पूर्वअध्यक्षहरुबाट उद्घाटन हुँदै एफक्यानको ‘विशेष–साधारण सभा’, मन्त्री महाशेठले बाँड्ने भए ‘रमण एफक्यान एक्सिलेन्स अवार्ड’

विधान संशोधन र साधारण सभाको टुंगो मुख्य प्रस्ताव
निर्माण सञ्चार, काठमाडौँ | नेपाल निर्माण व्यवसायी महासंघको विशेष साधारण सभा यही जेठ ११ गते राजधानीमा हुने भएको छ ।

१९ औं साधारण सभापछि विभिन्न उतार चढाव खेपेको महासंघमा पछिल्ला दिनमा विशेष गरी प्रदेश संरचनामा गएसँगै देखिएका विधानतगत विवादहरु सल्ट्याएर महासंघलाई नयाँ दिशा दिन विशेष साधारण सभा डाकिएको हो ।

एफक्यान नेतृत्वले बताए अनुसार विशेष साधारण सभाको उद्घाटन काठमाडौंस्थित प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा बिहान विशेष समारोहमार्फत् हुने भएको छ ।

यसको उद्घाटन एफक्यानका पूर्व ६ अध्यक्षहरुले गर्ने भएका छन् । ११ जेठ, शुक्रबार हुने उक्त विशेष साधारण सभामा २ वटा सत्र रहेका छन् ।

जसको पहिलो सत्र बिहान र साँझ दोस्रो सत्र सहित रमण एफक्यान एक्सिलेन्स अवार्ड वितरण समेत हुने छ ।

उद्घाटन कार्यक्रममा सहभागी हुने पूर्वअध्यक्षहरुमा– गणेशलाल श्रेष्ठ, जिपछिरिङ लामा शेर्पा, रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की र जयराम लामिछाने रहेको महासंघका प्रवक्ता विष्णु बूढाथोकीले जानकारी दिए ।

प्रवक्ता बूढाथोकी अनुसार विशेष साधारण सभाले महासंघ प्रदेश संरचनामा गएसँगै देखिएका वैधानिक समस्याहरु सल्ट्याउने छ र साधारण सभाका लागि अर्काे मिति तोक्ने छ ।

गौचन हत्यासँगै विशेष परिस्थितिमा महासंघको नेतृत्व सम्हालेका अध्यक्ष विष्णुभाइ श्रेष्ठले विशेष सधारण सभाको अध्यक्षता गर्ने छन् ।

यस अघि पनि विशेष अवस्थाका कारण म्याद थप्दै यहाँसम्म आएको महासंघ केन्द्रीय कार्यसमितिको यही जेठ २८ गतेबाट वैधानिकता समाप्त हुने छ ।

महासंघले विशेष परिस्थिति देखाउँदै यस अघि पनि समय सीमाभित्रै हुनु पर्ने महाधिवेशनलाई पर सारेको थियो ।

यो विशेष सधारण सभाले भने प्रादेशिक संरचनामा जाँदा देखिएका वैधानिक समस्या सुल्झाउँदै महासंघ साधारण सभाको अर्काे मिति तय नहुञ्जेलका लागि नेतृत्वको म्याद समेत थप्ने जानकारहरु बताउँछन् ।

त्यस्तै, विशेष साधारण सभाको दोस्रो सत्रको आतिथ्यता गर्ने छन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले ।

निर्माण क्षेत्र विशेष उत्कृष्ट सेवा दिने विभिन्न व्यक्ति, संस्था, सञ्चार गृह जस्ता निकायलाई हरेक वर्ष दिदै आएको सम्मान मन्त्री महासेठकोे हातबाट वितरण गरिने योजना रहेको महासंघ स्रोतले बतायो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर लगायतको उपस्थित हुने महासंघले बतायो ।

गत वर्ष महासंघले आफ्नो अध्यक्ष गुमाउनु परेकाले रोकिएको यो कार्यक्रलाई निरन्तरता दिदै महासंघले यस वर्ष पनि यस्तो अवार्ड वितरण गर्ने भएको हो ।

यस्तो सम्मान तथा पुरस्कारका लागि एफक्यानले विभिन्न २७ विधामा योगदान दिने निकायहरु छनोट गरेको छ ।

महासंघद्वारा जारी गरिएको सूचना अनुसार यसरी योगदान दिने व्यक्ति, विभिन्न फर्म, संस्थाहरु मध्ये सञ्चार क्षेत्रमा विशेष भूमिका खेले बापत् निर्माण मिडियालाई महासंघले सम्मान गर्ने जनाएको छ । सम्मानका लागि निर्माण मिडिया पनि छनोटमा परेको महासंघले जानकारी दिएको छ ।

निर्माण मिडिया क्याम्प प्रा.लि. अन्तर्गत सञ्चालित ‘निर्माण बिम्ब’ राष्ट्रिय मासिक तथा ‘निर्माण सञ्चार डट कम’ मार्फत् यस मिडियाले देशको कन्स्ट्रक्सन इन्डस्ट्रिजबारे सचेतनामूलक समाचार सम्प्रेषण गर्दै अएको छ ।

त्यस्तै, निर्माण क्षेत्रमा लामो समयदेखि योगदान दिने एक विशिष्ट व्यक्तिलाई ‘महासंघ गौरव सम्मान’ प्रदान गर्ने कार्यक्रम पनि रहेको प्रवक्ता बूढाथोकीले बताए ।

अवार्ड वितरण छनोटका लागि महासंघले विगतझैं सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुको स्वतन्त्र जुरी गठनमार्फत् गरेको महासंघले जनाएको छ ।

अवार्डको प्रायोजन ‘रमण जनरल कन्स्ट्रक्सन मार्टले’ गरेको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्यमा महासंघको उक्त कार्यक्रम हुने भएको हो ।

...

बिहीबार, १० जेठ ०७५ 

प्रतिक्रिया

Related