यातायात सिन्डिकेट विरुद्धको लडाइँ नयाँ उचाइमा, देशैभरका समितिका बैंक खाता रोक्का !

निर्माण सञ्चार, काठमाडौं । सार्वजनिक यातायातमा रहेको सिन्डिकेट तोडेको सरकारले देशैभरका यातायात व्यवसायीका बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मंगलबार बसेको बैठकले देशैभर रहेको बाँकी समितिको पनि बैंक खाता रोक्का गर्ने निर्णय गरेको हो ।

१५ दिन भित्र सबै विवरण पठाउन जिल्लाहरुमा उर्दी

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, गभर्नर डा चिरिञ्जिवी नेपाल सहितको उपस्थितिमा भएको बैठकले यातायात सम्वद्ध संघ–संस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन पनि उर्दी जारी गरेको छ ।

देशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

सरकारले सार्वजनिक अत्यावश्यक सेवा विरुद्ध आम जनतामाथि अन्याय गरेको भन्दै यातायात सिन्डिकेट विरुद्ध कदम चालेको थियो ।

यस अघि २१ वैशाखमा २४५ यातायात समितिका बैंक खाता रोक्का गरेको थियो ।

सरकारले सिन्डिकेट हटाउने भनेपछि सिन्डिकेट हुनै पर्ने माग सहित यस अघि देशैभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

सरकारले उनीहरुलाई सार्वजनिक अपराध अन्तर्गत नै मुद्दा चलाउने भएपछि उनीहरु कहिलै सिन्डिकेट नगर्ने भन्दै माफ मागेर उम्किएका थिए ।

वैठकले दिएको निर्देशनानुसार १५ दिन भित्रै विवरण आएमा सरकारले सम्पूर्ण यातायात समितिको बैंक खाता रोक्का गर्ने छ र ती समिति मध्ये कसको नाउँमा के कति रकम वा चल अचल सम्पत्ति छ, त्यसको विवरण तयार पार्न पनि गृहले निर्देशन गरेको छ ।

यो लागत तयार भएपछि गृहले बाँकी कारवाही अगाडि बढाउने छ ।

यातायात व्यवसायीहरु भने केही धमाधम कम्पनी कार्यालयमा दर्ता भई नयाँ तरिकाले व्यवसाय गर्ने तयारीमा छन् भने केही सरकारले आफूहरुको सेवा रोकेर विकल्प नदिदा अन्याय गरेको भन्दै गुनासो गरिरहेका छन् ।

 

 

...

बुधबार, २ जेठ, ०७५

 

प्रतिक्रिया

Related