राष्ट्रकवि घिमिरेको उपचार भारतको मेदान्तमा हुँदै

निर्माण सञ्चार, काठमाडौँ | केही समयअघिदेखि विरामी परेका राष्ट्रकवि माधव घिमिरेको हाल भारत नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।

आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि घिमिरेलाई भारत लगिएको हो ।

राष्ट्रकवि घिमिरेले उपचारका क्रममा आफू बाँच्ने ढुक्क भएको बताएका छन् ।

उनले नेपालीहरु समेत थप उपचारका लागि आउने यति ठूलो अस्पतालमा आफ्नो समस्या पहिचान हुने भन्दै आफू निको भएर स्वदेश फर्कने बताएका छन् ।

राष्ट्रकवि घिमिरेलाई गत बिहीबार एयरपोर्टबाट सिधैँ मेदान्त अस्पताल पुर्याइएको थियो ।

छोरा इन्दिबरका अनुसार भर्ना लगत्तै उनको स्वास्थ्य परीक्षण पनि सुरु गरिएको थियो ।

बिहीबार राति करीब १२ बजे बसेको चिकित्सकहरुको आपत्कालिन बैठकले रक्तश्राव कहाँबाट भइरहेछ भन्ने पत्ता लगाउन इन्डोस्कोपी, क्लोनोस्कोपी र क्याप्सुल इन्डोस्कोपी गर्ने निर्णय गरेको छोरा इन्दिबरले बताए ।

त्यसका लागि अहिले नाकबाट पाइप छिराएर पेट र आन्द्रा सफा गर्ने प्रक्रिया सुरु गरिएको छ ।

९९ वर्षीय राष्ट्र कवि घिमिरेको उच्च रक्तचाप र दिशामा रगत देखा पर्ने समस्या कारण विगत दुईसातादेखि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदै आएको थियो ।

तर, सानो आन्द्राबाट नियमित रक्तश्राव हुने ठाउँ पत्ता नलागेकाले चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए ।

सरकारले घिमिरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

...

बिहीबार, १० जेठ ०७५ 

प्रतिक्रिया

Related