जुम्लाका २ सय १६ सहकारी स्थानीय तहलाई हस्तान्तरण

व्यवस्थापन तथा सञ्चालनको जिम्मा स्थानीय तहले लियो
निर्माण सञ्चार, कर्णाली प्रदेश। जुम्लामा रहेका सम्पुर्ण सहकारीलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ ।

सहकारी डिभिजन कार्यालय जुम्लाले जिल्लाका सबै सहकारी र सहकारीसँग आबद्ध संस्थाहरु शुक्रबार एक कार्यक्रमका बिच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

विगत लामो समयदेखि जुम्ला जिल्लामा सञ्चालित सहकारीहरुको दर्ता, नियमन तथा प्रशिक्षणको काम गर्दै आएको सहकारी डिभिजन कार्यालय जुम्लाले सबै काम स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा सहकारी विभागका शाखा अधिृकतले स्थानीय तहका अध्यक्ष उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई अभिलेख हस्तान्तरण तथा दुई दिने अभिमुखीकरण पनि दिएका छन् ।

अभिमुखीकरणमा जिल्लामा रहेका सहकारीको अवस्था, उनिहरुका गतिविधि तथा नीतिगत विषयमा प्रष्टाइएको सहकारी डिभिजन कार्यालय जुम्लाका निमिक्त प्रमुख युवराज न्यौपानेले बताए । उनकाअनुसार जुम्लामा रहेका २ सय १६ वटा सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

एक नगरिपालिका र सात वटा गाउँपालिकाका जनप्रतिनिधि र अधिकृतहरु सहकारीको नियमन तथा व्यस्थापन सम्बन्धी विषयमा स्पष्ट पारिएको छ ।

पहिले डिभिजन कार्यालय सञ्चालन गर्दै आएको सहकारीका कामकाज संघीयता कार्यन्वयनमा आएसँगै जिल्लाका सबै सहकारीहरुको अभिलेख स्थानीय तहका कार्यक्षेत्र अनुसार हस्तान्तरण गरिएको छ ।

एक नगरपालिका र सात गाउँपालिका भित्र रहेका सबै सहकारी तथा आबद्ध संस्थाहरुलाई कार्यक्षेत्र, भौगोलिक अवस्थालाई मध्यनजर गर्दै पाएक पर्ने स्थानीय तहमा हस्तान्तरण गरिएको निमित्त प्रमुख न्यौपानले उल्लखे गरे ।

सहकारीको फायल बुझ्दै गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले नँया संरचना अन्यौल रहेको हुँदा कार्यन्वयन गर्न चुनौती रहेको बताए ।

विभिन्न विषयगत कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण हुने क्रम पनि जारी छ । सबैको व्यवस्थापन तथा संचालनका लागि गाउँपालिकाले योजनात्मक ढंगमा अघि बढ्ने बताए ।

स्थानीय तहमा गएका सहकारीको व्यवस्थापन तथा संचालनमा पनि आफूहरु निकै गम्भीर भएर लाग्ने बताए । उक्त कार्यक्रममा जुम्लाका सातै गाउँपालिका अध्यक्ष उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

‘हस्तान्तरणभन्दा व्यवस्थापनदेखि सञ्चालनमा चुनौती रहेको जनप्रतिनिधिको भनाई थियो । आर्थिक समृद्धिको पहिलो आधार सहकारी हो’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने, ‘महिला शसक्तिकरण, आत्मनिर्भर समाज तथा आर्थिक समृृद्धि सहकारीबाटै सम्भव छ । यसको प्रभावकारी कार्यान्वयन तथा सञ्चालनमा स्थानीय तह गम्भीर हुनु पर्छ ।’

गाउँ गाउँमा सिंहदरबार भन्नु जतिकै कार्यान्वयन गर्न सजिलो नभएकोले पनि समस्या रहेको देखिन्छ ।

स्थानीय तहमा गएका विषयगत कार्यालयहरुको व्यवस्थापनमै समस्या छ । तर चुनौतीलाई पन्छाउँदै संघीयता बचाउनकै लागि भएपनि सबै कष्ट सहने पातारासी तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए ।

उनले भने, ‘पहिलो कुरो गाउँपालिका केन्द्र विबाद धेरै ठाउँमा चुलिएको छ । त्यसलाई समधान गरेर स्थानीय तहमा गएका विषयगत कार्यालय तथा सहकारीको व्यवस्थापनमा जुट्नुपर्छ ।’

सहकारीका कर्मचारीहरु अपुग भएका कारण कर्णालीमा समस्या भइरहेको छ । डिभिजन कार्यालयले साविकको पुरै कर्णाली हेर्दा हाल कर्मचारी बाडफाँड भएकोले स्थानीय तहमा कर्मचारी अपुग भएका छन् ।

त्यसैलै सहकारी सम्बन्धी विषयमा गाउँपालिका कर्मचारीलाई स्पष्ट पार्दै अभिलेख हस्तान्तरण गरिएको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारकाे रिपाेर्ट

...

आइतबार ३०, वैशाख ०७५

प्रतिक्रिया

Related