सगरमाथा शिखरमा कामिरिताको अर्काे विश्व कीर्तिमान, २२ औं पटक शिखरमा

निर्माण सञ्चार, सोलुखुम्बू । बुधबार बिहान साँढे ८ बजे विश्वको अग्लो चुचुरो सगरमाथा शिखर पुगेर कामिरिता शेर्पाले विश्व कीर्तिमानी राखेका छन् ।

शेर्पाको यो २२ औं पटक सगरमाथा शिखरमा सफलता पूर्वकको पाइला हो । उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका छन् ।

पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षीय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाइला राख्ने आरोहीका रुपमा दर्ज भएका छन्।

२२ औं पटक सगरमाथा शिर चुमेका उनलाई यतिबेला सामाजिक सञ्जालमा विश्वभरबाटै शुभकामनाको ओइरो लागेको छ ।

आफ्नो जीवनमा सन् १९९२ देखि कामिरिताले सगरमाथा चढ्न थालेका हुन् । १९९४ मे १३ तारिखका दिन पहिलो सफल आरोहण गरेका कामिरिताले चारवर्ष ‘रोप फिक्सिङ’ टोलीको नेतृत्व समेत गरेका थिए ।

उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरेर पनि कीर्तिमानी कायम गरेका छन् । उनले ८ हजार मिटरका ५ हिमाल यस अघि नै चढिसकेका छन्।

संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा उनले आरोहण गरेका थिए । उनले ल्होत्से, चोयु र मनास्लु पनि चढिसकेका छन्।

नेपाली वीर शेर्पाको छवि बनाएका मध्ये आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पा २१ पटक सगरमाथा आरोहण गर्नेमा नाम दर्ज गरेका थिए।

सन् २०११ बाट आरोहण छाडेपछि आप्पा साधारण जीवनमा फर्केका थिए । त्यसपछि फुर्वाले सन् २०१३ बाट आरोहण छाडेका थिए ।

यतिबेला निरन्तर हिमाल आरोहण गर्नेमा कामिरिता मात्रै रहेका छन् ।

 

 

...

बुधबार, २ जेठ, ०७५

 

प्रतिक्रिया

Related