पातारासीको चौर गाउँ सरसफार्इमा जुम्लाकै नमुना

घर–घरमा धारा र शौचालय, प्रत्येक हप्ता सरसफाइ अभियान
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका अधिकांश घरहरु रातो माटोले पोतिएका छन् ।

हिमालको फेदको बस्ती जहाँ हिमालको चिसो हावाले मन आनन्दित बनाइरहेको हुन्छ ।

भोकमरीको क्षेत्र भनेर चिनिने कर्णाली, त्यस भित्रकै जुम्ला पातारासी ३ चाैर गाउँ नमुना गाउँको रुपमा विकास भइरहेको छ ।

यसमाथि पनि परम्परागत शैलीमा निर्मित घरले झनै मन लोभ्याउने गरेको छ । अहिले पछिल्लो समय सरकारले देशैभर खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा छ ।

यसको प्रभाव स्वरुप चौर गाउँपनि केही अघि खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो । अहिले सरकारले सफा धारा पँधेरा, एक घर एक धारा र सफा तथा मैत्रीपूर्ण शैचालयको अभियान ल्याएको छ । यो अभियानमा उनीहरु अभ्यस्त भइसकेका छन् ।

अहिले उनीहरुले घर–घरमा शैचालय, धारा तथा टोल सरसफाइ गरिरहेका छन् । यसका साथै नियमित हप्तामा सामूहिक सरसफाई गर्ने तथा सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान गाउँले आफैँले चलाइरहेका छन् ।

शिक्षाका हिसाबले अलि पछाडि नै भएपनि त्यहाँका मान्छेको लवाइखवाइ, सरसफाइ, काम कर्तव्यमा शिक्षित परिवारभन्दा केही कमी छैन ।

खुला दिसामुक्त घोषणा गरेर सरसफाइको अभियान चलिसक्ता पनि शैचालय नै नबनाइ बसेका जुम्लाकै डुंग्री लगायतका अन्य गाउँहरुलाई यो चौर गाउँ नमुना बस्तीको रुपमा देखा परेको छ । २ सय भन्दा बढी घरधुरी रहेको चौर गाउँमा शौचालय, सरसफाइ, धाराविहीन कुनै घर छैनन् ।

धारा आफैँले निर्माण गर्याैं

चोर बासीले आफ्नो गाउँमा आफैँले धारा निर्माण गरेका छन् । कसैले सिकाएको कुरालाई व्यवहारमा ल्याएदेखि आफैँले आफ्नो गाउँ समृद्ध बनाउन सकिनेमा चौर गाउँबासी विश्वस्त छन् ।

वर्षौ पहिले रिड्स नेपाल संस्था चौर गाउँमा शौचालय बनाउने अवधारण तथा विभिन्न सामाग्री तथा ज्ञान दिएको थियो । स्थानीय कृष्ण बोहोराले भने, ‘सबै घरमा शौचालय बनिसकेको थियो । शौचालय बनिसकेपछि सबैले आफ्नै खर्चमा धारा निर्माण गर्ने निर्णय भयो र निर्माण पनि गरेरै छाड्यौँ ।’

उनले केही प्राविधिक तथा सैद्धान्तिक सहयोग बाहेक सबै काम आफैँले मिलेर गरेको बताए ।

फोहोर व्यवस्थापनका बारेमा पनि बेला बेला गाउँमा कुराकानी हुने गरेको स्थानीयबासी गोरीकला बोहोराले बताइन ।

उनले भनिन, ‘विभिन्न महिला संजाल, क्लबहरुबाट जनचेतना फैलाएकै कारण चौर गाउँ सरसफाइमा नमुना गाउँ बनेको हो ।’

स्थानीय तहले गर्यो चौर गाउँको प्रशंसा

चौर गाउँले सरसफाई क्षेत्रमा गरेको प्रगतीको पातारासी गाउँपालिकाले प्रशंसा गरेको छ । गाउँपालिका अध्यक्ष लछिमन बोहोराले भने, ‘गाउँलाई चिनाउने गरी नमुना काम गर्नुभएको काम स्वागत योग्य छ ।

चौर गाउँको विकास र समृद्धिका लागि विशेष योजना बनाउछौँ । यस्ता उदाहरणीय कामले समग्र पातारासी गाउँपालिकाको समृद्धिमा नयाँ ईटा थपिने अध्यक्षको भनाइ छ ।

उनले थपे, ‘अब राम्रो गर्नेलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्छौँ ।’

अझै चौर गाउँका आवश्यकतालाई पहिचान गरी चाँडै पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गर्ने उनले बताए । ३ नम्बरका वडा अध्यक्ष विर्खराम बोहोराले गाउँको सफलतानै एकता भएको बताए ।

चौर गाउँमा शिक्षित थोरै भएपनि बुझ्ने धेरै छन् । पातारासीकै समृद्ध तथा नमुना गाउँ चौरलाई बनाउने उनको भनाइ छ ।

चौर गाउँका स्थानीय गाउँ समृद्धिको लागि दैनिक काम गरिरहेका छन् ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

इतबार ६, जेठ ०७५

प्रतिक्रिया

Related