अब बन्ला कि धरहरा ! पुननिर्माणका लागि बोलपत्र आह्वान

‘भूकम्पबाट क्षतिग्रस्त बाँकी सम्पदाहरू पनि धमाधम पुनर्निर्माण हुन्छ’
निर्माण सञ्चार, काठमाडौँ | ०७२ वैशाखको भूकम्पले ढलाएको धरहराको पुननिर्माणले हालसम्म पूर्णता पाउन सकेको छैन ।

मुलुकको पहिचान झल्काउने ऐतिहासिक धरहरा ३ वर्षदेखि अलपत्र अवस्थामै छ । अब भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुननिर्माण गर्ने भएको छ ।

प्राधिकरणले पुनर्निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ ।

वार्षिक कम्तिमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निर्माण कम्पनीसँग प्राधिकरणले बोलपत्र आह्वान गरेको हो ।

धरहराको पुनर्निर्माणमा सहभागी हुन चाहने निर्माण कम्पनीलाई बोलपत्र पेश गर्न ३१ दिनको समय दिइएको छ ।

नेपाल पुननिर्माण प्राधिकरणका अनुसार आउँदो १५ असार भित्रमै धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढेको छ ।

प्राधिकरणले धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले जानकारी दिए ।

उनका अनुसार सरकार आफैँले धरहरा निर्माण गर्ने गरी लगानीको मोडालिटी समेत तयार भइसकेको छ ।

यता संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले प्राधिकरणले बोलपत्र आह्वान गरेसँगै धरहरा पुनर्निर्माणको बाटो खुलेको बताएका छन् ।

मन्त्री अधिकारीले धरहरा पुनर्निर्माणका लागि बोलपत्र आह्वान हुनु खुशीको विषय भन्दै तीन वर्ष पहिलेको भूकम्पबाट क्षतिग्रस्त भएका अन्य सम्पदाहरू पनि अब धमाधम पुनर्निर्माण हुने बताए ।

भत्किएको तीन वर्ष वित्दा पनि धरहराको पुनर्निर्माणमा सिन्को नभाँचिएको असन्तुष्टिस्वरुप गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्पदाको पुनर्निर्माणका लागि आवश्यक परे आफैं डोको र कोदालो समेत बोक्ने उद्घोष गरेका थिए ।

धरहरा पुर्ननिर्माणका लागि बोलपत्र आह्वान गरेसँगै आम जनतामा भने अब धरहरा बन्ला कि भन्ने आशा पलाएको छ ।

 कति उठ्यो सम्पदा पुनर्निर्माण करबाट ?

हालसम्म सम्पदा पुनर्निर्माण करबाट १ अर्ब ६० करोड रुपियाँ उठिसकेको अर्थमन्त्रालयले जनाएको छ ।

०७२/७३ आव मा दूरसञ्चार सेवा प्रदायकले सेवा शुल्कमार्फत कुल ६ अर्ब २७ करोड रुपियाँ, आव ०७३/७४मा ६ अर्ब ५४ करोड रुपियाँ र चालू आवको चैत मसान्तसम्म ४ अर्ब ६९ करोड रुपियाँ राजस्व तिरेका छन् ।

सोहीअनुसार अहिलेसम्म सम्पदा पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड ९० लाख रुपियाँ करमार्फत उठेको छ ।

तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ०७२/७३ को बजेटमार्फत दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप कर लगाउने घोषणा गरेका थिए ।

भूकम्पपछिको सम्पदा पुनर्निर्माणका लागि भन्दै सरकारले दूरसञ्चार सेवा दस्तुरमा १ प्रतिशत थप गर्दै ११ प्रतिशत पुर्याएको थियो ।

 लागत खर्च कति ?

धरहराको कुल लागत करिब ४ अर्ब २७ करोड रुपियाँ अनुमान गरिएको डिपिआरमा उल्लेख छ । धरहरा र परिसरको कुल क्षेत्रफल भने २४ रोपनी हुने प्राधिकरणको भनाई छ ।

हालको धरहराको ठूटोलाई सिसाले छोपिनेछ भने त्यससँगै नयाँ धरहरा निर्माण गरिनेछ ।

 नयाँ धरहरा कति मिटर अग्लो ?

डिपिआरअनुसार नयाँ निर्माण हुने धरहरा ६९.२ मिटर अग्लो हुनेछ । त्यसमाथि पनि १२ मिटरको गुम्बज निर्माण गरिन्छ ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरले धरहरा निर्माणका लागि सुन्धारास्थित हुलाक कार्यालय भत्काइने बताए ।

उनकाअनुसार उक्त स्थानमा दुई तलाको बेसमेन्ट पार्किङ निर्माण हुनेछ । २२ तलाको धरहरामा २२ तलासम्म नै लिफ्ट जान्छ ।

धरहराको पुनर्निर्माण आगामी २ वर्ष्भित्र सम्पन्न भइसक्ने प्राधिकरणको दाबी छ ।

बाँकी लगानी कहाँबाट ?

प्रधानमन्त्री केपी ओलीले ४ फागुन ०७३ मा ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालनी गरेका थिए  । सोही अभियानअन्तर्गत धरहरा निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ ।

उक्त कोषमा सहयोग रकम आउने क्रम जारी नै रहेको छ ।

धरहरा निर्माणका लागि नेपाल टेलिकमले १ अर्ब रुपियाँ सहयोग दिने प्रतिबद्धता जनाएको छ ।

यसअनुसार अहिलेसम्म १ अर्ब २४ करोड रुपियाँ लगानी जुटिसकेको सहसचिव मानन्धरले जानकारी दिए ।

.....

मंगलबार १, जेठ ०७५ 

प्रतिक्रिया

Related