बसको टिकटमा दलालीको अन्त्य, एकद्वार प्रणाली लागु

‘केही समयपछि इ–टिकेटिङको पनि सुविधा थप्दैछाैँ’, महाप्रबन्धक कुँवर
निर्माण सञ्चार, काठमाडौँ । नयाँ बसपार्कमा टिकट दलालीकाे अन्त्य भएको छ ।

समितिले राखेका टिकट काउन्टर हटाइ सरकारले ल्होत्से बहुउद्देश्यीय प्रालिलाई बसपार्कको व्यवस्थापनको जिम्मा लगाएकाे छ ।

ल्होत्सेले यातायात टिकटमा एकद्वार प्रणाली लागु भएपछि यात्रु ठगिने कुराको अन्त्य हुने ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरले बताए ।

कुँवरले भने, ‘अहिलेसम्म नयाँबसपार्क पुग्दा दलालहरु कहाँ जाने भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । हाम्रा कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन् ।’

उनले थपे, ‘अब फिल्म हलमा टिकट काटेजस्तै पारदर्शीरुपमा बसका टिकट काट्ने छौं ।’ नयाँ बसपार्कमा टिकट काट्न ड्रेस लगाएका कर्मचारी खटिएका छन् ।

अब टिकट काट्न पुग्नेले विगतको जस्तो दुव्र्यवहार पनि खेप्नुनपर्ने दाबी ल्होत्सेको छ । कुँवरका अनुसार अब यात्रुको टिकट व्यवस्थापन ल्होत्सेले नै गर्नेछ ।

बस कम्पनीहरुसँग समन्वय गरेर यात्रुलाई आफ्नो आवश्यकताअनुसारको सेवा व्यवस्थापन गर्ने योजना ल्होत्सेको छ ।

‘सरकारको निर्देशनअनुरुप समितिका तीन दर्जन काउन्टरहरु हटायौं । अब सबै कम्पनीका काउन्टर बसपार्कभित्र राख्न सम्भव हुँदैन । त्यसैले बसपार्कभित्र स्वच्छरुपमा यात्रुले चाहेकै कम्पनीका बसमा हामी टिकट काटिदिन्छौं’, उनले भने ।

विगतमा एउटा बसमा यात्रु भर्दा दलालले ३० हजार रुपियाँ उठायो भने ५ हजार आफ्नै खल्तिमा हाल्थे । त्यसले गर्दा भाडामा मनलाग्दी मौलाएको थियो ।

समितिहरुबीच पनि आपसी मिलेमतोमा टिकटमै कार्टेलिङ हुन्थ्यो । यात्रुहरुलाई सिट छ भनेर टिकट काटेर मुढामा राखिदिने, थोत्रा बसमा कोचिदिने, बीच बाटोमा पुगेर सिट मिलाइदिन्छु भनी आश्वासन मात्रै दिने, भाडा महंगो लिने, टिकट नकाटे सस्तोमा लगिदिन्छु भन्दै बिचमा पैसा आफ्नै गोजिमा हाल्ने लगायत समस्या थिए ।

अनलाइन टिकटको तयारी गरिँदै

अब सबै कम्पनीहरुले बसपार्कभित्रै टिकट काउन्टर पाउने छैनन् । त्यसैले उनीहरुसँग अनलाइनमा जानुपर्ने, बसपार्क बाहिर आफ्नै काउन्टर राख्नुपर्ने वा ल्होत्से मातहत आउनुपर्ने विकल्प छ ।

अब कम्पनीहरुले अनलाइनबाटै टिकट काट्ने प्रणालीको विकास गर्नुपर्ने पनि भएको छ ।

ल्होत्सेले पनि निकट भविष्यमा नयाँ बसपार्कबाट छुट्ने कम्पनीका बसहरुलाई एकीकृत गरेर अनलाइन टिकेटिङ सुरु गर्ने योजना यसअघि नै बनाएको थियो । तर, यातायात समितिहरुको असहयोग र ठगिरहने मानसिकताका कारण यो सम्भव भएको थिएन ।

‘अहिले एकद्वार प्रणालीबाट सुरु भएको यात्रुको व्यवस्थापनलाई ई–टिकेटिङसम्म लैजान आवश्यक देखिएको छ । हामी यही प्रक्रियामा छौँ ।’

...

सोमबार २४, वैशाख ०७५

प्रतिक्रिया

Related