सबु सुवेदीको उपन्यास ‘मञ्जूषा’ सार्वजनिक

निर्माण सञ्चार, काठमाडौँ । कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ ।

वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, पत्रकार फूलमान वन, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वज र लेखक सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् ।

पुस्तक लोकार्पण कार्यक्रम पहिलो र दोस्रो चरणमा भएको थियो । पहिलो चरणमा पुस्तकको लोकार्पण गरियो भने दोस्रो चरमा पुस्तकमाथि अन्तरक्रिया गरियो ।

अन्तरक्रिया कार्यक्रमको नेतृत्व समीक्षक सचिन घिमिरेले गरेका थिए । उनले लेखक सबु सुवेदी, आख्यानकार अमर न्यौपाने र पत्रकार फूलमान वनलाई प्रश्न सोधेर उपन्यासको बलियो तथा कमजोर पक्षमा टिप्पणी गराएका थिए ।

लोकार्पणपछि पहिलो चरणको कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले सबु सुवेदी नयाँ लेखक नभएर साहित्यिक जगतको क्षमतावान लेखकका रूपमा उपस्थित भएको बताए ।

उनले, ‘लेखनमा परिपक्वता, सलर र सहज भाषाशैली लोभलाग्दो छ । सुवेदीको भाषाशैलीबाट प्रभावित भएको छु, भाषाशैली परिस्कृत छ । उपन्यास मञ्जूषा वर्तमान सामाजिक विषयवस्तुमा आधारित रहेको छ ।’

अर्का वक्ता चलचित्र लेखक प्रदीप भारद्वजले यस उपन्याले आफूलाई पनि लेख्न प्रेरित गरेको बताए ।

उनले भने, ‘म फरक विधाको मान्छे भएर पनि यस उपन्यासमा समाविष्ट कथावस्तुले मलाई छोएको छ । समाजका स–साना घटना निकै मार्मिक रूपमा उठाइएको छ ।’

दोस्रो चरणको अन्तरक्रिया कार्यक्रमा आख्यानकार अमर न्यौपानेले उपन्यासको परिकल्पना र सरल प्रस्तुति रहेको बताए ।

उनले भने, ‘उपन्यासको भाषा सरल रहेको छ । यसमा समाजको यथार्थ कथावस्तुलाई समावेश गरेको छ । लेखकले परिकल्पना गरेको यस उपन्यासको परिकल्पना निकै राम्रो छ ।’

उपन्यासमा युवा उमेरका प्रेम सम्बन्ध केलाइएको छ आख्यानकार न्यौपानेले बताए ।

पुस्तकका बारेमा बोल्दै अर्का वक्ता फूलमान वनले, ‘नयाँ लेखक भएर पनि सबु सुवेदीको लेखनमा परिपक्वता भेटिन्छ । समाजका सुक्ष्म पक्षलाई कथामार्फत सरल, सहज र सरस भाषाशैलीमा उतार्नु लेखकको बलियो पक्ष हो ।’

वनले उपन्यास नारीले लेखे पनि उपन्यासमा नारी र पुरुष दुवैको कथावस्तु समेटिएकाले यस उपन्यास विभिन्न कोणबाट समीक्षा गर्न सकिने बताए । उक्त उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो ।

जसको मूल्य रु. ३७५।– रहेको छ ।

...

आइतबार १३, जेठ ०७५

प्रतिक्रिया

Related