नेपालमा मोदीको छाप: ‘धेरै बोल्ने, बोलेको सहयोग नगर्ने, नाकाबन्दी चाहिँ गराउने’ नेता

निर्माण सञ्चार, काठमाडौं । नाकाबन्दीबाट नेपालीको मन दुखाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नाकाबन्दी पछि पहिलो पटक आज नेपाल उत्रने भएका छन् ।

नेपाल माथिको ‘आर्थिक नाकाबन्दी’बाट उनको कूटनीतिक पराजय भएको भारतीय विज्ञहरुले समेत स्वीकार गरिसकेको सत्य हो ।

नेपाल प्रति उनको छाप छवि आमरुपमा सकारात्मक छैन ।

उनी आफ्नो हार र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सुमधुर लगायत भारतीय स्वार्थहरु लिएर नेपाल भ्रमण गर्न लागेका छन् ।

नेपाल आउनु अघिल्लो दिन आफ्नो सामाजिक सञ्जालहरु (फेसबुक पेज र ट्विट) मार्फत् ‘नेपाल नयाँ युगमा प्रवेश गरेको’ र अब ‘नेपाल भारत सम्बन्धले पनि नयाँ उचाइ’ लिएको प्रतिक्रिया दिएका मोदीको छवि नेपालमा भने आम रुपमा सकारात्मक छैन ।

सम्झँदा पहिलो भ्रमण

नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री भएपछि एउटा लोकप्रिय भनाइ दोहोराए ‘छिमेकी पहिलो’ ।

यो नीति अन्तर्गत उनले आफ्नो पहिलो नेपाल भ्रमणका बेला नेपालको संसद्मा बोल्दै ‘भारतको काम नेपालको काममा अड्को थाप्ने नभई नेपालले आँटेको काममा भारत काम लाग्ने भए साथ दिने हो, नेपाललाई निर्देशन गर्ने होइन’ जस्तो लोकप्रिय भनाइ छाडेका थिए ।

जसले गर्दा उनको पहिलो नेपाल भ्रमण अत्यधिक लोकप्रिय पनि बनेको थियो । तर उनको उक्त अभिव्यक्ति व्यवहारमा आजसम्म कहिँ कतै मेल खाएको नदेखिने विज्ञहरुको आलोचना छ ।

उनी त्यसपछि नेपालमा सार्क सम्मेलनताका आए । वीर अस्पतालको ट्रमा सेन्टर हस्तान्तरण गरेर फर्किए ।

तर, नेपालले संविधान जारी गर्दा उनले लिएको ‘स्टन्ट’ नेपाल माथिको अघोषित नाकाबन्दीले उनको बोली र व्यवहारमा आकास जमिन फरक रहेको पाइयो ।

‘असल’ छिमेकीबाट पाइएको ‘पुरस्कार’ नाकाबन्दी

नेपाल भ्रमण आउनु अघिल्लो दिनै मोदी विरुद्ध नाकाबन्दीताका पोस्ट गरेका तस्वीरहरु एकपटक फेरि भाइरल बने ।

युरोपियन युनियनकी राजदूतले समेत उनी विरुद्ध ‘नेपालीले कहिलै बिर्सने छैनन्’ एउटा तस्वीर पोस्ट गरिन्, जहाँ भारतले नाकाबन्दी गरेपछि पेट्रोल नपाएर नेपालीहरु लाइनबद्ध भएका थिए ।

त्यस्तै, नेपाल भारत सन्धि तथा सम्झौताबारे पुनरावलोकन गर्न बनेको प्रबुद्ध समूहका सदस्यहरुले पनि भारतले नेपाल माथि लगाएको नाकाबन्दी ‘कूटनीतिक असफलता’ भन्ने आलोचना गरिरहेका छन् ।

नेपालले आफ्नो संविधान जारी गर्दा भारतले आफ्नो सुझाव सम्बोधन नभएको भन्दै आर्थिक नाकाबन्दी लागएका थिए उनले ।

१९५० लगायत सन्धि पुनरावलोकन गर्न भन्दै केही महिनादेखि प्रबुद्ध समूह लागिपरिरहेको छ ।

तर, ती विज्ञ समूहका सदस्यहरुको भनाइ छ, ‘अहिलेसम्म पनि भारतको नेपाल प्रतिको पुरातन दृष्टिकोणमा परिवर्तन भएको छैन ।’

बोले तर दिएनन्

नेपालमा मोदीको अर्काे नाकारात्मक छाप हो बोलेको कुरा नदिनु । पहिलो पटकको नेपाल भ्रमण गर्दा पशुपति नाथमा दिने भनेको रकम पनि उनले दिएनन् न त २५ करोड बराबरको श्रीखण्ड चन्दन नै उनले दिए ।

भूकम्प पछि नेपालका लागि दिने भनेको सहयोग पनि भारतले दिएको छैन भन्ने अब त सबैलाई थाहै भइसकेको छ ।

आश्वासन दिने तर काम नगर्ने मोदीको छवि नेपालमा मात्रै हैन, भारत जहाँ उनी पहिलो पटक मुख्य मन्त्री बनेका थिए, त्यहाँ पनि यस्तै छाप छ ।

अझै उनी ‘जातीय संहारक’का नाउँमा कुख्यात छन् ।

उनी मुख्यमन्त्री छँदा उनले फरक धर्म र आस्थाकै कारण सयौं मुसलमानहरुलाई हिंसात्मक गतिविधि गरी कत्लेआम गरेका थिए ।

जसको कारणले नै उनले प्रधानमन्त्री बनेपछि पनि लगभग वर्ष दिन अमेरिका प्रवेश आज्ञा समेत पाएका थिएन ।

पूर्व सर्तका नाउँमा बोलेको सहयोग खै मोदीजी ?

‘कन्सेसन लाइन अफ क्रेडिट’ अन्तर्गत मोदीले नेपाललाई एक बिलियन अनुदान दिने घोषणा गरेका थए । उक्त अनुदानमा पूर्वसर्त धेरै हुने हुँदा कार्यान्वयनमा गाह्रो भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

भारतले एक दशकयता यस्ता पूर्वसर्तसहितका धेरै अनुदान दिने गरेको पाइएको छ । तर, यी अनुदान विद्युत् प्रसारण लाइन र ऊर्जाक्षेत्रमा प्रयोग हुने गरेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ ।

लाइन अफ क्रेडिटलाई अनुदानका रूपमा व्याख्या गरिने तर, व्यवहारमा भने ऋणकै रुपमा मात्र काम हुने गरेको छ । त्यसैले यस्ता अनुदान नेपाललाई उपयुक्त नभएको परराष्ट्र स्रोत बताउँछ ।

हवाइ नाका खै त अनुमति ?

मोदीबारे धेरै यस्ता प्रमाणहरु छन्, जुन उनको बोली र व्यवहारसँग मेल खाँदैनन् । उनको पछिल्लो नेपाल भ्रमणमा नेपालले अतिरिक्त तीन हवाई नाकाको माग गरेको थियो ।

त्यसमा द्विपक्षीय सहमतिमा काम गर्न मोदीले निर्देशन दिएका थिए। भैरहवा, जनकपुर र नेपालगन्जमा अतिरिक्त हवाई नाका प्रदान गर्ने विषयमा द्विपक्षीय सहमतिमा छिट्टै यो विषयलाई टुंगोमा पुर्याउने सहमति भए पनि अझै टुंगिएको छैन ।

भारतीय पक्ष जनकपुर र नेपालगन्जबाट हवाई नाका दिन सकारात्मक भए पनि भैरहवाबाट दिन मुस्किल हुने बताएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अघि नै जानकारी दिसकेको छ ।

यसबारे ०७३ पुसमा दुवै देशका सम्बद्ध निकायबीच पहिलो चरणको वार्ता भएको थियो । तर, त्यसपछि नेपालको निर्वाचन आचारसंहिताका कारण वार्तामा ढिलाइ हुन गयो ।

भारतले यही निहुँमा फेरि वार्ता बस्न आनाकानी गरिरहेको छ ।

धर्मशाला बन्दै

भारतले पशुपतिनाथलाई दिने भनेको चन्दनको रकमान्तर समेत गरेको गुनासो आएको छ । त्यतिबेला मोदीले पशुपतिमा धर्मशाला निर्माणको घोषणा गरेका थिए ।

बोले अनुसार सहयोग नआए पनि पशुपति क्षेत्र विकास कोष र अन्य दाताहरुको समेत सहयोगमा धर्मशाला निर्माण कार्य भने अघि बढिरहेको छ ।

अन्तिम चरणमा पुगेको छ ।  कोषका एक अधिकारी भन्छन्, ‘चार सय शैय्याको धर्मशाला बन्दै छ । भारतले बोले पनि सहयोग सबै पाइएन । थप गरेरै भएपनि बनाइरहेका छौं, सायद आउने ४–५ महिनामा धर्मशाला बनिसक्ने छ ।’ 

 कोलोम्बो प्लानको घोषणा र कार्यान्वयन

मोदीले भारतीय प्राविधिक एवं आर्थिक सहयोग र कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीले पाउँदै आएको १ सय ८० कोटाको छात्रवृत्तिलाई बढाएर २ सय ५० कोटा दिने घोषणा गरेका थिए ।

त्यसमा पनि भारतीयहरुले खुला मनले काम गरेका छैनन् । बोलेको कोटा पूरा भएको छैन ।

विभिन्न परियोजनामा भारत, ओगट्ने तर काम नगर्ने नीति

नेपालको हुलाकी राजमार्गदेखि विभिन्न जलविद्युत् आयोजनाहरु विवादित मात्रै बनेका छैनन्, नेपाल भारतको सम्बन्ध समेत चिसिने भूमिका खेलेका छन् ।

पञ्चेश्वर, अरुण तेस्रो, कर्णाली चिसापानी आयोजना जस्ता विभिन्न परियोजनाहरु अहिले पनि भारतले ओगटिराखेको तर, काम भने नगरेको देखिन्छ ।

 

 

...

शुक्रबार, २८ वैशाख, ०७५

 

प्रतिक्रिया

Related