यस्तो पनि ! नातिनीको बालविवाह गर्ने बाजेको जेष्ठ नागरिक भत्ता रोकियो

बालविवाह रोक्ने अभियानः ‘बालविवाह गर्ने जेष्ठ नागरिकको सामाजिक सुरक्षा भक्ता रोकिन्छ’
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लामा एउटा उदाहरणीय कामको सुरुवात भएको छ ।

बालविवाह गर्ने प्रचलनको अन्त्य नभएपछि त्यहाँको स्थानीय सरकारले बालविवाह गरिदिने अभिभावकको सामाजिक सुरक्षाभक्ता रोक्ने नयाँ अभियान सुरु गरेको छ ।

पातारासी गाउँपालिका भक्त बुढाको सामाजिक सुरक्षा भक्ता (बृद्धभक्ता) रोकिएको छ ।

पातरासी गाउँपालिका ५ चौरकी १६ वर्षीय संगिता बुढाको १ नम्बर वडाका विर्ख बोहोरासँग बालविवाह गरेपछि उनका हजुरबुबा भक्त बुढाको सुरक्षा भक्ता रोकिएको हो ।

चालु आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिक जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाएनन् ।

बालविवाह गरिदिने अभिभावकलाई चेतावनी स्वरुप राज्यबाट पाउने सेवा सुविधा भक्ता रोक्ने अभियान चलाएको न्यायिक समिति संयोजक उपप्रमुख पुन्नकली महताराले बताइन् ।

उनले भनिन्, ‘यस क्षेत्रमा अहिलेसम्म गाउँपालिकामा बालविवाह गरेको उजुरी आएका छैनन् ।’

उनले थपिन, ‘गाउँघरमा यस्तो खालको परम्परा रहेको छ । बालविवाह उन्मुलनका लागि बालक्लवदेखि महिला समूह र सरकारी तवरबाट प्रयास भएपनि सुधार नभएपछि स्थानीय तहबाटै राज्यको सेवा सुविधाबाट बञ्चित गराउने अभियान सुरु गरेका छौँ ।’

पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराले यस चौधबिस क्षेत्रबाट बालविवाह अन्त्य गर्नका लागि कडा रुपमा लागि परेको बताए ।

उनले भने, ‘म यहाँकै बासिन्दा हुँ मलाई यस क्षेत्रमा प्रयाप्त मात्र बालविवाह हुन्छ भन्ने थाहा छ ।’

उनले थपे, ‘बालविवाह गरेको उजुरी नआउने भएकोले घटना स्थलमै गएर कारबाही गर्ने अभियान थालेका छौँ ।’

सरकारले बालविवाह रोक्ने विभिन्न अभियान ल्याएपनि जुम्लामा अझै बालविबाह रोकिने छाँटमा देखिँदैन । उक्त क्षेत्रमा शिक्षाको, अभाव, रोजगारी, नहुनु, गरिबी तथा सामाजिक संस्कारका कारण अझै बालबाविह भइरहेको छ ।

यसको प्रत्यक्ष असर महिलालाई परेको छ । बालबिवाहले निम्ताउने स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका बारेमा जनचेतना फैलाउन नसक्नुले समस्या अझै विकराल बन्दै गएको छ ।

जुम्लाको पातारासी गाउँपालिका चौँधविस क्षेत्रका अधिकांश किशोर किशोरीले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।

१३/१४ वर्षको उमेरदेखिनै केटाकेटीहरुले आफैँ गाउँघरमा भेटभाट गरी सम्पर्क बढाउने अनि पछि भागेर बालविवाह गर्नाले समस्या निम्तिएको स्थानीय चन्द्रबहादुर बुढाले बताए ।

उनले भने, ‘विवाह राती हुन्छ । विवाहमा जाँदा केटाकेटीको भेटघाट हुन्छ । त्यसपछि सम्पर्क बढाउँदै गएर भाग्छन् ।’

उनले थपे, ‘कतिपयको त सानै उमेरमा गर्भ बस्छ । गर्भ बसेपछि त्यही केटालाई बोलाएर जिम्मा लगाउनुपर्ने अवस्था आउँछ । यसले समस्या निम्त्याइरहेको छ ।’

सानै उमेर विवाह भयो पढ्न पाइँन

पातारासी गाउँपालिका ५ छुमकी सानै उमेरमा आमा बनेपछि उनको पढाइ बिग्रिएको किशोरी विष्णुमाया बुढाले बताइन् ।

छुमकीले भनिन, ‘मेरो १६ बर्षको उमेरमा विवाह भयो । अहिले २३ वर्षकी भएँ दुई बच्चा भइसके ।’ उनले थपिन, ‘सानो उमेरमा विवाह गर्नु हुँदैन भन्ने थाहा भएन अहिले पछुताउनुको विकल्प छैन । बालबच्चा भएपछि पढाइ बिग्रियो ।’

अहिले उनको स्वास्थ्य स्थिति पनि विग्रिएको छ । उनले गुनसो गरिन, ‘साथीको लहैलहैमा लागेर विवाह गरियो । आफ्ना उमेरका साथीहरु पढेको देख्दा रहर लाग्छ । अब त रहरमै सिमित भएको छ ।’

अधिकांश महिला पाठेघरका रोगी

यस चौधविस क्षेत्रका महिलाहरुमा बढी पाठेघरको समस्या देखिने गरेको पातारासी स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण बुढाले बताए ।

उनले भने, ‘यहाँ सानै उमेर विवाह गर्ने र सानै उमेर बच्चा जन्माउनाले यस्तो समस्या बढी देखिएको हो ।’

यहाँका महिलाहरुको काम धेरै तर पौष्टिक आहारा नपुग्नाले समस्या निम्तिएको हुनसक्ने अहेव कृष्ण बुढाले बताए । कामको आधारमा आराम तथा खानपानमा ध्यान नदिनाले कर्णालीका महिलाहरुमा पाठेघरको समस्या आएको देखिन्छ ।

काम कम गर्न सरोकारवालाहरुले विभिन्न चेतनामूलक कार्यक्रम ल्याएपनि प्रभावकारी हुन सकेको छैन । सभा सम्मेलनमा भाषण गर्ने पुरुषकै घरमा श्रीमतीको अवस्था दयनीय हुनुले झनै समस्या थपिएको छ ।

जुम्लाका स्थानिय तहले घरका जुनसुकै परिवारले बालबाविह गरेको भेटिएमा सामाजिक सुरक्षाभत्ता रोक्ने अभियान ल्याएको सुन्दा स्थानीय नै अचम्मित भएका छन् ।

बालविवाह गर्नेहरुलाई बहिष्कार गर्ने, सरकारी सेवा सुविधा नदिने लगायतका निमय बनाए बालविबाह रोकिने अनुमान गर्न सकिन्छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

शुक्रबार २०, वैशाख ०७५

प्रतिक्रिया

Related