कमसल विपी राजमार्गमा हेभी यातायात चलाउन दिने मन्त्री महासेठको निर्णय !

अध्ययन नै नगरी हचुवाको भरमा स्वीकृति
निर्माण सञ्चार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने व्यवस्था उल्ट्याएको छ ।

अब बिपी राजमार्गमा ३२ सिटसम्मका बस गुड्न पाउनेछन् । यातायात व्यवसायीले बिपी राजमार्गमा ठूला गाडी चलाउने अनुमति दिन बारम्बार माग गर्दै आएका थिए ।

यही माग अनुसार मन्त्री महासेठले यो निर्णय गरेका हुन् । यस अघि १० टनसम्मका ट्रक मात्रै चलाउन पाउने नियम थियो भने अहिले भने १६ टनसम्म वजन भएका ट्रक तथा ट्रिपर चलाउन पाउने निर्णय भएको छ ।

अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबाहक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।

निर्णयमा कुनै कोटा निर्धारण नगरिएकोले रुट माग्न आएजति सबैलाई रुट इजाजत दिएर बीपी राजमार्गमा साना गाडीको सिन्डिकेट तोड्ने दाबी सरकारले गरेको छ ।

बस बिहान ५ बजेदेखि राति ८ बजेसम्म र मालबाहक ट्रक भने रातभर चल्नुपर्ने निर्णय सरकारले गरेको प्रवक्ता अर्यालले बताए ।

अध्ययन नै नगरी हचुवाको भरमा निर्णय

वीपी राजमार्गमा १८ सिटे सवारी चलाउँदा पनि आवश्यक मर्मत सम्भारको अभावका कारण सडक भासिने र पहिरो खस्ने समस्या आइरहेको छ । यसलाई बेवास्ता गर्दै सरकारले ठूला बस र मालबाहक ट्रकलाई पनि यहाँ गुड्न दिने निर्णय गरेको छ ।

बीपी राजमार्ग बन्नासाथै भएको अध्ययनमा १६ सिटसम्मका सवारी मात्रै यो सडकमा गुड्न सक्ने देखिएको थियो । तर, माइक्रो पनि गुड्न नपाउने स्थिति भएपछि व्यवसायीको दबावमा यसलाई फेरि १८ सिटसम्म पुर्याएर अर्को समितिले सिफारिस गरेको थियो ।

यसपछि व्यवसायीले यो राजमार्गमा ठूला बस र ट्रक चलाउन पाउनुपर्ने भन्दै दबाव दिएपछि दुई वर्षअघि अर्को अध्ययन गरिएको थियो ।

त्यसबेला विष्णु ओमवादे संयोजक रहेको समितिले ३५ सिटसम्मका गाडी चलाउन समस्या नहुने भन्दै सिफारिस गर्यो । तर, सडकको अवस्था जीर्ण बन्दै गएको देखेपछि सरकारले १८ सिटसम्मका बस र १० टनसम्मका मालबाहक ट्रक मात्रै चलाउन दिने निर्णय गरेको थियो ।

नयाँ हुँदा कम क्षमताका यातायात चलाउन निर्देशन दिएकोमा पछिल्लो समय जति पुरानो र जिर्ण हुँदै गयो त्यति नै हेभी यातायात चलाउन स्वीकृति दिनाले भोलि दुर्घटना बढ्ने अनुमान विज्ञहरुले गरेका छन् । 

दुर्घटना र पहिरोको राजमार्ग बन्ने खतरा रहेकाे एक पूर्व यातायात सचिवले बताए । ठूला सवारी बीपी हाईवेमा गुडाउन दिने सरकारकाे निर्णय गलत भएको उनले बताए ।

बीपी राजमार्गको पछिल्लो अवस्था अध्ययन नै नगरी पुरानै प्रतिवेदनका भरमा ठूला सवारी गड्न दिँदा केही वर्षमै बीपी राजमार्गका दुर्घटना र पहिरोले क्षति पुर्याउने उनको तर्क छ ।

एक पूर्वसचिवले भने, ‘यो व्यवसायीकै दबावमा भएको देखिन्छ । तर, बीपी राजमार्गलाई अरु सडक जसरी हेरेर हुँदैन ।’

उनले थपे, ‘यस्तो गैरजिम्मेवार निर्णयले राजमार्गको अस्तित्व नै खतरामा पर्छ ।’

बीपी राजमार्गमा ठूलो भार बोकेका सवारी छिर्न दिँदा त्यसले सो मार्ग हुँदै यात्रा गर्न पनि भयानक हुने उनको भनाइ छ । तर, विभागका प्रवक्ता अर्याल भने समिति नबने पनि विभागले अध्ययन गरेरै ३२ सिटसम्मका बस चलाउन दिने निर्णय गरेको बताउँछन् ।

पूर्वसचिवले भने संवेदनशील विषयमा मन्त्रालयका कोठामा बसेर गरेको निर्णयले भविष्यमा क्षति मात्रै पुर्याउने बताउँछन् ।

...

मंगलबार १५, जेठ ०७५

प्रतिक्रिया

Related