पादन शून्यमा झर्छ, यसले कृषकलाई मात्र नभई समग्र जिल्ला र देशलाई घाटा भयो ।’

उनले थपे, ‘फलफुलका विरुवाको बिमा गरेका कृषकले राहात पाँउलान् तर बिमा नगरेका कृषकहरु भने साह्रै मर्कामा परे ।’

यस वर्ष जुम्लाको स्याउ उत्पादनमा अपेक्षा भन्दा गिरावट आउने बताए । गत वर्ष जुम्लामा झण्डै १६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर यो वर्ष बढीमा १४ मेट्रिकटन भन्दा बढी उत्पादन हुन नसक्ने कृषि संयोजक महतले बताए ।

जुम्लामा उत्पादन हुने जम्मा स्याउको झण्डै २५ प्रतिशत स्याउ पातारासी क्षेत्रमा उत्पादन हुन्छ । गाँउपालिकाको कार्यालयका अनुसार यस वर्ष दैवीप्रकोप क्षेत्रमा बजेट विनियोजन नभएकाले कृषकहरुलाई राहात उपलब्ध गर्न सकिने अवस्था छैन् ।

गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने, ‘अब कृषि बिमातर्फ सबै किसानलाई आर्कषित गर्नु पर्ने हुुन्छ ।’

स्याउको आम्दानीबाटै बार्षिक जिविकोपार्जन गर्दै आएका पातारासी ४ का स्याउ कृषक पुर्ण बोहोराले असिनाले स्याउबाली नष्ट पारेपछि अब परिवार पाल्न कालापहाड जानुुको विकल्प नरहेको बताए ।

बोहराले भने, ‘मैलै लगाएको ८० वटा विरुवा फल्थ्यो । त्यसैको आम्दानीबाट वार्षिक रुपमा छोराछोरीको पढाई र घरखर्च चलाउथेँ ।’

उनले थपे, ‘यस वर्ष स्याउबाली नष्ट भएपछि चिन्ताले सताएको छ ।’ बोहराले भने, ‘न राहात पाइने अवस्था छ, न पहल नै भएको छ अब आफू लगायत सबै कालापहाडको तयारीमा जुटेका छन् ।’

जुम्लामा वर्षेनी असिना पानीले किसानलाई विचल्ली पारिरहेको छ । अब स्थानीय तहले कृषि बिमाका बारेमा जानकारी गराउदै बिमीत बनाउनु पर्ने देखिन्छ ।

जसले प्राकृतिक प्रकोपले पर्ने क्षतिबाट राहात पाउन सकिन्छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारकाे रिपाेर्ट

...

बुधबार १९, वैशाख ०७५

प्रतिक्रिया

Related