अब बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई नदिने ! टेण्डर आह्वान गर्ने ऊर्जामन्त्रीको घोषणा

आगामी आर्थिक वर्षभित्रै बोलपत्र प्रक्रिया सुरु गरिने
निर्माण सञ्चार, काठमाडौँ | सरकारले अब बुढीगण्डकी जलविद्युत आयोजना सिधै चिनियाँ कम्पनी गेजुवालाई नदिने भएको छ ।

मंगलबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै उर्जा तथा सिञ्चाईंमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् ।

यससँगै केपी ओली नेतृत्वको सरकारले उक्त आयोजना गेजुवालाई नै दिन्छ कि भन्ने आशंका हटेको हो ।

केपी शर्मा ओली प्रधानमन्त्री बन्नु अघि नै यो आयोजना चिनियाँ कम्पनीलाई दिने संकेत गरेका थिए ।

सार्वजनिक गरिएको श्वेतपत्रमा मन्त्री पुनले आयोजना निर्माणका लागि टेन्डर आहृवान गर्ने उल्लेख गरेका छन् ।

श्वेतपत्रअनुसार बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणका लागि आगामी आर्थिक वर्षभित्र बोलपत्र प्रक्रिया सुरु गरिनेछ ।

यो आयोजना कसैलाई जिम्मा नदिइने मन्त्री पुनको दाबी छ ।

‘उक्त आयोजना कसैलाई जिम्मा दिने होइन, तपाइँहरु ढुक्क हुनुस्, उनले भने ‘सरकारले आयोजना तीव्र रुपमा अगाडी बढाउँछ, त्यसैले कम्पनी छान्ने निर्णय गरेका हौँ ।’

१२ सय मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (ईआईए) समेत तयार भइसकेको छ ।

यसकारण आयोजना निर्माणमा तत्कालै जानसक्ने अवस्थामा छ । आयोजनाको प्रभावित क्षेत्रमा हाल मुआब्जा वितरणको काम भइरहेको छ ।

....

मंगलबार, २५ वैशाख, ०७५ 

प्रतिक्रिया

Related