मदन–आश्रित स्मृति दिवसमै हुने भो वाम एकता, दुई अध्यक्ष सहितको बन्ने भो ४४१ सदस्यीय केन्द्रीय कमिटी

नेपाल कम्युनिस्ट पार्टी बन्दै गर्दा एमाले माओवादी ५५/४५ को भागबन्डामा पावर सेयरिङ गर्ने
निर्माण सञ्चरा, काठमाडौं । यस अघि देखिएका मतभेद चिर्दै नेपालका दुई ठूला कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न अन्तिम टुंगोमा पुगेको छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको ‘वान टु वान’ वार्तामा एकता सहमति जुटेको हो ।

वार्ता पछि पार्टी एकता समन्वय समितिको वैठक समेत ओली प्रचण्डको निर्देशनमा तत्कालै बसेको थियो ।

यो सहमतिसँगै मदन आश्रित दिवसको दिन अर्थात् भोलि नै पार्टी एकता घोषणा हुन सक्ने एमालेका एक नेताले बताए ।

यदि दुवै पार्टी एकीकरण हुने भएमा दुवै पार्टीका केन्द्रीय कमिटी बैठक बसेर मान्युट गरेपछि मात्र निर्वाचन आयोगमा जानकारी दिनु पर्ने प्रावधान छ ।

योसँगै माओवादीको केन्द्रीय सचिवालयको विस्तारित बैठक बस्दैछ भने एमालेले केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे बोलाएको छ ।

एमाले नेताका अनुसार भोलि बस्ने एमाले केन्द्रीय कमिटी बैठकअघि नै पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणको घोषणा गर्ने सम्भावना छ ।

पार्टी एकताबारे माओवादीका एक नेताले सकेसम्म बिहीबार नै एकीकृत पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गरेर निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ ।

यसबारे जिज्ञासा राख्दा एमाले उपमहासचिव विष्णु पौडेलले संयोजन समितिको बैठकपछिमात्र टुंगो लाग्ने बताउँछन् । 

पार्टी एकताबारे बुधबार साँझ एमालेको स्थायी कमिटी बैठक बसेको छ । तर, दुई अध्यक्षबीच के सहमति भयो भन्ने अझै बाहिर आएको छैन ।

स्रोतका अनुसार केन्द्रीय कमिटीमा प्रतिशतको आधारमा हुने छैन ।

माओवादीले समानतामा आधारित एकता हुनुपर्ने भनेको छ । एमालेका २५–३० जना बढी केन्द्रीय सदस्य रहनेछन् । पोलिटब्युरो र स्थायी कमिटी पनि सोही अनुसार बन्नेछ ।

पार्टीमा दुई अध्यक्ष बाहेक अरु पदाधिकारी हुने छैनन् । पार्टी एकताको सन्देश गएसँगै भोलिको मदन आश्रति स्मृति दिवसमा माओवादी पनि सहभागी हुने भएको छ ।

भोलि अर्थात् जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रति स्मृति दिवस हो ।

एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रतिको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

भागबन्डा यस्तो छ 

 
दुई वामदलको एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई जना अध्यक्ष रहने छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल एकता पछि पनि दुवै जना अध्यक्ष रहने अचम्मको अभ्यास गर्न लागेका छन् ।
 
एमाले स्थायी कमिटीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको ब्रिफिङअनुसार एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने बाँकी २०० जना माओवादी केन्द्रका रहने छन् ।

कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरे पनि अन्तिममा माओवादीको माग एड्रेस गर्ने ठाउँमा ओली पुगेका थिए । 
 
माओवादीले ५०–५० को माग गरेपछिको उत्पन्न विवाद समाधान गर्दै नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाउने भएका हुन् ।

नेताहरुले बताए अनुसार तत्कालकै लागि पोलिटब्यूरो नबनाइने सहमति नै भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ ।
नेताहरुका अनुसार स्थायी कमिटीमा एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना सहभागी रहने छन् ।
 
सूर्य चिह्न नै चुनाव चिह्न रहने छ भने निर्देशक सिद्धान्त  समाजवाद उन्मुख ‘जनताको जनवाद’ रहने छ । 

 

 

 

...

बुधबार, २ जेठ, ०७५

 

प्रतिक्रिया

Related