निर्माण व्यवसायी संघ गोरखामा सिन्डिकेटः ठेक्का हाल्न गएका व्यवसायीमाथि कुटपिट

सरकार टेन्डरमाथिको सिन्डकेट कहिले हुन्छ अन्त्य ?
निर्माण सञ्चार, गोरखा | जिल्लाका व्यवसायीको संरक्षणका लागि स्थापना भएको गोरखा निर्माण व्यवसायी संघले स्वतन्त्र रुपमा टेन्डर हाल्न गएका व्यवसायी माथि नै कुटपुट गरेको छ ।

शुक्रबार पालुङ्टार नगरपालिकाको कार्यालयमा ठेक्का फर्म दर्ता गर्न गएका दुई व्यवसायीलाई चारघण्टासम्म बन्धक बनाएर हातपात गरेको पीडित व्यवसायले बताएका छन् ।

वल्र्डवाइड कन्स्ट्रक्शनका प्रतिनिधि राम थापाले भने ‘बिहान सवा १० बजे बोलपत्र दर्ता गरेका थियौँ’ संघका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारीकै रोहोबरमा २०/२५ जनाको समूहले साँढे १० बजेदेखि दुईबजेसम्म हामीलाई नगरपालिका कार्यालय नजिकैको होटलमा थुनेर राखे ।’

‘हामीसित समन्वय नगरी किन टेण्डर दर्ता गरिस् भनेर कुटपिट गरे, के के भने, के के गरे, सम्झेर साध्य नै छैन, यस्तो दुव्र्यबहार जीवनमा पहिलोचोटी भोगें ।’ थापाले दुःख व्यक्त गरे ।

व्यवसायीको संरक्षण गर्ने संघले नै यस्तो गुण्डागर्दीको नेतृत्व गरेपछि व्यवसायीले सूरक्षाको प्रत्याभूति कसरी गर्ने ? उनले प्रश्न गरे ।

संघका अध्यक्ष श्रेष्ठले कुटपित नगरेको तर महासचिव भण्डारीले भने धेरै पटक लम्कीझम्की गरेको थापाले बताए ।

‘अध्यक्षले ठेक्का फिर्ता गर्न दबाब मात्र दिए, तर महासचिवले चारपाँच नै लम्कीझम्की गरे’ उनले भने ‘अरु केटाहरुले पनि धेरै पटक हात हाले ।’

खाजा खान, दिसापिसाब गर्न समेत नदिएको उनको भनाई छ ।

यसरी बन्धकमुक्त भएपछि गुण्डागर्दीको नेतृत्व गरिरहेका राजिन सुनार र खुशी तामाङको नाममा किटानी जाहेरी दिएको थापाको दाबी छ ।

कति रकमको टेण्डर ?

नगरपालिका कार्यालयले वडा नं. ५ को सडक निर्माण गर्न ९० लाख रुपियाँको, वडा नं. ९ को वडा कार्यालय भवन निर्माण गर्न ७२ लाख रुपियाँको र वडा नं. ८ मा सडक निर्माण गर्न २५ लाख रुपियाँको टेण्डर आव्हान गरेको थियो ।

 उपमेयर माथि नै दुव्र्यवहार !

उक्त ठेक्का हडप्न खोज्नेहरुले उपमेयर पम्फा बसेलमाथि पनि दुव्र्यवहार गरेका थिए ।

‘शुक्रबार टेण्डर फर्म दर्ता गर्ने अन्तिम दिन थियो,मेयरसाब नहुनुभएकाले निमित्तको काम मैले नै समालेको थिएँ’ उपमेयर बसेलले भनिन् ‘दिनभरि घटना भयो, दुईबजेतिर हरि भट्टराई र राम थापा रुँदै मेरो कार्यकक्षमा आउनु भयो ।’

मैले उक्त घटनाको विरोध गरेपछि उनीहरु ममाथि पनि आइलागे र भन्न हुने/नहुने अपशब्द बोले, असह्य हुने गरी दुव्र्यवहार गरे ।’ त्यतिसम्मको घटना हुँदासम्म पनि आफूसँगै रहेका इलाका प्रहरी कार्यालय पालुङ्टारका इञ्चार्ज इन्स्पेक्टर मुकदर्शक भएर बसिरहेको देख्दा छक्क परेको बताउँछिन् उनी ।

घटना नियन्त्रण गर्न पटक पटक आग्रह गर्दा पनि प्रहरीले एक शब्द पनि नबोलि भीड समेत नहटाइ बसेको उपमेयर बसेलले बताइन् ।

उनले आक्रोश व्यक्त गर्दै प्रश्न गरिन् ‘यस्तो प्रहरीको सेवाबाट सुरक्षाको प्रत्याभूति कसरी हुन्छ ?’

बन्धक बनाउने गुण्डाहरुले दुईलाख रुपियाँ फिरौती समेत मागेको अर्का पीडित हरि भट्टराईको भनाई छ ।

सिलबन्दी गरेको गोप्य फर्मको दररेट पनि भन्न बाध्य बनाए’, पीडित भट्टराईले भने’ ज्यान मार्नेसम्मको धम्की आयो ।’

संघका अध्यक्ष बाबुराम श्रेष्ठले भने सामान्य भनाभन र धकेलाधकेल मात्र भएको दाबी गरेका छन्। उनले राम थापा पनि गैरव्यवसायी रहेको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार किटानी जाहेरी दिइएकाहरुलाई छलफलका लागि शनिबार बिहान १० बजे बोलाइएको छ।

निर्माण क्षेत्रमा रहेका सिन्डकेट हटाउन व्यवसायीको माग

पछिल्लो समय विकास पूर्वाधारका ठूलाठूला आयोजनाको ठेक्कामा सिन्डिकेट बढ्दोक्रममा रहेको पाइएको छ ।

यसले गर्दा आयोजना निर्माणका नाममा करोडौँ रपियाँ घोटला गर्दै निर्माणका काम वर्षौसम्म अलपत्र पार्ने प्रवत्ति कायमै छ । 

भर्खरै मात्रै यातायातमा भएको सिन्टिकेट हटाउन सफल भएको सरकारलाई अब सरकारी ठेक्काको सिन्डिकेट चाहिँ तोड्नु पर्दैन भन्दै आम निर्माण व्यवसायीले प्रश्न गरेका छन् ।

....

शनिबार २२, वैशाख ०७५ 

प्रतिक्रिया

Related