गाउँ समृद्धिको आधारः फस्टाउँदै सामूहिक स्याउ खेती

नमुना बगैँचाको रुपमा चिनाउने स्थानीयबासीको लक्ष्य
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्ला स्याउमा आत्म निर्भर जिल्लाका रुपमा चिनिन्छ । यहाँका पाखा बारी पनि स्याउ बगैँचामा परिणत भएका छन् ।

जुम्लाका १८ हजार घरधुरी मध्ये झण्डै १६ हजार बढी घरमा स्याउ खेती गरिएको छ । एक घर एक बैगचाजस्ता कार्यक्रमहरु पनि जुम्लामा संचालन भएका छन् ।

जुम्लाकोे जुनसुकै क्षेत्रको भुभाग स्याउ खेतीका योग्य भएको कृषि कार्यालयले प्रमाणित गरिसकेको छ । पश्चिमको मालिकाठाँटा, पूर्वको गुठिचौर लगायतका सबै क्षेत्रमा स्याउ खेती हुने कृृषि विज्ञहरुले बताएका छन् ।

स्याउ खेतीलाई मौसमी व्यापारका रुपमा पनि लिने गरिन्छ । स्याउ खेतीबाटै एकै वर्षमा कम्तीमा पनि १० लाख बढी आम्दानी एकै किसानले गर्दछ ।

गएको वर्षमा मात्रै जुम्लाबाट १७ करोडको स्याउ निर्यात भएको थियो । प्रत्येक वर्ष स्याउ निर्यात दर केही मात्रामा बढ्दो रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको प्रमुख नगदेबालीका रुपमा रहेको स्याउलाई व्यवस्थित गर्न तथा बाहिरी बजारसम्म लानका लागि सामूहिक स्याउ खेती उपयुक्त मानिए पनि जुम्लाका त्यति धैरै सामूहिक खेती गरेको नपाइएपनि पछिल्लो सयम भने जुम्ला ग्रामिण भेगका स्थानीयहरु सामूहिक स्याउ खेतीतर्फ आर्कषित भएका छन् ।

समग्र गाउँको हितका लागि स्याउ खेतीले टेवा पुर्याउने किसानहरुको विश्वास छ । जुम्ला तातोपानी २ जर्मी गाउँका स्थानीयले गरेको सामूहिक स्याउ खेती फस्टाउदै गएको छ ।

झण्डै १ सय ५० घरधुरीको स्वामित्वमा रहने गरी खेती गरिएको स्थानीय अगुवा धनबहादुर बुढाले बताए । उनकाअनुसार अन्य गाउँभन्दा जर्मी गाउँमा स्याउ खेती गर्ने किसान छैनन् ।

खाली रहेको पाखो बारी सदुपयोग गर्न ४ वर्ष पहिले स्याउका विरुवा लगाएका थिए । निकै उत्साहित भएर मलजल गोडमेल तथा काँटछाटमा सक्रिय भएका स्थानीयले यो वर्ष स्याउ खाने पाउने भएको छन् ।

२ सय २० भन्दा बढी क्यारीमा झण्डै ३ सय ३० स्याउ विरुवा रोपिएकोमा अहिले ३ सय बढी स्याउका विरुवामा फल लागिसकेको सामूहिक स्याउ खेतका चौकीदार टंक डाँगीले बताए ।

उनका अनुसार घेराबारदेखि व्यवस्थापन सबै राम्रो भएकाले स्याउ खेती निकै फस्टाउदै गएको सुनाए । सामूहिक स्याउ खेतीपछि मलाई चौकीदार राखिएको हो । उनले भने, ‘अहिलेसम्म निशुल्क काम गरेको छु । अब स्याउ फल्न थालेपछि आफूले पारिश्रमिक पाउने भन्दै खुसी व्यक्त गरे ।’

२ क्वईन्टल उत्पादन हुने अनुमान

गाउँलेको सक्रियतामा ४ वर्ष पहिले लगाएको स्याउ खेतीको पहिलो वर्षको उत्पादन बढीमा २ क्वईन्टल जति हुने अनुमान गरिएको छ । पहिलो वर्ष भएको र केही बोटमा फुल नलागेकोले त्यति धेरै उत्पादन नहुने देखिन्छ ।

जुम्लाकै एक मात्र सामूहिक स्याउखेती गरिएको जर्मी गाउँ हो । उत्पादन बढ्दै गए यहाँका बेरोजगार युवाहरुले पनि रोजगारी पाउने सम्भावना छ ।

जर्मी गाउँको प्रमुख आर्यस्रोतका रुपमा त्यो सामूहिक स्याउ बगैचालाई लिइएको स्थानीय रुद्रसिंह मल्ले बताए । उनले भने, ‘योे वर्ष उत्पादन थोरै भएपनि आउने वर्षमा पक्कै पनि बढदै जान्छ ।’

जति उत्पादन भएपनि धेरै कष्टका साथ गरिएका सामूहिक स्याउ खेती फस्टाउन थालेकोप्रति स्थानीय हर्षित छन् । सिंगो गाउँ मिलेर गरिएको स्याउ खेतीले जुम्लाको पहिचान राख्न पनि निकै महत्वपूर्ण भूमिका खेल्ने नमुना बैगचा बनाउन तथा यसको व्यवस्थापनका लागि वडा कार्यालयले गर्ने सबै सहयोग प्राप्त हुने २ नम्बर वडा अध्यक्ष कृष्ण बुढाले विश्वास दिलाए ।

गाउँको हितमा आर्थिक लगानी हुने

जर्मी गाउँका शिक्षक अर्जुन बुढाले भने, ‘एकआपसमा मिलेर नमुना गाउँको सन्देश दिने हाम्रो लक्ष्य हो ।’ सामूहिक स्याउ खेती फस्टाउदै गएपछि त्यसको नेतृत्व गर्नेको भिड बढेको छ । तर उक्त बगैचाबाट हुने आम्दानी समग्र गाउँको हित हुने काममा लगानी गरिने बताए ।

एक आर्थिक वर्षका कम्तीमा पनि १० लाख बढी आम्दानी हुने देखिछ । त्यो रकमले गाउँका कोही बिरामी हुँदा, उच्च शिक्षा पढ्दा, विकास निमार्ण तथा क्षमता विकासका क्षेत्रमा मात्रै लगानी हुनु पर्ने उनको माग छ ।

यसकोे बजारीकरणको लागि पनि निश्चित व्यक्तिलाई जिम्मेवारी दिनु पर्छ । गाउँका योजना जस्तै सामूहिक स्याउ खेतीको आम्दानीमा पनि हिनाहिना हुने सम्भावना देखिन्छ ।

उनले थपे, ‘सबैले विश्वास गर्ने व्यक्तिलाई जिम्मेवारी दिनु पर्ने हो । घर–घर बाट मलजल संकलन गरी निकै मेहनतका साथ सामूहिक स्याउ खेती फस्टाएको छ ।’

यसको लाभ सबै गाउँले लिनुपर्ने युवा नवराज बुढाले बताए । घुम्न जाने एक गार्डेनका रुपमा पनि विकास गरिएको छ । पैकेला दरबार नजिकै कर्णाली राजमार्गदेखि झण्डै १ हजार मिटर उचाईमा स्याउ खेती गरिएको छ ।

जुम्लाको पाखोबारीले पनी पैसा फलाउने सफल उदाहरण जर्मी गाउँको सामूहिक स्याउ खेतीले बनेको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

सोमबार ७, जेठ ०७५

प्रतिक्रिया

Related