‘एक गाउँ एक उत्पादन ’मा जोडः अन्नबाली जोगाउन बिउ बैंक सक्रिय !

दुर्लभ विउविजनको संकलन तथा संरक्षणमा जोड, स्थानीयलाई सहजता
निर्माण सञ्चार, कर्णाली प्रदेश | तराईदेखि हिमालसम्म उत्पादन भन्दा आयातमा सबै आश्रित हुन थालेपछि परनिर्भरता बढ्दोक्रममा छ ।

लगाउने लत्तादेखि खाने गाँससम्म पनि आयातीत बस्तुमा भरपर्नु पर्ने अवस्था छ ।

पाखाका खेतीयोग्य जमिन बाझैँ छन्, केही उत्पादन गरेका अन्नपात पनि भकारीमा किरा परुन्जेल राखिएको हुन्छ ।

काला पहाड जाने केही रकम कमाएर आउने, उही खाद्यको चामल, आयात गरिएको मसुराको दाल किनेर दिनचर्या काट्नेहरुको संख्या ह्वात्तै बढेको पाईन्छ ।

आयातीत वस्तुमा निर्भर हुनुका साथै अल्छी प्रवृत्तिले जुम्लामा पाईने स्थानीय रैथाने अन्न पछिल्लो समय हराउन थालेको छ ।

पत्थरी, पेट दुखेको सन्चो हुने, ज्वरो निको गर्ने अर्गानिक अन्न (गहत, चिनो, कागुनो, फापर,मार्से, कालीमासी, दारिमे धानको बिउ)लगायतका रैथाने अन्न अहिले खोज्दा पनि नपाईने अवस्था छ । किसानहरु समेत हिजो÷आज बिउ खोज्दैँ गाउँगाउँ पुगेको पुग्छन् ।

पहिले सबैका घरघरमा क्वईन्टलका हिसाबले उत्पादन हुने रैथाने अन्न पछिल्लो समय खोज्दा पनि नभेटाउने अवस्थामा पुग्नु दुखद पक्ष भएको कृषि विज्ञहरु बताउँछन् । 

रैथानेबालीको संरक्षण तथा उत्पादनका लागि अब स्थानीय सरकारले एक गाउँ एक उत्पादनको नीतिलाई अघि सार्नु पर्नेमा सबैको जोड छ ।

‘यसोगर्दा हरेक गाउँले सबैखाले उत्पादन गर्न पाउँदैन’, वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेल भन्छन्,‘ एक गाउँमा एक बाली मात्रै रोप्ने अथवा सामुहिक खेती गर्ने नीति तथा व्यवस्थापन गर्नसके जुम्ला सहित कर्णालीको रैथाने बाली संरक्षण तथा प्रबद्धन हुन्छ ।’

 अन्न जोगाउँदै बिउ बैंक

स्थानीयहरुले बिउ खोज्दा पनि नभेटिने अबस्थामा जुम्लामा संचालीत विभिन्न बिउ बैंकहरुले यसको संकलन तथा संरक्षणमा जोड दिदैँ आएका छन् ।

गाउँ गाउँमा खुलेका बिउ बैंकहरुले परम्परागत उत्पादन हुँदै आएको रैथाने बालीको संरक्षणमा विशेष जोड दिएको तातोपानी गाउँपालिका कृषि शाखाले जनाएको छ ।

चिनो, कागुनो, गहत, फापर जस्ता लोपउन्मुख अन्नहरुको पनि अहिले सजिलै बिउ बैंकहरुमा पाईन थालेका छन् । उत्पादन गर्ने कृषकहरुसँग भने विउविजनको अभाव छ ।

तर, ती अन्नहरु बिउ बैंकहरुले संकलन गरेर राखेको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्र बहादुर शाहीले बताए ।

उनका अनुसार तातोपानी गाउँपालिका २ मा रहेको पन्चदेवल बिउ बैंकले विभिन्न अन्न संकलन गर्दै आएको छ ।

लोपउन्मुख अबस्थामा रहेका चिनो, कागुनो, सिमि, फापर, कोदो, गहुँ, मार्से, तथा धानका विभिन्न बिउहरु लगायत २५ प्ररकारका स्थानीय अन्नहरु संकलन गरेर राखिएको बिउ बैंकका अध्यक्ष हर्केश दमाईले बताए ।

बिउ बैंक स्थापना नहुन्जेल किसालाई बिउको लागि निकै सास्ती हुन्थ्यो । अहिले सबैलाई सहज भएको छ ।

उनले भने ‘हामी समुहमा २५ सदस्य छौँ सिजनअनुसार उत्पादन भएको बिउ संकलन गर्छौ ।’

आफुसँग नभएका बिउहरु पनि अन्तबाट किनेर राख्ने गरेको बिउ बैंकका सचिव हस्त दमाईले बताए । बिउ बैंकमा अहिले हिउँदे तथा वर्षे बालीका अन्नहरु पाइन्छन् ।

बाहिरबाट आएर पनि विउ किन्ने गरेका छन् ।

जुम्लाको पहिचानसँग जोडिएको रैथाने अन्न जोगाउन बिउ बकैंहरु पछिल्लो समय निकै सक्रिय भएका छन् ।

जुम्लामा मात्रै अहिले झण्डै ५० बढी बिउ बैंकहरु रहेका छन् ।

जसले स्थानिय अन्नको संकलन तथा संरक्षण गरी उत्पादनका लागि समुहगत रुपमा बिक्री गर्ने गर्ने गरिएको पातारासीका स्थानिय तारा बहादुर बोहोराले बताए ।

स्थानीय सरकारका कृषि नीति

जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकाले रैथाने अन्न संरक्षण तथा प्रबद्धनका लागि प्रचार प्रचारमा बढी जोड दिने बताएका छन् ।

नगरपालिका/गाउँपालिका समृद्धिका लागि कृषि पहिलो प्रथामिकता परेकोले जुम्लामा पाईने रैथाने बालीको संरक्षणका लागि प्रचारप्रसारमा लागिएको छ ।

जसमा एकगाउँ एक उत्पादन, पकेट क्षेत्र निर्धारण, भण्डारणको व्यवस्था, सहज बजारिकरणको व्यवस्थापन, कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरण जस्ता पक्षलाई नीतीगत रुपमा कार्यान्वयनका लागि स्थानीय तह लागि परेको पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए ।

उनले भने ‘जुम्लाको पहिचान यहाँको अन्न र उत्पादनसंग जोडिएको छ ।’

आफ्नो पहिचान जोगाउन रैथाने बालीको संरक्षण तथा उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ ।

लोपउन्मुख अबस्थामा रहेका बालीलाई उत्पादनका लागि सामुहिक खेती गर्नेलाई स्थानीय सरकारले सहुलितय ऋणको पनि व्यवस्था गरेको तिला गाउँपालिका अध्यक्ष रतन नाथ योगीले बताए ।

अध्यक्ष बोहोराले भने ‘अब युवा शक्तिलाई कृषिमा लगाउनु पर्छ, यसका लागि आवश्यक सिप र ज्ञान पनि दिन जरुरी छ ।’

जुम्लाको पहिचान जोडिएको, स्याउ, सिमि, धान, कोदो फापर जस्ता अन्न उत्पादनमा सबै स्थानीय सरकारले योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

सबैबाट आएका सुझावअनुसार एक गाउँ एक उत्पादनको नीतिलाई पहिलो प्रथामिकताका साथ अघि बढ्नुपर्ने उल्लेख गरे ।

जुम्लामा रहेका बिउ बैंकहरुले लोपउन्मुख अबस्थामा पुगेका अन्न संकलन तथा संरक्षण गर्ने काम गरेकोले सबै स्थानीय तहले पनि उनिहरुसँग सहकार्य गरी अघि बढ्नु पर्ने देख्निछ ।

कर्णाली प्रदेशबाट सागर परियार

...

सोमबार, २४ वैशाख २०७५

प्रतिक्रिया

Related