विकासे योजनामा कर्मचारी र उपभोक्ता समितिको मनपरी, भाले–भोज र ‘घुस’मा चल्न थाले स्थानीय तह

जिल्लामा प्राविधिक भनिने इन्जिनियरहरु नै घुस खान र योजना बिगार्ने भूमिकामा, उपभोक्ता समितिको बढ्दो दलालीकरण
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालन गरिएका विकास निमार्णका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरी गरेको पाइएको छ ।

फिल्डमा आउने प्राविधिक कर्मचारीहरुले समितिबाट सिधै रुपियाँ माग्ने र उपभोक्ता समितिले कर्मचारी पिच्छे भाले खुलाउने गरेका छन् । स्थानीय तहमा विभिन्न योजना हुन्छन् । तिनको निरीक्षणको योजना गाउँलेलाई पारिएको भन्दै उपभोक्तासँग रुपियाँ माग्ने गरेको पाइएको हो ।

चुनाव जितेपछि आफ्नो स्थानीय तहलाई नमूना बनाउने कसम खाएको नेतृत्व भने कर्मचारी, प्राविधिक र उपभोक्ता समितिले जता घुमायो त्यतै घुम्ने भएका छन् ।

उनीहरुले विकासे योजनाको तरिकै नबुझ्दा समस्या आएको देखिन्छ । ग्रामीण बस्तीका जनताको मन जित्दै नमूना गाउँपालिका बनाउने प्रयासमा लागे पनि कर्मचारीहरु भ्रष्ट देखिएपछि नेतृत्वमा आएकाहरु हैरान छन् ।

ओभरसियरले यसरी मागे ‘घुस’

प्राविधिक मान बहादुर बिष्ट पातारासी गाउँपालिकाका सब ओभर सियर हुन् । उनी विभिन्न गाउँमा योजना निरीक्षण, तथा अवलोन गर्न जान्छन् ।

योजना निरीक्षण तथा अवलोकनका बेला उनले उपभोक्ता समितिबाट सिधै घुस मागेको खुलेको छ ।

पातारासी गाउँपालिका वडा नम्बर ६ मा रहेको उर्थु ग्रामीण सडक मर्मत समितिको निरीक्षणपछि प्राविधिक बिष्टले उपभोक्ता समितिबाट २० हजार रुपियाँ घुस मागेको खुलासा भएको हो ।

गाउँपालिकाले गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा ६ नम्बर वडाका स्थानीय यस्तो खुलासा गरेका हुन् । उर्थु ग्रामीण सडक मर्म उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर बिष्टका अनुसार कर्मचारीले अतिरिक्त पैसा ‘घुस’ मागेपछि आफ्नै हातले चेक काटेर दिएको बताए ।

उनले भने, ‘ कर्मचारीले रुपियाँ मागेपछि आफ्नै हातले चेक काटेर दिएको हुँ ।’ उनले योजनाको निरीक्षणपछि प्राविधिक बिष्टले ‘मलाई अलिकति खर्च दिनुस् है’ भनेपछि आफूले ‘यतिमा चित्त बुझाउनुस्’ भन्दै २० हजारको चेक काटेर दिएको सार्वजनिक गरेका हुन् ।

कर्मचारीले मागेपछि आफू स्वयम् नै अध्यक्ष रहेका उनले ‘घुस’ दिन बाध्य भएको स्वीकार गरेका छन् । उर्थु सडक निर्माण को कुल लागत ५ लाख रुपियाँको हो । गाउँपालिकाले थप एक लाख रुपियाँ दिएपछि ६ लाख ४ हजार रुपियाँको बजेट बनेको थियो ।

उक्त सडक आयोजनाका लागि तीन पटकसम्म इस्टमेट गरिएको थियो । पछि उपभोक्ता समिति मार्फत् बिष्टलाई २० हजार रुपियाँ दिएको उपभोक्ता समितिका अध्यक्ष बिष्टले स्वीकार गरेका हुन् । उनले सडक योजना पुस महिनामै सकिएको बताए ।

सब ओभर सियर मानबहादुर बिष्टलाई उपभोक्ता समिति र गाउँलेको सहमतिमा २०७४ चैतको मसान्तमा उपभोक्ता समितिको चेक मार्फत् रकम दिएको अध्यक्ष बिष्टको भनाइ छ । यस्तै, सो कामबापत् गाउँलेलाई ३ लाख ५० हजार बराबरको ज्याला दिइएको छ ।

के भन्छन् सरोकारवाला ?

गाउँपालिकाकै कर्मचारीको यस्तो क्रियाकलापले गर्दा गाउँपालिका गम्भीर भएको अध्यक्ष लछिमन बोहोरा बताउँछन् । बोहराका अनुसार घुस खाने कर्मचारीबारे छानबिन तत्काल हुन छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाका अनुसार सब ओभरसियर मानबहादुर बिष्ट अहिले जिल्ला बाहिर भएकाले उनी फर्किए लगत्तै प्रक्रिया अघि बढाइने प्रशासनको भनाइ छ ।

जुम्ला फर्किए लगत्तै यर्थात बुझी प्रक्रियमा जाने बताए । उनी कामको सिलसिलामा सुर्खेत गएको स्रोतको दाबी छ । यस विषयमा हामीले सुर्खेत रहेका सबओभरसियर बिस्टसँग टेलिफोन गर्दा उपभोक्ता समिति मार्फत् आफूले २० हजार रुपियाँ लिएको स्वीकार गरेका छन् । 

मुछियो उपभोक्ता समिति नै यसरी

नेपालमा पृथ्वी नारायण शाहलाई उद्धृत गर्दै सरकार भन्छ, ‘घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन् ।’ तर, जनताले तिरेको करबाट हुने विकास खर्चमा उपभोक्ता समिति नै गैर जिम्मेवार देखिएपछि कर्मचारीको के कुरा गर्ने !

पैसा माग्दा कर्मचारीलाई निरुत्साहित गर्नुभन्दा पनि घुस दिएर प्रोत्साहित बनाउने काम उपभोक्ता समितिले गर्नु नै कमजोरी रहेको सरोकारवालाको भनाइ छ ।

प्राविधिक मानबहादुर बिष्टले घुस खाएको २० हजार रुपियाँको घटनामा उपभोक्ता समितिका पदाधिकारी नै मुछिएको खुलेको छ ।

यो घुस प्रकणमा स्थानीय तहकै एक कर्मचारीको मिलेमतो रहेको स्थानीय बताउँछन् । कर्मचारी मार्फत् उपभोक्ता समितिका अधिकारीले घुस दिएको कुरा लुकाउने प्रयासमा कर्मचारी पनि संलग्न भएको पाइएको छ ।

यसबारे स्थानीय राजनीतिक दलका नेताहरु छानबिन हुनु पर्ने माग गरिरहेका छन् ।

एक प्रतिनिधिले भने, ‘हामीले थाह पाएपछि अब उम्कन दिने छैनौं । यसमा कर्मचारी र उपभोक्ता समितिकै गलत नियतको देखिएको छ,’ दलबहादुर बुढ्थापाले बताए । ‘कर्मचारीले घुस माग्दा सिधै चेक काटेर दिएको हुँ’ भन्ने योजनाका अध्यक्ष पन्नबहादुर बिष्टको अभिव्यक्तिले सबै चकित बनेको उनको भनाइ छ ।

सिंहदरबारको अधिकार गाउँमा आएको बेला स्थानीय तहको समृद्धिको सपना लत्याउँदै, कर्मचारी, उपभोक्ता समिति मिलेर विकासको बजेट हिनामिना गरेको भन्दै स्थानीय हर्कबहादुर लगायतले आपत्ति जनाए ।

योजना पिच्छे भाले र भोज

संघीयता बचाउने र समृद्ध गाउँ बनाउने सपनामा जनप्रतिनिध लागे पनि भित्रभित्रै कर्मचारी र उपभोक्ता समिति भैष्ट बन्दै गएको नमूना हो २० हजा घुस प्रकरण ।

स्थानीयका अनुसार कर्मचारी र उपभोक्ताको यस्तो नियत योजनापिच्छे भाले र भोज खने प्रवृत्तिले प्रष्ट पारेको छ । पातारासी गाउँपालिकाकै ७ नम्बर वडामा आएका इन्जिनियर तथा प्राविधिक तथा उपभोक्ता समितिले मिलेर योजनाकै बजेटमा भाले र भोज गरेको स्थानीय बताउँछन् ।

स्थानीय गोरबहादुर रोकाया खाने भए आफ्नै पैसाले खानु पर्ने तर, विकासे योजनाको पैसा चलाउनु भ्रष्टचार रहेको बताउँछन् । पातारासी गाउँपालिकाका इन्जिनियर जीवन कठायत पनि यो सत्य स्वीकार गर्छन् ।

उनले आफूहरु गाउँ नपुग्दै उपभोक्ता समितिहरु कुखुरा तयार गरेर बस्ने गरेको देख्दा आफूलाई नै नमज्जा लागेको बताउँछन् । उनले भने, ‘हामी कुनै योजनाबारे छलफल गर्न उपभोक्ताका नेताहरुकोमा पुग्छौं । तर, हामी नपुग्दै उहाँहरुले भाले तयार गरेर बसेका हुन्छन् ।’

उनले प्राविधिक इन्जिनियरको नाम बेचेर उपभोक्ता समितिले स्थानीय नागरिकलाई ठगेको आरोप लगाए ।

...

साेमबार, ३१ वैशाख, ०७५

प्रतिक्रिया

Related