वैदेशिक रोजगारीमा ठगी गर्ने ४८ व्यवसायी एकैदिन पक्राउ: ५ अवैध शीर्षकमा ५ अर्बको लुट !

मलेसिया जाने कामदारले करिब १७ हजार अवैध संघसंस्थालाई बुझाउन बाध्य
निर्माण सञ्चार, काठमाडौँ | वैदेशिक रोजगारीका नाममा हुने गरेको ठगी विरुद्ध उत्रेको सरकारले एकैदिन ४८ जनालाई पक्राउ गरेको छ ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको निर्देशनमा आइतबार मलेसिया जाने कामदारमाथि स्वास्थ्य परीक्षणका नाउँमा थप आर्थिक भार थोपर्ने विभिन्न ‘मानव दलाल’ स्वास्थ्य एजेन्सीका सञ्चालक तथा व्यवस्थापकलाई पक्राउ गरिएको हो ।

विभिन्न मेडिकल सेन्टरहरुमा नै छापा मारेर उनीहरुलाई पक्राउ गरिएको छ ।

निश्चित स्वास्थ्य एजेन्सीमा मात्रै स्वास्थ्य परीक्षण गनुउनुपर्छ भन्दै महँगो शुल्क अशुल्ने गरेका स्वास्थ्य एजेन्सीका सिन्डिकेटधारीविरुद्ध मन्त्री विष्टले धावा बोलेका हुन् ।

गैरकानुनी रूपमा खडा भएका पाँच वटा संस्थाले पाँच वर्षमा मलेसिया जाने कामदारसँग पाँच शीर्षकमा चार अर्ब ६४ करोड रुपियाँभन्दा बढी रकम असुली गरेको पाइएको छ ।

उक्त संस्थाहरुले स्वास्थ परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी संकलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा प्रतिकामदार १७ हजार सात सयभन्दा रकम असुली गरेका हुन् ।

यसरी रकम असुली गर्नेमा जीएसजी, माइग्राम, वायोमेट्रिक परीक्षण स्वास्थ संस्था, ओएससी (वन स्टेप सेन्टर) र भीएलएन छन् ।

मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाउँमा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ पक्राउ परिसकेको छन् ।

यसैगरी, बायोमेट्रिकका नाममा मेडिकल धन्दा चलाइरहेका ३ दर्जनभन्दा बढी व्यवसायी र उनीहरुका सहयोगी पनि पक्राउ परेका छन् ।

कति असुल्थ्यो भीएलएनले

सरकारबाट अनुमति नलिई मलेसियाका सरकारका अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाउँमा ३२ सय असुल्ने गरिएको थियो ।

सात सयमै हुने काम भीएलएनले ३२ सय असुल्ने गरेको थियो ।

हालसम्म भीएलएनले करिब एक अर्ब ९३ करोड रुपियाँ अवैध असुली गरेको छ ।

कामदारमाथि आर्थिक भार थप्ने काम सन् २०१३ को नोभेम्बर अर्थात् २०७० को चैतदेखि भीएलएनको नामबाट रकम असुली गर्ने कार्य सुरु भएको थियो ।

यो नामको संस्था खडा भएदेखि २०७४ को चैत महिनासम्ममा गरी मलेसियाको रोजगारीका लागि म्यानपावर र व्यक्तिगत भिसामार्फत ६ लाख दुई हजार आठ सय ३३ जना कामदार मलेसिया पुगिसकेको सरकारी तथ्यांक छ ।

भीएलएन नामको संस्था खडा भएपछि रोजगारीका लागि गएका कामदारले थप तिरेको करबाहेक ३२ सय रुपियाँ दरले मात्रै एक अर्ब ९२ करोड ९० लाख ६५ हजार ६ सय रुपियाँ असुली भएको पाइएको छ ।

वानस्टप सेन्टरका नाउँमा कति ?

वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपियाँ असुल्ने गरिएको थियो ।

वान स्टोप सेन्टरका नाममा महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पुर्याउँदा २८ सय रुपियाँ लिने अर्को धन्दा पनि चलिरहेको छ । वान स्टप सेन्टरका नामा झण्डै ५७ करोड रुपियाँ ठगिएका देखिन्छ ।

माइग्रामका नाममा यस्तो छ धन्दा

माइग्राम नामको संस्थाले पनि दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपियाँ उठाउँदै आएको छ ।

ओएससी लागू हुनभन्दा पहिले ०७३ वैशाखदेखि बायोमेट्रिक स्वास्थ परीक्षण गर्नुपूर्व मलेसियाको मे बैंकको खातामा एक सय २५ मलेसिया रिंगेट जम्मा गर्नु पर्ने गरी माइग्राम नामको संस्थाले कामदारमाथि थप आर्थिक भार थपेको थियो ।

सो नियम लागू भएपछि मात्रै नेपालबाट रोजगारीका लागि एक लाख ७७ हजार दुई सय ४१ जना कामदार मलेसिया पुगिसकेका छन् ।

यसरी मलेसिया जाने कामदारसँग प्रक्तिव्यक्ति करबाहेक सरदर ३२ सय रुपियाँका दरले ५६ करोड ७१ लाख ७१ हजार दुई सय रुपियाँ असुली भएको देखिन्छ ।

 वायोमेट्रिकका नाउँमा एक अर्ब

रुपियाँ असुली मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ परीक्षण ०७२ असार २४ गतेबाट लागू भएको थियो ।

सो अवधिदेखि ०७४ चैतसम्म रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या मात्रै दुई लाख ३७ हजार दुई सय ९१ पुगेको छ ।

ती कामदारसँग बायोमेट्रिक स्वास्थ परीक्षण गराउने ३९ मेडिकलले प्रतिव्यक्ति करबाहेक ४५ सय रुपियाँ असुली गरिरहेका छन् ।

यसरी बायोमेट्रिक स्वास्थ परीक्षणका नाममा कामदारसँग हालसम्म झन्डै एक अर्ब ६ करोड ७८ लाख नौ हजार पाँच सय रुपियाँ असुली भएको देखिन्छ ।

 जिएसजीबाट कति असुल ?

जीएसजी बायोमेट्रिक स्वास्थ परीक्षण सुरु भएको करिब आठ महिनापछि फेरि २०७२ चैतदेखि कामदारको सेक्युरिटी क्लिरेन्स अर्थात् कामदार मलेसिया पहिले गएको छ वा छैन र कालो सूचीमा रहे नरहेको परीक्षण गर्ने संस्थाका रूपमा जीएसजी खडा भएको थियो ।

यो संस्थाले पनि कामदारमाथि आर्थिक भार थप्ने गरी करबाहेक ३२ सय रुपियाँ असुली गर्न थालेको थियो ।

जीएसजी लागू भएपछि मात्रै नेपालबाट मलेसिया रोजगारीको खोजीमा एक लाख ९४ हजार तीन सय १५ जना कामदार मलेसिया पुगिसकेका छन् ।

यसरी मलेसिया गएका कामदारसँग प्रतिव्यक्ति ३२ सय रुपियाँका दरले कर बाहेक ६२ करोड १८ लाख आठ हजार रुपियाँ असुली भइसकेको छ ।

मलेसिया जान कामदारले करिब १७ हजार रुपियाँ विभिन्न अवैध संघसंस्थाहरूलाई बुझाउनुपर्छ ।

यसैविरुद्ध श्रम बिष्टले एक्सन लिएका हुन् ।

त्यसको प्रतिक्रया स्वरुप सिन्डिकेटधारी व्यवसायीले भने विदेश जाने कामदारको मेडिकल परीक्षण रोकिदिएका छन् ।

यस लगत्तै श्रम मन्त्रालयले अवैधानिक धन्दा चलाउने यस्ता व्यवसायीलाई पक्राउ गरेर कारवाही गर्न सिफारिस गरेको हो ।

सोही आधारमा वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा ४८ व्यवसायी पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले दाबी गरे ।

 कोको परे पक्राउ ?

मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम असुल गरेका आरोपमा पक्राउ पर्नेहरु मोनिका श्रेष्ठ, गणेश तिमल्सिना, देबेन्द्र आचार्य, केदार थापा, रामप्रसाद श्रेष्ठ, सरिता गिरी बमबहादुर खड्का, मुकुन्द भट्टराई, निमीकुमारी तिवारी, रेजिना शाक्य, मुना शाक्य, रेशम खत्री, सुम सत्याल, ईश्वर भण्डारी, विदुर थापा चन्द्रमा राई लगायत रहेको छन् ।

....

सोमबर ७, जेठ ०७५

 

प्रतिक्रिया

Related