धोबीखोलाको कथाः १६ वर्षदेखि अलपत्र, २ अर्ब भइसक्यो खर्च !

वर्षौसम्म किन भएन काम ? कहिले हुन्छ पूरा ?
निर्माण सञ्चार, काठमाडौँ | धोबीखोलाको दुवै किनारमा सडक बनाउने परिकल्पना २०५० सालमा गरिएको थियो ।

सोही समयमा चक्रपथमा ट्राफिक जाम हुन थालिसकेको हुँदा त्यसको समाधानका लागि सरकारले ‘धोबीखोला करिडोर’को योजना ल्याएको थियो ।

धोबीखोलालाई व्यवस्थित गर्दै नदीको दुवै किनारमा सडक बनाएर व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यकासाथ २०५९ मा अगाडि सारिएको यो आयोजना १६ वर्ष वितिसक्दा पनि ज्यूँको त्यूँ छ ।

यसअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उपत्यकामा भित्री सडक विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकास गर्न सन् १९९३ मा ‘धोबीखोला कोरिडोर’ सुधार आयोजनाको प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही प्रतिवेदन बमोजिम सरकारले निर्माण कार्य अगाडि बढाउने निर्णय त गर्यो ।

तर, लामो समयसम्म सरकार बेखबर जस्तै रह्यो । झन्डै १३ वर्षपछि सरकारले एउटा निर्णय गर्यो ।

तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोबीखोला कोरिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरेर काठमाडौं महानगरपालिकालाई १७ वैशाख २०५९ मा ‘धोबीखोला कोरिडोर’ निर्माण गर्ने जिम्मा दियो ।

तर, आयोजनामा जिम्मा दिएको ६ वर्ष बित्दा पनि महानगरपालिकाले बजेट अभाव देखाउँदै कोरिडोर डिजाइन तयार गर्नेबाहेक निर्माणमा कुनै छाँटकाँट नै देखाएन ।

महानगरले जग्गा एकीकरण पद्धतिअनुसार धोबीखोलाको दुवैतर्फ ३२/३२ मिटर चौडाइको सडक कायम गराउने योजना लिएको थियो ।

 महानगरको अक्षमता, ३२ मिटर हुनपर्ने झारियो ९ मिटरमा !

धोबीखोलाको दुवैतर्फ घना बस्ती भएकाले मुआब्जा दिएर स्थानीयलाई उठाउन नसकेपछि महानगरको आफ्नै कारण अलपत्रै रहन गयो । त्यसपछि महानगरले खोलाको दुवैतर्फ मापदण्ड परिवर्तन गरी नौ–नौ मिटर कायम गर्यो ।

पहिलाको ३२/३२ मिटरबाट २३ मिटर घटाउँदा पनि महानगर सफल हुन सकेन ।

यस कोरिडोर निर्माण गर्न महानगर अक्षमतापछि २०६४ पुस २ गते तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले महानगरपालिकाबाट ‘धोबीखोला कोरिडोर’ बनाउने जिम्मा पञ्चवर्षीय योजनाअन्र्तगत आफूले लियो ।

सोहीक्रममा ६० दशकको पहिलो चरणमै सरकारले सहरी विकास मन्त्रालयमातहतको समितिलाई काठमाडौं उपत्यका विकास प्रधिकरणमा परिणत गर्यो ।

आयोजनाले प्रकाशित गरेको प्रतिवेदनअनुसार उक्त समिति काठमाडौं उपत्यका विकास प्रधिकरणमा परिणत भएसँगै सो आयोजना प्राधिकरणले हेर्ने गरी जिम्मा दिइयो ।

राजपत्रमै प्रकाशित आयोजना ‘धोबीखोला कोरिडोर’

सुधार आयोजनाबारे २०६६ भदौ १५ मा प्रकाशित नेपाल सरकार, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको राजपत्रमा समेत उल्लेख छ ।

यसबारे निर्माण सञ्चारसँग बोल्दै उपत्यका प्राधिकरणका नायब आयुक्त भाइकाजी तिवारी भन्छन्, ‘यो परियोजनाबारे राजपत्रमै भनिएको छ, ‘नेपाल सरकारले नगर विकास ऐन, २०४५ को दफा १२ को उपदफा १२.१.२ बमोजिम काठमाडौं महानगरपालिकाभित्रको ९ सय ८ रोपनी क्षेत्रफलमा आयोजना सञ्चालन गर्नेछ ।’

त्यस्तै, राजपत्रले अझै अघि भनेको छ, ‘चावहिल चक्रपथ पुल र दक्षिणतर्फ बाग्मती दोभानसम्म धोबीखोला किनारको पूर्व र पश्चिमपट्टिबाट ३२ मिटर दूरीसम्मको कित्ता जग्गा र सो ३२ मिटरसम्मको दूरीपछि बाँकी रहने जग्गा दुई आना दुई पैसा क्षेत्रफलभन्दा कम हुने भएमा सो क्षेत्रको सम्पूर्ण क्षेत्रमा आयोजना सञ्चालन हुनेछ ।’

वर्षेनि बजेट, काम शून्य

नेपाल सरकारले धोबीखोला कोरिडोर बनाउन आर्थिक वर्ष २०६७/६८ देखि वर्षेनि बजेट विनियोजन गर्न थाल्यो । त्यसलगत्तै, चाबहिल (रिङरोड)देखि बाग्मती दोभानसम्मको ११ किलोमिटर ‘कोरिडोर’ निर्माण अगाडि बढ्यो ।

दुई दशकअघि परिकल्पना गरिएको ११ किलोमिटर लामो यो कोरिडोर हाल नेपालको सहरी विकासमा सुशासनको खराब नमूना बनेको छ ।

उपत्यकाको सहरी विकास कति भद्रगोल र अस्तव्यस्त छ भनेर हेर्न धोबीखोला कोरिडोर हेरे पुग्छ ।

आयोजनाका पूर्वप्रमुख रामप्रसाद श्रेष्ठअनुसार उनी आयोजना प्रमुख भएपछि मात्र ट्र्याक खोल्ने काम अगाडि बढेको हो ।

उनी भन्छन्, ‘विकास निर्माणमा सरकारी समन्वयको अभाव छ, सुशासन छैन र जिम्मेवार निकायको पनि लापरवाही दोहोरिने देखिएको छ ।’

 हालसम्म कति भयो काम ?

पहिलो चरणमा ११ किलोमिटर (खोलाको दुवैतर्फ ५.५–५.५ किलोमिटर गरी) मा काम गर्न थालेको आयोजनाले आर्थिक वर्ष २०७१/७२ बाट चावहिलदेखि कपनस्थित भंगाल पुलसम्म दुवैतर्फ चार–चार किलोमिटर थपेर यसलाई १९ किलोमिटर बनाउने काम भयो ।

उपत्यका विकास प्राधिकरणकाअनुसार तेस्रो चरणमा भंगाल पुलदेखि दक्षिणतर्फ ५ किलोमिटर थपेर जम्मा २४ किलोमिटर बनाइएको थियो ।

धोबीखोलाले ओगट्ने दुवैतर्फको २४ किलोमिटर दूरीमध्ये अहिलेसम्म ४.६ किलोमिटरमा मात्रै कालोपत्रे भएको छ ।

१४ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर प्रक्रियामा छ । २० किलोमिटर नदी नियन्त्रणको काम सकिएको छ भने त्यसबाहेकको क्षेत्रमा नदी नियन्त्रणको काम गर्नै बाँकी छ ।

आयोजनाको प्रतिवेदनअनुसार २० किलोमिटर ट्र्याक खोलिसकेको छ ।

हालसम्म १३ किलोमिटर फुटपाथ बनाइएको छ भने २ किलोमिटरमा फुटपाथ निर्माणको टेन्डर प्रक्रिया सुरु भएको छ ।

११ किलोमिटरमा भने रेलिङ हाल्ने काम भइसकेको छ । पहिलो चरणको ११ र थपिएको ८ किलोमिटर सडकको अनुमानित लागत ३ अर्ब २८ करोड २० लाख रुपियाँ छ ।

पहिलो चरणको ११ किलोमिटर ‘कोरिडोर’ ग्राभेल भइसकेको छ ।

दोस्रो चरणको पनि हुने क्रममा रहेको आयोजनाले जनाएको छ । आव २०६७/६८ देखि हालसम्म धोबीखोला कोरिडोर निर्माणमा २ अर्ब १७ करोड रुपियाँ खर्च भइसकेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

यो आयोजना पूरा गर्न अझै ३ अर्ब २८ करोड २० लाख ४ हजार रुपियाँ लाग्ने अनुमान लिइएको छ ।

एकअर्कामा दोष लगाउँदै ठिक्क

आयोजना समयमै नसकिनुमा सरकारी निकायहरुले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

धोबीखोला कोरिडोर सुधार आयोजनाका वर्तमान प्रमुख दीपक श्रेष्ठका अनुसार ट्र्याक खोलेर पर्खाल लगाउने र फुटपाथ बनाउने काम सकिएको छ । ढलको काम भने हुन नसकिरहेको प्रमुख श्रेष्ठले बताए ।

ढलको पाइप हाल्ने काम बाग्मती सभ्यता विकास समितिको क्षेत्राधिकारअन्तर्गत पर्छ’, उनले भने, ‘ढल समयमै हालिदिएको भए पोहोर नै कालोपत्रे गरिसक्ने थियौँ ।’

तीन वर्षअघि कोरिडोरमा ढल हाल्ने जिम्मा लिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले भूकम्प र नाकाबन्दीका कारण समयमै काम गर्न नसकिएको बताउँदै आएको छ ।

समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारका भन्छन् ‘ढल ओछ्याउने काम २०७४ भदौमै सम्पन्न गर्नुपर्ने थियो’, ‘हाल दुईपटक गरेर असारसम्ममा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको छ ।’

चित्रकारले भूकम्प र नाकाबन्दीले गर्दा ढिला भएको बताउँदै १२ किलोमिटरमध्ये ९५ प्रतिशत भौतिक प्रगति भइसकेको दाबी गरे । उनले बाँकी रहेको पाँच प्रतिशत काम असारसम्ममा सकिने बताएका छन् ।

हाल थप चार किलोमिटरमा जग्गा अधिग्रहण गरेर ट्र्याक खोल्न थालिएको धोबीखोला कोरीडोर आयोजना प्रमुख श्रेष्ठले बताए ।

ट्र्याकको काम अन्तिम चरणमा पुगेको भन्दै उनले थप गरिएको चार किलोमिटरसहित सबै काम आर्थिक वर्ष २०७५÷७६ मा सम्पन्न गर्ने बताए ।

तर, उक्त आयोजनाको इतिहास र सरकारी निकायको कार्यशैली हेर्दा अझै पनि तोकिएको समयमा काम सम्पन्न होला भनेर विश्वास गर्न सक्ने अवस्था भने छैन ।

....

आइतबार, १३ जेठ २०७५  

प्रतिक्रिया

Related