बच्चादेखि बुढासम्म यार्सा टिप्न पाटनः गाउँ नै शुन्य !

पढाई नै छाडेर यार्सा टिप्ने मोह, ज्यान नै जोखिममा
निर्माण सञ्चार, कर्णाली प्रदेश | गत जेठ १ गतेबाट कर्णालीका हिमाली पाटनमा पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन कार्य धमाधम भइरहेको छ ।

आर्थिक आम्दानीको मुख्य स्रोत मानिने यार्सागुम्बा संकलनका लागि ज्यानै जोखिममा राखी कर्णालीका स–साना बच्चादेखि बुढाबुढीसम्म जान्छन् ।

यार्सा संकलन गर्नु मौसमि व्यापार जस्तै पनि छ । आर्थिक हिसाबमा फाइदाजनक भएपनि ज्यानको जोखिम पनि उतिकै हुन्छ ।

तर पनि यार्सा संकलनप्रति कर्णालीका युवायुवतीको मोह घटेको छैन । यतिबेला गाउँबस्ती नै शुन्य पारेर १२ वर्षदेखि ५० वर्षसम्मका सबै मानिस पाटनतिर गएका छन् ।

गाउँमा कुनै व्यक्तिलाई समस्या पर्दा रेखदेख गर्ने मान्छे समेत छैनन् ।

कोहीको मृत्यु भएमा मलामी जानेको समेत अभाव छ, गाउँमा । दुई महिनामै वर्षभरी पुग्ने आम्दानी हुने मोहले अधिकांश युवायुवती बिरामि/बुढा आमा/बा छोडेर पाटनतीर लागेका छन् ।

कति बालबालिका विद्यालय नै छोडेर यार्सा टिप्न हिँडेका छन् ।

यतिबेला यार्सागुम्बा संकलनका लागि पाटनमा नजाने जुम्लासहित कर्णालीका कुनै गाउँका युवायुवती तथा बच्चाहरु बाँकी छैनन् ।

गाउँघरको त्यस्तो अवस्थालाई हेर्दा सबैलाई यार्सागुम्बको रसले छोएको देखिन्छ ।

पेरे गाउँबाटै ८ सय बढी

पेरे जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाको २ नम्बर वडाको एक गाउँ हो ।

जो पातारासी हिमालको फेदमा अवस्थित छ । हालसम्म त्यहाँका ८ सय बढी युवा–बच्चा यार्सागुम्बा संकलनका लागि मुगुका विभिन्न पाटनतर्फ लागेका छन् ।

झण्डै ४ सय घरधुरी रहेको पेरे गाउँ हाल सुनसान छ । बिरामी परेकाहरु ६० नाघेका बृद्धबृद्धाहरुकै भरमा बसेका छन् । एक घरबाट कम्तिमा २ जनाका पाटनतीर लागेका छन् ।

सोहीआधारमा हेर्दा जुम्लाका करिब ४२ हजार युवायुवतीमध्ये झण्डै ८० प्रतिशत पाटनतिर गएको अनुमान छ । घरमा जति नै बढी बच्चा भए पनि सबै पाटनतीर लाग्ने गरेको ५८ वर्षिया स्थानीय चन्द्रविर कामीले बताए ।

उनले भने ‘गाउँमा कोही विरामी पर्दा अस्पतालसम्म लाने मान्छे परै जाओस् मर्दा मलामी जाने मान्छे पनि छैनन् ।

पेरे गाउँ एक उदाहरण मात्रै हो ।

जुम्लाका छुम, चौर,तल्फी, हुरी महरी लगायतका गाउँबस्ती पुरै शुन्य भएको छ ।

 रहर बाध्यता दुबै

यार्सा टिप्न जानु कसैलाई रहर त कसैलाई बाध्यता जस्तै छ ।

तर, जुम्ला पेरे गाउँका गोपाल कामी यार्सा टिप्नका लागि मुगुको माजनथान पाटनमा गईसकेका छन् । उमेरले मात्रै १३ वर्ष पुगेका उनलाई यार्सा टिप्न जानु रहर भन्दा बाध्यता बनेको छ ।

पारिवारिक अवस्था निकै कमजोर रहेका उनले पढ्न समेत नपाएको गुनासो गरे ।

गाउँमा रोजगारी छैन्, ज्यानकै जोखिम राखेर पनि ठुला अंकलहरु संग म यार्सा टिप्न जान लागेको उनले सुनाए ।

बुबाआमा बुढा भएकाले आफूले थोरै रकम कमाए पनि परिवारमा सहज हने बताउँछन्, उनी ।

उनी जस्तै समस्या भएका पातारासि गाउँका ५ हजार बढी यार्सा संकलनका लागि घर छाडेका छन् । तर सबैको एउटै सपना छ, दुई महिनामा वर्षभरीको खर्च जुटाउने आशा बोकेर पाटन गएको उनीहरुको भनाई छ ।

गाउँमा छैन रोजगारी

‘गाउँमै रोजगार भए जोखिम मोलेर बुढा बाबुआमा छोडेर पाटन जानु कुनै रहर थिएन’ पातारासीकै एक युवा हरीबहादुर विकले भने ‘स्थानीय सरकार आयो, तर युवा बेरोजागरीका दिन फेरिएनन् ।

स्थानीय सकार आएता पनि यस अवस्थामा केही महसुस नभएको उनको भनाई छ ।

 युवा उद्यमशिलतामा गम्भीर

पाटनमा जानलाई रोक्न नसकिने गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

अब युवा उद्यमशिलताका विभिन्न कार्यक्रमलाई अघि सारेर रोजगारी सृजना गरिने उनको भनाई छ । युवाहरुलाई साथमा नलिए समृद्धी सम्भव नभएको बोहोराको दाबी छ ।

उनले भने ‘आम्दानीका लागि यार्सा टिप्ने समय कुर्नुपर्ने अवस्थाको तत्काल अन्त्य हुन्छ ।’ सबैभन्दा बढी पातारासी र गुठिचौर गाउँपालिकाबाट जाने हुँदा यस क्रमलाई रोक्ने उनको दाबी छ ।

आगामी आवमा युवा सरोकारका विषयलाई विशेष प्रथामिकता दिईने स्थानीय सरकारको योजना छ । कर्णाली मुगु, डोल्पा, हुम्लाका लाखौँ युवा/बच्चा पाटन यार्सा टिप्नका लागि गएका छन् ।

मुगुका पाटनमा मात्रै १० हजार बढी संकलनकर्ताले प्रवेश गरिसकेको छन् ।

 


...
शुक्रबार ४, वैशाख ०७५ 

प्रतिक्रिया

Related