ओली–मोदी अंकमालः भारतीय सञ्चारमा छायो ‘ऐतिहासिक क्षण’

‘अखण्ड र समृद्ध’ नेपालको मोदीबाट ‘कसम’ नै ओलीको सफलता ! नेपालका कुनै पनि आन्तरिक मामिलामा कुनै दख्खल नरहेको स्पाष्टोक्ति
निर्माण सञ्चार, काठमाडौं । दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार साँझ गौशाला स्थित होटेल द्वारिकाजमा एउटा नौलो समागम देखियो ।

दुवैको अनौठो अंकमाल ! जुन तस्वीरलाई भारतीय सञ्चार माध्यमहरुले ‘ऐतिहासिक क्षण’ भन्दै व्यापक प्रचार गरेका छन् ।

विगतमा भारतविरुद्ध कडा छवि बनाएका प्रधानमन्त्री ओली ।नेपालको आन्तरिक मामलामा दख्खल नदिन भन्दै टक्कर दिने एकै मात्र नेताका रुपमा चिनिएका प्रधामन्त्री ओली र संविधान जारी गर्दाताका ६ महिने नाकाबन्दी र ९ बुँदे ‘रिजर्बेसन’का कारण नेपालीका आँखामा कालो छवि बन्न पुगेका भारतीय प्रधानमन्त्री मोदीका बीचमा हार्दिकता देख्दा नेपाली समाचार जगत्मा अर्कै रंग छाएको थियो ।

साँझ प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि संयुक्त प्रेस सम्मेलन भएको थियो । दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेपछि मोदी र ओलीबीच हात मिलाएलगत्तै हार्दिकतासहितको अंकमाल भएको थियो ।

जुन दृश्यलाई भारतीय पक्षले ‘ऐतिहासिक’ क्षण भन्दै तस्वीर सार्वजनिक गरेका छन् आजका भारतीय मिडियाहरुले ।

अखण्ड र समृद्ध नेपालको पक्षमा भारत

मोदीको बोलीमा बारम्बार जसो दोहोरिएको शब्द थियो, ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने प्रम ओलीको अभियानमा भारतका तर्फबाट आफूले ‘अखण्ड र समृद्ध नेपालका लागि हरतरहले सहयोग गर्ने’ बताइरहेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले विकास र समृद्धिका लागि भारत र नेपालको चाहना एकअर्काको परिपूरक भएको दोहोराएका छन्।

उक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आर्थिक विकास र समृद्धिका लागि प्रधानमन्त्री केपी ओलीको अभियानमा सवा सय करोड भारतीय नागरिकको साथ र समर्थन रहेको दोहोराएका हुन् ।

मोदीले भने, ‘भारतका लागि ‘सबका साथ सबका विकास’को नारा र ओलीजीका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा एकअर्काका पूरक हुन्।’

नेपालको समावेशी र आर्थिक विकासका लागि भारतीयको साथ एवं समर्थन रहेको मोदीको प्रतिबद्धता यस पटक फरक सेन्समा प्रकट भएको विश्लेषकहरु बताउँछन् ।

मोदीको यो ‘कसम’ नै नेपालका लागि एउटा नयाँ उचाइ रहेको विश्लेषकहरु बताउँछन् ।

किनकि, विगतमा, विशेष गरी इन्दिरा गान्धीद्वारा गठित भारतीय खुफिया एजेन्सी ‘रअ’द्वारा बनाइएको योजनाको पछिल्लो पटक पर्दाफास भएको थियो, जसमा भनिएको थियो, ‘बिक्रमको ०७० सम्म नेपाललाई पनि सिक्किम जसरी नै भारतमा विलय गराउनु पर्छ ।’

कीर्ति आजादजस्ताको तर्कको मादी जवाफ के हो त ?

कतिपय भारतीय विशेषज्ञहरुको पनि यही धारणा अहिलेसम्म रहेको देखिन्छ ।

विगतको नाकाबन्दीको भित्री मनोविज्ञान त्यही नै थियो । मोदीले शुक्रबार जनकपुरमा सम्बोधन गरेलगत्तै मोदीकै दल भाजपा सांसद कीर्ति आजादको छुद्र टिप्पणीले यही ‘अपशकुन’ लाई देखाउँछ ।

आजादले शुक्रबार मोदीको जनकपुर भ्रमणम पछि मोदीलाई लक्षित गरी मिथिला क्षेत्र भारतको भएकाले फर्काउनु पर्ने धारणा सार्वजनिक गरेका थिए ।

आजादले नाकबान्दीताका पनि नेपालको तराई क्षेत्र भारतमै गाभिनु पर्ने तर्क दिएर भारतीय उपल्लो संसद्मा बोलेका थिए । उनी उग्रवादी कित्तामा गनिन्छन् ।

उनले ‘मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने’ बताएका थिए । आजादको उक्त भनाइ भारतभित्रै र नेपालबाट समेत आलोचना भएको छ ।

जब मोदीले होटेल द्वारिकाजमा भएको संयुक्त पत्रकार सम्मेलनमा ‘नेपालको आन्तरिक कुनै पनि मामलामा भारतको दख्खल नरहेको’ स्पष्टोक्ति गरे, भलै मोदीको बोली र व्यवहार बीच तालमेल नरहेको विगतले देखाइएको आलोचना पनि छ, तर अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादाभित्र मोदीको यो बोलीले धेरै अर्थ राख्छ ।

नेपालको सार्वभौम सत्ता, स्वतन्त्रता, र अखण्डता माथि नै आशंका राखेको हो कि जस्तो ‘साउथ ब्लक’ चिन्तन यतिबेला नयाँ निष्कर्ष निकाल्ने ठाउँमा पुगेको स्पष्ट संकेत मोदीबाट आएको छ ।

नयाँ निष्कर्षमा भारत !

उसले अब नाकाबन्दी गर्ने सवालमा कयौं पटक सोच्न बाध्य त हुन्छ नै, तर नेपालको अखण्डताबारे प्रकट सकारात्मक भर्सनले नेपाल भारत सम्बन्धले नयाँ उचाइ लिएको र भारतीयहरुको पुरानो मानसिकतामा समेत परिवर्तन भएको बहस समेत सुरु गरेको छ ।

भलै, चिनियाँहरुले पनि नेपाललाई ‘भारतसँगको सम्बन्ध सुमधुर बनाऊ’ भन्दै आएको र भावी दिनमा चीन नेपालबीचको सम्बन्धमा पनि भारत यसरी नै तटस्थ रहला या नकारात्मक प्रतिक्रिया देला भन्ने कुरा भविष्यले नै देखाउने छ, तर, यतिबेला भारत नेपालबारे नयाँ धारणा बनाउन बाध्य भएको स्पष्ट सन्देश गएको छ ।

ओली सरकारलाई चीन मोहडा नगर्न संकेत !

प्रधानमन्त्री ओलीको सरकार र अभियानलाई साथ र समर्थन रहने कुरा पटकपटक दोहोर्याएका मोदीले भारत र नेपालबीचको सम्बन्ध दुई सरकारभन्दा निकै उचाइको रहेको पनि दोहोराउन पनि कन्जुस्याइँ गरेनन् ।

आर्थिक विकास र सामाजिक परिवर्तनका लागि ओली नेतृत्वको सरकारले निकै नै आशा र भरोसा जगाएको उनको भनाइ छ । ‘अखण्ड, समृद्ध र सशक्त नेपालको आकांक्षामा भारतको पूर्ण समर्थन छ’, उनले भने।

ओलीको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको विषयमा विस्तारमा कुराकानी भएको मोदीले उल्लेख गरे।

‘नेपाल ‘ल्यान्डलक’ रहेन, ल्यान्डलिंक, वाटर लिंक हो भन्ने ओलीजीको भिजनमा हर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ मोदीले भने।

दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनअघि ओली र मोदीबीच एक्लाएक्लै र दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।

शनिबारको मोदीका भनाइ हेर्दा पनि त्यही भावनाबाट प्रेरित देखिन्छ ।

काठमाडौं महानगरपालिकाले ३ नम्बर मुख्यमन्त्री सहित भई गरेको नागरिक अभिनन्नदन र महानगरको साँचो हस्तान्तरण समारोहमा मोदीले बोलेका कुराले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगेको संकेत गरेको नेपाली समाचारहरुमा विश्लेषण गरिएको छ ।

पत्रकार सम्मेलनमा मोदीले रोड, रेलवे, पावर ट्रान्समिसन, तेलमार्गबाट दुई देशबीच कनेक्टिभिटी बढेको बताएका थिए, जुन महानगरपालिकाले राष्ट्रिय सभागृहमा गरेको अभिनन्दन समारोहमा पनि दोहोरिएको छ ।

गौशालाको रात्री सम्बोधनमा होस् या महानगरको सम्बोधनमा, मन्तव्यको अन्त्यमा मोदीले भने, ‘भारत नेपाल मैत्री सम्बन्ध अमर रहोस्।’

___

मोदीको यो सबै प्रयत्नको सार भनेको नेपाल चीनतर्फ नढल्कियोस् भन्ने नै रहेको भारतीय विश्लेषकहरुको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत्  प्रकट भइरहेको कुरा पनि यहाँ स्मरणीय छ । 

 

 

...

शनिबार, २९ वैशाख, ०७५

 

प्रतिक्रिया

Related