साविउमको नेतृत्वमा पुनः ज्ञवाली, ‘घरघरमा’ धुँवारहित चुलो ल्याउने उद्घोष

‘घरेलु उद्योग सञ्चालन गरेर आम महिलालाई उद्यमी बनाउँछौँ’
निर्माण सञ्चार, काठमाडौँ | सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको हालै सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ ।

नयाँ कार्यसमितिले अध्यक्षमा पुनः नारायण ज्ञवालीलाई नै चयन गरेको छ । ज्ञवालीको अध्यक्षतामा तीन वर्षका लागि सत्ताइस जनाको नयाँ कार्यसमितिको चयन गरिएको हो ।

सो कार्यसमितिमा महासंघको उपाध्यक्षमा श्रीकान्त घिमिरे, महिला उपाध्यक्षमा मीना खड्का, महासचिवमा रामकृष्ण हुमागाईं, सचिवमा यमबहादुर पछाई र कोषाध्यक्ष ज्ञानु पाण्डे निर्वाचित भएका छन् ।

त्यसैगरी, केन्द्रीय सदस्यमा १ नं प्रदेशबाट भूमिका सुब्बा र नागेश पोख्रेल, २ नं बाट दुर्गा चौंलागाई र विजय गैरे, ३ नं बाट अनिता मैनाली र हरिशरण तामाङ, ४ नं बाट फूलमाया वाग्ले र देवेन्द्र गुरुङ, ५ नं बाट विदय थापा र मीरा मरासिनी तथा ७ नं प्रदेशबाट प्रदीप शाह निर्वाचित भएका छन् ।

खुला सदस्यमा भने शेरबहादुर बस्नेत, हरि छन्त्याल, जंगबहादुर महतो, राजेश्वर ढकाल, सार्कीमान तामाङ निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित ज्ञवालीले १०७ वर्ष वितिसक्दा पनि नेपालका दुरदारजका गाँउमा अझै विद्युत्को पहुँच पुग्न नसकेको बताए ।

उनले भने ‘हामी ग्रामीण भेगमा काम गर्ने भएकाले हाम्रो उद्देश्य भनेकै दुर्गम गाउँका घरघरमा विजुली पुर्याउनु हो ।’ ‘जनतालाई सहभागिता गराएर सरकारको सहयोगमा अबको केही समयमै ग्रामीण क्षेत्रका आम जनताको घरघरमा उज्यालो पुर्याउने हाम्रो काम हुनेछ’ अध्यक्ष ज्ञवालीले भने ।

विद्युत् उत्पादनशील कार्यमा मात्रै उपयोग गरिने भन्दै उनले गाउँका हरेक घरमा धुँवारहित चुलो बनाएर महिलाहरुको स्वास्थ्यमा समेत ध्यान दिइने बताए ।

निर्माण सञ्चारसँगको कुराकानीमा उनले भने ‘हामीले परम्परागत दाउरे चुलोलाई विस्थापित गरेर हरेक घरमा धुँवारहित चुलो ल्याउने योजना बनाएका छौँ ।’

अध्यक्ष ज्ञवालीले दुरदराजका गाउँमा घरेलु उद्योग सञ्चालन गरेर आम महिलालाई उद्यमी बनाउने उद्देश्य रहेको दाबी गरे ।

.....

मंगलबार १, जेठ ०७५ 

प्रतिक्रिया

Related