गौतमबुद्ध विमानस्थलको तीन वर्षः जग्गा धनीलाई मुआब्जासम्म वितरण भएन

२० प्रतिशत टाठाबाठाले मात्र लिन सके मुआब्जा
निर्माण सञ्चार, काठमाडौँ । लुम्बिनीको गौतमबुद्ध विमानस्थललार्इ अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिको सुरुवात भएको तीन वर्ष बित्दासम्म जग्गा धनीले मुआब्दासम्म पाउन सकेका छैनन् ।

विमानस्थल स्तरोन्नति गर्नका लागि १७ सय ६५ परिवारको जग्गा सरकारले अधिग्रहण गर्नुपर्नेमा अहिलसम्म २० प्रतिशत परिवारले मात्रै मुआब्जा पाएका छन् ।

७९ विघा क्षेत्रफलमा फैलिएको विमानस्थललाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नतिका लागि आयोजनाले पहिलो चरणमा २ सय ८ विघा र दोस्रो चरणमा १ सय ४० विघा जग्गा अधिग्रहण गरिसकेको छ ।

अधिग्रहण गर्ने भनेको जग्गा मुआब्जाका लागि तीन वर्षअघि २३ अर्ब रुपियाँ अनुमान गरिएकामा हालसम्म ६ अर्ब रुपियाँ मात्रै वितरण भएको गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनाका प्रमुख ओम शर्माले बताए ।

मुआब्जा पाउनेले पनि अधिकांशले आंशिक रकम पाएका छन्, पूरा मुआब्जा पाएका छैनन् ।

आयोजना प्रमुख शर्माले भने, ‘अहिलेसम्म ६ अर्ब बांड्यौं अब यही आर्थिक वर्षभित्र ५ अर्ब बांड्नका लागि अर्थ मन्त्रालयबाट निकासा भइसकेको छ ।’ उनले थपे, ‘आउंदो आर्थिक वर्षमा सबै जग्गाधनीलाई मुआब्जा बांड्ने लक्ष्यमा छौं ।’

स्थानीयले भने मुआब्जा वितरणमा ढिलाइ र अनियमितता भएको भन्दै रोष प्रकट गरेका छन् । उनीहरुले क्रमसंख्या अनुसार र एकमुष्ट मुआब्जा दिन माग गरेका छन् ।

जग्गाधनीहरुले मुआब्जामा सरकारले लाभकर लिएकोमा पनि असन्तुष्टी जनाउँदै लाभकर फिर्ता दिन माग गरेका छन् ।

उद्योग ब्यापार संगठन रुपन्देहीले विमानस्थल निर्माण र मुआब्जा वितरणमा भइरहेको ढिलाइ सम्बन्धमा सरोकारवालासँग मंगलबार गरेको अन्तरक्रियामा स्थानीय फैज अहमद खानले आयोजनाले मुआब्जा वितरणमा ढिलाइ गर्दा स्थानीय जग्गाधनी मारमा परेको बताउँछन् ।

टाठाबाठाले चलखेलको आधारमा मुआब्जा पाए

अर्का स्थानीय बैजनाथ गुप्ताले आयोजनाले मुआब्जा वितरणमा विभेद गरेको र टाठाबाठालाई मात्र वितरण गरेको गुनासो गरे ।

जग्गाधनी ज्ञानराज पाण्डेले सर्वसाधारणलाई आयोजनाले मुआब्जा दिन आनाकानी गरेको तर जग्गा प्लटिङ गर्ने व्यवसायीलाई चलखेलका आधारमा मुआब्जा वितरण गरिरहेको आरोप लगाए ।

काठमाडौंको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको यो विमानस्थलको काम सन् ०१७ मै सक्ने लक्ष्य लिइएको भएपनि चिनिया ठेकेदार र नेपाली ठेकेदारबीच लेनदेनमा विवाद, निर्माण सामग्रीको अभाव, मधेश आन्दोलन लगायतका कारण निर्माणमा ढिलाइ भएको छ ।

हालसम्म विमानस्थलको करिब ४० प्रतिशत काम पूरा भएको आयोजना प्रमुख ओम शर्माले बताए । स्थानीयको गुनासो सुनेपछि रुपन्देही २ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सबै जग्गाधनीलाई एकमुष्ट मुआब्जा वितरणका लागि आफूले अर्थमन्त्रीसँग अनुरोध गरेको जानकारी गराए ।

भुसालले भने, ‘सबै जग्गाधनीले एकमुष्ट मुआब्जा पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले थपे, ‘सोही अनुसार मैले अर्थमन्त्रीसँग अनुरोध गरेको छु ।’

प्रभावकारी ढंगले काम नभएको स्वीकारोक्ती

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले मुआब्जा वितरणका लागि गठित प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले प्रभावकारी ढंगले काम नगर्दा ढिला भएको स्वीकार गरे ।

०७१ सालदेखि स्तरोन्नतिको काम सुरु भएको विमानस्थल २०७५ साउन भित्र सम्पन्न गर्ने लक्ष्य छ । सन् २०१९ सेप्टेम्बरदेखि अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य रहेको विमानस्थलमा २०१८ डिसेम्बरसम्म टर्मिनल भवन र २०७५ चैतभित्र धावनमार्ग (रन वे) निर्माण पूरा गर्ने लक्ष्य छ ।

यो विमानस्थल निर्माण सम्पन्न भएपछि दैनिक १६ देखि २५ हजार यात्रु अवतरण गर्ने अनुमान छ । विमानस्थल स्तरोन्नति भएपछि भैरहवामा २ लाख जनालाई रोजगारी सिर्जना हुने आयोजना प्रमुख शर्माले बताए ।

०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गर्न चीनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपियाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएको हो ।

...

बुधबार २६, वैशाख ०७५

प्रतिक्रिया

Related