मुग्लिन–नारायणगढ सडकखण्डको कति सकियो काम ? कहिले हुन्छ पूरा ?

निर्माण सञ्चार, काठमाडौँ | लामो समयदेखि निर्माणधीन अवस्थामा रहेको मुग्लिन–नारायणगढ सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ ।

यही जेठको तेस्रो साताभित्रमा सबै सडक पिच हुने भएको छ । उक्त सडकको कुल ३३.२ किमीमध्ये पहिलो र दोस्रो चरणको कालोपत्रे भइसकेको आयोजनाले बताएको छ ।

यस सडकखण्डमा वर्षेनि पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए ।

सडक आयोजनाका इन्जिनियर सुचना अधिकार शिव खनालले भने ‘कुल ३३.२ किमीमा अब एक किमी मात्रै पिच गर्न बाँकी छ, सडक पिच भएलगत्तै सबै क्षेत्रलाई सहज हुन्छ ।’

अब मुग्लिन बजार नजिक रहेको दुई नम्बर पुलदेखि चेपाङ डाँडासम्मको सडक क्षेत्रमात्र पिच गर्न बाँकी रहेको इन्जिनियर खनालले बताए ।

उनले जेठ १६ गतेसम्ममा त्यस सडकको पूरै खण्ड पहिलो तहको पिच सम्पन्न हुने बताए ।

आयोजनाका अनुसार पहिलो र दोस्रो ठेक्काका कतिपय स्थानमा तेस्रो तहको पिचको कार्य पनि भैइरहेको छ ।

बाँकी रहेको एक किलोमिटर क्षेत्रमा भने हाल ब्ल्याक टपका लागि आधार तयार पार्ने काम तीव्र रुपमा अगाडी बढेको छ ।

उक्त सडक निर्माणका लागि पहिलो ठेक्काको १०.४ किमी, दोस्रोको १०.६ किमी र तेस्रो ठेक्काको १२.१ किमी तीन निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।

सूचना अधिकारी खनालका अनुसार चेपाङ डाँडामा सडक विस्तार गर्न अझै समय लाग्ने हुनाले सडकछेउको भागमा एंकर विधिबाट काम भैरहने र बीचको भाग भने यातायात सहजताका लागि पिच गरिहाल्ने तयारी भइरहेको छ ।

पहिलो आँपटारीदेखि दासढुंगासम्मको जिम्मा बीएलए–एससिसी, दोस्रो दासढुंगादेखि सिमलतालसम्मको उड हिल लामा र सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा सुप्रिम रौताहा जेभीले लिएको आयोजकले बतायो ।

अहिलेसम्म पहिलो ठेक्काको ८८, दोस्रोको ९७ र तेस्रोको जम्मा ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

...

आइतबार, १३ जेठ ०७५ 

प्रतिक्रिया

Related