स्वास्थ्य चौकीमा भूतको त्रासः चेक गर्न जान छाडे ‘गर्भवती’

‘पुर्खादेखि त्यस स्थानमा भूत छ भन्ने भ्रम स्थानीयमा छ, आखिरमा भूत छैन’– स्थानीयबासी
निर्माण सञ्चार, कर्णाली प्रदेश । जुम्लाका गर्भवती महिलाहरु भूतको डरले स्वास्थ्य चौकी जान छोडेका छन् ।

जिल्लाको गुठीचौर गाँउपालिका वडा नं ३, ४ र ५ अन्र्तगतका गर्भवती तथा सुत्केरी महिलाहरु भूतको डरले त्यहाँको गज्र्याङकोट स्वास्थ्य चौकीमा जान छोडेका हुन् ।

परम्परागत सोच र धारणाअनुसार गज्र्याङकोट स्वास्थ्य चौकी आसपासका ठाँउमा भूत रहेको भन्दै गर्भवती तथा सुत्केरी महिलाहरु उक्त स्वास्थ्य चौकीमा गर्भ चेकजाँच तथा सुत्केरी हुन जाँदैनन् ।

गर्भवती भएका बेला त्यो ठाँउ वपरिपरि हिड्न पनि नहुने विश्वास छ । यदि हिँडेमा बच्चानै पेटमै मर्ने, जन्मे पनि धेरै समय नबाँच्ने लगायत पुरानै विश्वास र मान्यताले यहाँ गर्भवती आमा स्वास्थ्य चौकीनै नजाने गरेको पाइएको छ ।

त्यस स्वास्थ्य चौकीमा गर्भवती भएको तीन महिनापछि र सुत्केरी भएको ६ महिनासम्म भूतको डरले उपचारका लागि जान नहुने स्थानीय महिलाहरुमा बुझाइ छ ।

 

यदि गर्भवती वा सुत्केरीको त्यो अवधिमा त्यस स्वास्थ्य चौकी गएमा भूतले गर्भको बच्चा तथा शिशुलाई खाएर मारिदिने स्थानीयको बुझाइ छ ।

स्वास्थ्य चौकीबाट नजिक भएका वडा नं ३, ४ र ५ का गर्भवती तथा सुत्केरी महिलाहरु स्वास्थ्यचौकी नगएर टाढा रहेको देपालगाँउ स्वास्थ्य चौकी तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खलंगा बजारमा धाइरहेका छन् ।

डा नं ३ कि महिला स्वास्थ्य स्वयंमसेविका पद्मा गिरीले भनिन्, ‘गाँउका गर्भवती दिदीबहिनीलाई प्रसुति सेवा लिन स्वास्थ्य चौकी जानुपर्छ भन्ने थााहा छ, तर भूतको डरले जाँदैनन् ।’

उनले थपिन्, ‘पैसा हुनेहरु प्रसुति सेवा लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाँउछन्, पैसा नहुनेले घरमै सुत्केरी गराँउछन् । स्वयंमसेविकाले जति सम्झाएपनि उनिहरुमा भूतको डर हटेको छैन ।’

प्रकृतिको भूतले खाओस् वा नखाओस्, तर त्यहाँका गर्भवती महिलाको मनमा भएको भूतले भने उनिहरुलाई खाइसकेको छ ।

त्यहाँकी एक सुत्केरी महिला राममाया प्याकुरेलले भनिन्, ‘घरपरिवारदेखि गाँउसमाजले गर्भवती समयमा गज्र्याङकोट स्वास्थ्य चौकी गए भूतले खान्छ भनेपछि मैले नियमित गर्भजाँच पनि गरिन । घरमै सुत्केरी भएपछि खासै समस्या त भएन । यदि समस्या आइदिएको भए ज्याननै जोखिममा थियो ।’

स्थानीय ६२ बर्सिय बृद्ध झिल्केप्रसाद न्यौपानेका अनुसार भूत बस्ने स्थानमा स्वास्थ्य चौकी निर्माण गरिएकाले गर्भवती महिलाहरु त्यँहा जान डराएका हुन् ।

न्यौपानेले भने, ‘हामी सानैछँदा हाम्रा पुर्खाले त्यहाँ भूत छ भन्थे अहिलेसम्म त्यसको भ्रम छ । आखिरमा भूत छैन ।’

हरेक वर्ष कार्तिक पूर्णिमाको दिन त्यँहाका महिलाहरुले उक्त भूतलाई बाबा बनाउने गरेको स्वयंमसेविका नवकन्या न्यौपानेले बताइन् ।

उनका अनुसार भूतलाई बाबा बनाउँदा कुखुरा र अन्नपात नास्ता चढाउनुपर्ने चलन छ । भूतको डरले स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन नआउने गर्भवती महिलालाई मध्यनजर गरी सचेतनामुलक कार्यक्रम संचालन गरिने स्वास्थ्य चौकी ईन्चार्ज सुस्मा शाहले बताइन् ।  यो गम्भीर प्रकारको मानसिक समस्या हो ।

उनले भनिन्, ‘गर्भवती महिलामा यस्तो मानसिक समस्याकै कारण उनले सोचे अनुसार गर्भको बच्चा हुर्कन तथा जन्मिन समस्या छ ।’

उनले थपिन, ‘हामीले धेरै सम्झाउने प्रयास गर्यौ । गाँउसमाजको संस्कारले मान्दैन । अब गाँउपालिकासँगको समन्वयमा घरदैलो अभियान गर्छौं ।’

स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुति सेवा दिने व्यवस्था भएपनि गर्भवती नआउँदा स्वास्थ्य चौकीलाई समेत अप्ठ्यारो परेको छ ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट ।

...

बुधबार ०९, जेठ ०७५

प्रतिक्रिया

Related