विपन्नलाई निःशुल्क मिटर वितरण गर्ने सरकारको योजना

हाल २०.२८ प्रतिशत विद्युत् चुहावटबाटै खेर
निर्माण सञ्चार, काठमाडौँ | विद्युत् चुहावट रोक्न सरकारले निःशूल्क मिटर वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७५/०७६ मा सरकारले विपन्न वर्गका घर/परिवारलाई निःशूल्क मिटर वितरण गर्ने भएको हो ।

विपन्न वर्गलाई निःशुल्क मिटर वितरणको योजना आउँदो आवको बजेट भाषणमा नै समावेश गर्न लागिएको छ । तराई क्षेत्रका गरिब वर्गहरूले हाल मिटर जडान नगरी हुकिङबाट बिजुली बाल्ने गरेका छन् ।

यसले ठूलो मात्रामा विजुली चुहावट भइरहेको छ ।

आगामी कार्ययोजना अन्र्तगत सो विषयलाई समावेश गरिएको केही दिनअघि उर्जा मन्त्रालयलले सार्वजनिक गरेको स्वेतपत्रमा उल्लेख छ ।

त्यस विषयलाई आगामी आवको बजेटबाटै सम्बोधन गर्ने सरकारको तयारी रहेको छ ।

यसका साथै पर्यटकीय र धार्मिक तिर्थस्थलमा पनि निःशूल्क इनर्जि मिटर जडान गरिने भएको छ ।

सरकारले विपन्न, दलित, लोपोन्मुख आदिवासी जनजातिलाई नविकरणीय उर्जामार्फत उर्जामा अधिकतम सहभागी गराउने योजना लिएको छ ।

ग्रामीण विद्युतीकरणमा सरकारी लगानी वृद्धि गरी थप प्रभावकारी बनाउने लक्ष्य पनि सरकारले लिएको छ ।

कति प्रतिशत विद्युत् चुहावट ?

हाल २०.२८ प्रतिशत विद्युत् चुहावटबाटै खेर गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सो संख्यालाई आउँदो आवभित्रमा १५ प्रतिशतमा झार्ने जलस्रोत उर्जा तथा सिंचाई मन्त्रालयको योजना छ । प्राधिकरणले गत वर्ष मात्रै २.५ प्रतिशतले चुहावट कम गरेको थियो ।

यसरी चुहावट कम गर्दा सोही वर्ष मात्रै प्राधिकरणलाई २ अर्ब रुपियाँ फाइदा भएको थियो ।

तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अधिकारीका अनुसार त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको छ ।

....

बुधबार, ९ जेठ ०७५ 

प्रतिक्रिया

Related