जुम्लामा अबैध सम्बन्धले गर्भपतन बढ्यो

“गर्भपतन गराउनेमा १८ वर्ष देखि २२ वर्ष उमेर समुहका अविवाहित किशोरीहरु बढी
निर्माण सञ्चार, जुम्ला | सम्वन्धित महिलाको मन्जुरी बिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्ता सम्मको गर्भ स्वेच्छिक पतन गर्नसक्ने अधिकार महिलालाई छ ।

२०६० को स्वास्थ्य निती अनुसार मेडिकल एर्भसन गराउन चाहने महिलाले भने चिकित्सकको परामर्शमा ९ हप्ता सम्मको गर्भपतन औषधिको माध्यमबाट गराउन सक्ने व्यवस्था छ ।

तर, गर्भपतन र सुरक्षित यौन सम्पर्कका बिषयमा जानकारी हुँदा हुँदैपनि जुम्लामा भने असुरक्षित गर्भपतन गराउनेको संख्या दिनानुदिन बढ्दै गएको पाईन्छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म मात्रै भण्डै ६ सय महिलाले सुरक्षित गर्भपतन गराएका छन् ।

अबैध सम्बन्धले गर्भ रहेपछि सुरक्षित गर्भपतन गर्नेहरु भन्दा अझै असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ ।

“गर्भपतन गराउनेमा १८ वर्ष देखि २२ वर्ष उमेर समुहका अबिवाहित किशोरीहरु बढी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयकी तथ्यांक सहायक कमला नाथका अनुसार चालु आर्थिक वर्षको हालसम्म १ सय १५ जना महिला, किशोरीलाई औजारको सहायताले सुरक्षित गर्भपतन गरीएको छ ।

उनले भनिन्, ‘गत वर्ष ७ सय ५ जनाले गर्भपतन गराएका थिए, यो वर्षको छ महिनामै त्यसको ५० प्रतिशतले गर्भपतन गराउने संख्या बढेको छ ।’

हाल जिल्ला स्वास्थ्य कार्यालय माताहातका चार स्वास्थ्य चौकी, मेरी स्टोप सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भैरहेको छ ।

गर्भपतन गराउनेमा अधिकांश १८ वर्षदेखि २२ वर्ष उमेर समुहका अविवाहित किशोरी र २३ वर्षदेखि ३० वर्षका महिलाहरु रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्र्सिङ अफिसर मुना दाहालले बताइन् ।

कतिपय महिला, किशोरीहरुले मेडिकलबाट औषधी लिएर आफैँ गर्भपतन गर्दा समस्या देखिएपछि पुन:उपचारका लागि प्रतिष्ठानमा आउने गरेको दाहालको भनाई छ ।

उनकाअनुसार गर्भपतन गर्दा हुने असरको बारेमा जानकारी हुँदाहुँदै पनि गर्भपतन गर्नेको संख्या बढिरहेको छ ।

‘कतिपय स्वास्थ्य संस्थामै आउछन् त कतिपय विभिन्न उपाय अपनाएर घरमै असुरक्षित गर्भपतन गर्छन्, यो निकै डरलाग्दो समस्या हो’ उनले भनिन्, ‘गर्भपतन गर्ने महिला, किशोरीहरुलाई अस्थायी साधान प्रयोग गर्ने तरिका र पाईने स्थानबारे जानकारी दिने गरेका छौ ।’

 ज्यान जोखिममा

गर्भपतन गराई सकेपछि लामो समयमा रक्त श्राव हुने, पाठेघरमा क्यान्सर हुनसक्ने, बाँझोपन देखापर्ने, कमजोरी तथा मानसिक असन्तुलन हने लगायतका समस्या देखा पर्ने भएकाले गर्भपतन गर्ने महिला, किशोरीहरुको ज्यान जोखिममा रहेको चिकित्सकहरुको भनाई छ ।

गर्भपतन गर्दा हुने असरबारे व्यापक प्रचारप्रसार हुदाँ पनि ज्यानै जोखिममा राखेर गर्भपतन गर्ने ईच्छुक हुने गरेको प्रतिष्ठानकी अनमी कमला बुढाले बताइन् ।

गर्भपतन गराउनेको संख्या बढ्नुमा गरिबि, अशिक्षा र अशुरक्षित यौन सम्पर्क नै मुख्य कारण रहेको उनको भनाई छ ।

‘कतिपय पुरुष शिक्षित हुदाँ पनि महिलालाई दबाब दिएर गर्भपतन गराउँछन्, त कतिपय महिला अबैध सम्बन्धबाट रहन गएको गर्भपतन गर्छन्, उनले भनिन् ।’

भु्रणहत्या बढ्यो

एउटा मानिसले जस्तै गर्भमा रहेको भु्रणको पनि बाँच्न पाउने अधिकार हो, तर नेपाल सरकारले पछिल्लो समयमा गर्भपतनलाई कानुनी मान्यता दिए संगै भु्रणहत्या बढेको छ ।

कानुनीरुपमा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था भएपनि त्यसभन्दा माथिको असुरक्षित गर्भपतन गराउने संख्याले कानुन विपरीत भ्रुणहत्या गराउनेको संख्या बढेको छ ।

अर्कोतर्फ नेपाल जस्तो पितृसत्तात्मक देश भएकोले छोराको चाहानाकै कारण छोरीको भ्रुणहत्या गर्ने प्रचलन बढेको छ ।

चार/पाँच छोरी जन्मिसक्दा पनि छोरा जन्माउने आशाले श्रीमानको दबाबमा एउटै महिलाले बारम्बार गर्भवतन गराउने गरेका छन् ।

मरिसकेपछि स्वर्ग बासको लागि छोराले पिण्ड दान नगरेसम्म मृतकको स्वर्गमा बास हुदैन भन्ने धार्मिक विश्वासका कारण छोरा जन्माउने आशैआशमा छोरीको भ्रुणहत्या बढ्दै गएको हो ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

विहीबार ३, वैशाख ०७५ 

प्रतिक्रिया

Related