मुख्य राजमार्गलाई सरकारले बनाउँदैछ ‘एक्स्प्रेस–वे’, कसरी ?

अब सडकका दुरी पनि छोट्टाइने
निर्माण सञ्चार, काठमाडौँ | हाल सरकारले मुलुकका मुख्य राजमार्गहरुलाई ‘एक्स्प्रेस–वे’का रुपमा विकास गर्ने नीति ल्याएको छ ।

अहिलेका ठूला र रणनीतिक महत्वका राजमार्गलाई एक्स्प्रेस–वेका रुपमा विकास गर्ने सरकारको योजना छ । हाल पूर्वपश्चिम राजमार्गसहित विशेष महत्वका राजमार्गहरु दुई लेनमा अवस्थित छन् ।

ती राजमार्गलाई ‘एक्स्प्रेस–वेका रुपमा विकास गर्दा थप २ लेन बढाएर ४ लेन बनाउने सरकारको नीति रहेको छ ।

सडक विभागका अनुसार आउँदो आर्थिक वर्षदेखि विभागले मुलुकका मुुख्य राजमार्ग मात्रै हेर्ने भएको छ ।

त्यस्तै, साना र शहरी सडकहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए ।

उक्त प्रक्रिया सम्पन्न भएलगत्तै विभाग मुख्य राजमार्गलाई तीव्रगतिमा गाडी गुडाउन सकिने तवरबाट विस्तारमा केन्द्रीत हुने विभागले बताएको छ ।

हाल एक्स्प्रेस–वेका रुपमा फास्ट ट्रयाक निर्मणाधीन छ ।

यसअघिका ‘एक्स्प्रेस–वे’मा काम गर्न नपाएको विभागले मुख्य राजमार्गलाई भने आफैँले ४ लेनको बनाउने रणनीति लिएको छ ।

नयाँ प्रविधिको प्रयोग गरेर मुख्य राजमार्गलाई ‘एक्स्प्रेस–वेका रुपमा अन्तराष्ट्रिय स्तरको बनाइने विभागको भनाई छ ।

 कुन–कुन राजमार्गलाई ‘एक्स्प्रेस–वे बनाउँदै ?

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–मुग्लिङ सडकखण्डलाई चार लेनको बनाउने तयारी भइसकेको छ ।

विभागकाअनुसार एसियाली विकास बैंकको सहयोगमा बनाइन लागिएको उक्त राजमार्गका निर्माणका लागि निर्माण कम्पनी छनोट पनि अन्तिम चरणमा पुगेको छ ।

यसैगरी, काँकडभित्तादेखि पथैलियासम्मको सडकलाई ४ लेनको बनाउन डीपीआर तयार भइसकेको छ । यता बुटवलदेखि महेन्द्रनगरसम्मको खण्डलाई पनि विस्तार गर्दै एक्स्प्रेस–वे बनाउन डीपीआर गर्ने तयारी रहेको विभागको भनाई छ ।

अब सडकका दुरी पनि छोट्टाइने

सडक यातायात सञ्चालनको लागत र दूरी कम गर्न सडक विभागले सडकको रेखाङ्कन कम गर्ने रणनीति लिएको छ । विभागले घुमाउरा मोड धेरै भएका मुख्य राजमार्गको रेखाङ्कन सीधा गर्ने योजना लिएको हो ।

हाल मुलुकमा धेरै राजमार्ग मोड नै मोड र साँघुरा छन् ।

अब घुमाउरो सडक निर्माण गर्ने परम्परालाई तोड्ने योजना सरकारको छ ।

यसको थालनी भने सिद्धार्थ राजमार्ग अर्थात पोखरा÷बुटवल सडकबाट हुने विभागको भनाई छ ।

यसरी सडक छोट्याउन खोलामा मात्रै पुल निर्माण गर्ने परम्परागत सोचलाई छाड्दै छोटा दूरीका डाँडाहरुलाई जोड्न पनि भायोडक्ट बनाउने तयारी छ ।

यस वर्षको बजेटले नै यसका लागि बजेट विनियोेजन गर्ने विभागले जानकारी दियो ।

उक्त राजमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विभागका अधिकारीका अनुसार ९ अर्ब रुपियाँ खर्च गर्दा यो खण्ड २० किलोमिटर छोटो बन्नेछ ।

सो राजमार्गमा भालुपहाड लगायतका स्थानमा ४ सय मिटरसम्मका छोटा सुरुङ बनाइने विभाग बताउँछ । भायोडक्ट पनि ४/५ स्थानमा बन्ने भएको छ ।

उक्त योजनाले भौगोलिक रुपमा अप्ठ्यारा स्थानमा पुलबाटै पहाड जोड्ने प्रविधिमा जान नयाँ अनुभव र आत्मबल दिने विश्वास लिइएको छ ।

...

शुक्रबार, ११ जेठ ०७५ 

प्रतिक्रिया

Related