‘लार्चा सुख्खा बन्दरगाह’को निर्माण पुनःसुरु– एक वर्षमै सम्पन्न गर्ने लक्ष्य

दुई अर्ब ३५ करोड कूल लागत, ९० रोपनी क्षेत्रफलमा बन्दरगाह !
निर्माण सञ्चार, काठमाडौँ | नेपाल र चीन सीमा नजीक तातोपानीको लार्चामा निर्माणधिन बन्दरगाह ०७२ वैशाखको भूकम्पले क्षति पुर्याएका कारण बन्द भएको थियो ।

सिन्धुपाल्चोकको यस लार्चा सुख्खा बन्दरगाहको निर्माण अब भने पुनः थालनी हुने भएको छ ।

बिहीबार सुख्खा बन्दरगाह पुनःनिर्माण सम्बन्धमा नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सुरु गर्ने सम्झौता भएको छ ।

जसअनुसार नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ इकोनोमिक एण्ड कमर्शियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच सुक्खा बन्दरगाह निर्माण सुरु गर्ने सम्झौता भएको हो ।

बिहीबारदेखि नै निर्माण सुरु गरी आगामी एक वर्षभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी (सिआरसिस) को लक्ष्य रहको छ ।

भूकम्पलगत्तै बन्द तातोपानी नाका सञ्चालनमा ल्याउन समेत सो सुक्खा बन्दरगाह निर्माण हुनु जरुरी देखिएको थियो ।

तातोपानी सुक्खा बन्दरगाह पुनःनिर्माण गरी सञ्चालन ल्याउनका लागि वाणिज्य मन्त्रालय र चिनियाँ राजदूतावासबीच २०७३ चैत १८ मा हस्ताक्षर भएको थियो ।

उक्त परियोजनाको कूल लागत करीब दुई अर्ब ३५ करोड अर्थात् १४ करोड ७० लाख युआन छ ।

नेपाल चीन सीमा जोड्ने मितेरी पुलबाट करीब ७ किमी तल सुख्खा बन्दरगाह निर्माण थालिएको हो ।

करीब ९० रोपनी क्षेत्रफलमा सो बन्दरगाह निर्माण भइरहेको छ । यस सुख्खा बन्दरगाह तयार भएपछि तातोपानी नाकाबाट पुनः व्यापार विस्तारमा थप सहज हुने विश्वास लिइएको छ ।

तातोपानी सुक्खा बन्दरगाह निर्माण आयोजनालाई निरन्तरता दिन क्षतिपछिको पुनःनिर्माण कार्ययोजना बनाएर कार्यान्वयन गर्ने लक्ष्य राखिएको यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतको भनाइ छ ।

सोही कार्ययोजनानुसार परियोजना तीन भागमा विभाजन गरी निर्माण गरिने छ ।

बस्नेतकाअनुसार उक्त परियोजनाको आपत्कालीन सुरक्षा, भौगोलिक क्षतिको व्यवस्थापन र आयोजनालाई निरन्तरता दिने सम्झौता गरिएको बछ ।

कार्यकारी निर्देशक बस्नेतले हिजो भएको द्विपक्षीय सम्झौतापछि बन्दरगाह निर्माणको काम नै सुरु भएको बताए ।

बन्दरगाहसम्म पुग्नका लागि निर्माण भएको भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएकाले पुल पनि पुनः निर्माण गर्नुपर्ने भएको उनको भनाई छ ।

सोही हस्ताक्षर समारोहमा उपस्थित चिनियाँ प्रतिनिधि झाङ फ्यानले भने ‘सुक्खा बन्दरगाह निर्माणका लागि आजैदेखि पहिलो चरणमा ४० चिनियाँ र अरु थप नेपाली कामदार परिचालित गरेर एक वर्षभित्र निर्माण सम्पन्न गरिन्छ ।’

नेपाल सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने र चिनियाँ पक्षले समयमै निर्माण सम्पन्न गर्ने सहमतिसमेत भएको महानिर्देशक बस्नेतले जानकारी दिए ।

....

शुक्रबार, २१ वैशाख, ०७५ 

प्रतिक्रिया

Related