‘जिम्मेवार बन्दा मित्रता पनि बढ्ने विकास पनि हुने’ प्रम ओली

विगतमा त्रुटि भएका भए अल्झिएर बस्ने कि समाधान गर्दै अघि बढ्ने ?
निर्माण सञ्चार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणपछिको संसदमा अभिव्यक्ति दिँदै हामी जिम्मेवार बनेर अघि बढे मित्रता र विकास दुवै राम्रो हुने बताएका छन् ।

आज संसद्मा बोल्दै ओलीले विगतको तिक्ततालाई भुलेर जिम्मेवार भएर हामी अघि बढे मित्रता र विकासलाई एकैसाथ अघि बढाउन सकिने कुरा व्यक्त गरेका हुन् ।

तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्बन्ध नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको उनले बताए ।

आफ्नो निम्तोमा आएका भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदलाई जानकारी दिँदै ओलीले राष्ट्रियताप्रति देखाएको सजगताका लागि जनतालाई धन्यवाद दिए ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दी लागेको स्मरण गर्दै ओलीले भने, ‘हामीले लगातार भन्दै आयौं, सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा हुन्छ, हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा सम्बन्ध र व्यवहार गर्छौं ।’

उनले थपे, ‘मलाई खुसी लागेको छ, यसपल्ट प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न, हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ ।’

भारत र हाम्रो सम्वन्धलाई बराबरीका आधारमा अघि बढाउने प्रस्थान बिन्दु भएको प्रधानमन्त्री ओलीले बताए । कतिपयले मोदीलाई स्वागत नै गर्नु हुँदैन्थ्यो, सम्बन्ध सुधार नै गर्नु हुँदैन भनेजसरी धारणा राखेको भन्दै उनले विगतका त्रुटी भए, विगतमा मात्र अल्झिएर बस्ने कि अघि बढ्ने ? भन्ने प्रश्न गरे ।

दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदी वार्ता उल्लेख गर्दै ओलीले भने, ‘सम्बन्धहरु बिग्रिनु नराम्रो हो तर, दुर्भाग्य विभिन्न कारणले कहिले बाँकी तलमाथि पर्छ । चिसोपनमा खुसी हुने होइन, हटाउने कोसिस गर्नुपर्छ ।’ नेपाल भारत सम्बन्ध बिग्रिएको बेलामा पनि आफूले ‘हामी सम्वन्ध बिग्रिएर खुसी छैनौं । दुखी छौं । बिग्रिएको हाम्रो कारणले होइन । हामी बिग्रिने कारणहरु हटाउन चाहन्छौं र सम्बन्ध सुधार गर्ने बाटोमा फर्काउन चाहन्छौं’ भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले यदि त्यसमा सफल भए खुसी हुनु पर्ने बताए ।

स्वाभिमानपूर्ण ढंगले बिग्रिएको सम्बन्ध सु–सम्बन्धमा ल्याएको भन्दै उनले भने, ‘हस्तक्षेप शिरोधार्य गर्ने होइन, अ–हस्तक्षेप, पारस्परिक लाभ र सम्मानका आधारमा अगाडि बढाएर लैजान सकिने वातावरण निर्माण भएको छ ।’ नेपाल आएर मित्रता अभिबृद्धिमा योगदान गरेको भन्दै उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए ।

‘उहाँले सिमानामा बाँध बाधेर डुबाउँछु भन्नु भएन, बाँध बाँधिएर डुवान भएकोमा खोल्छु भन्नु भएको छ । नबनिएको कुरा नबनाएरै छोड्नु भन्नु भएको छैन, बनाउने भन्नु भएको छ,’ ओलीले भने, ‘म अपेक्षा गर्छु ति कुराहरुको कार्यान्वयनमा हामी रुची साथ अघि बढौं र भारत त्यही रुचीका साथ अघि बढ्नेछ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि नभएको भन्दै ढुक्क रहन आग्रह गरे ।

उनले भने, ‘अध्ययन गर्नु भए हुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’

राष्ट्रहितललाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन ।’

उनले भारतीय समकक्षी मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताए ।

‘यसको अर्थ भारतको विपक्षीमा छ भन्ने होइन, दुई देशको लाभको पक्षमा भएको छ, हाम्रो स्वाभिमानको पक्षमा भएको छ’ ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार दुवै छिमेकीसँग सुमधुर र सुदृढ, पारम्परिक विश्वास र भरपर्दो सम्बन्धको पक्षमा रहेको भन्दै आफू छिट्टै चीन भ्रमणमा जाने बताए ।

...

आइतबार ३०, वैशाख ०७५

प्रतिक्रिया

Related