ठेकेदारको लापरबाहीले मेलम्चीको काम ठप्प

सरकारले किन एक्सन लिएन इटालियन कम्पनीसँग ?
निर्माण सञ्चार, काठमाडौँ । दसैंअघि नै सम्पन्न हुने भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम आर्थिक मसान्तको मुखैमा आएर ठप्प भएको छ ।

पछिल्लो प्रगति विवरण अनुसार दसैंमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने भनिएको थियो । तर, पछिल्लो समय ठेकेदार कम्पनीले काम नगरेपछि मेलम्चीको काम ठप्प भएको हाे ।

विभिन्न राजनैतिक नेता, कार्यकर्ता तथा विज्ञहरुले पनि दसैँसम्म पानी काठमाडौँ आइपुग्ने भन्दै हिडेका थिए । तर, अहिले निर्माण कम्पनीले चासो नदिँदा मेलम्चीको काम ठप्प भएको छ ।

काम रोकिएको बारे मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयलाई शुक्रबार पत्र पठाएको छ । झन्डै एक महिनादेखि काम रोकिएको मन्त्रालयका सचिव कृष्णराज बीसीले बताए ।

बीसीले निर्माण कम्पनीले व्यवस्थापनमा भएको हेलचेक्राइलाई गम्भीरता रुपमा विश्लेषण गरी नसुध्रिए निर्माण कम्पनी समक्ष जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाले ठेकेदारले साइटमा इन्जिनियरलगायतसँग समन्वय नगरेको, उच्चपदस्थसँग आन्तरिक विवाद भएको र परामर्शदातासँग पनि समन्वय नभएकोले मेलम्चीको काम अघि नबढेको बताएको छ ।

अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम बाँकी छन् ।

वैशाख १३ गते मन्त्रालयमा बसेको संयुक्त बैठकमा साउन ३० गतेभित्र सुन्दरीजलमा पानी खसाल्ने गरी कार्यतालिका बनाएर काम अघि बढाउने सम्झौता भएको थियो ।

गत चैत २७ गते सिन्धु ग्याल्थुम खण्डको साढे सात किलोमिटर ब्रेक थ्रु भएपछि भने मेलम्ची आयोजनाले सम्भाव्यता देखाएको थियो मेलम्चीको कामको विवरणबारे मन्त्रालयका सचिव बीसीले सञ्चारकर्मीलाई भने, ‘मन्त्रालय हरेक काममा सकारात्मक र सहयोगी भएर सहमतिअनुसार काम गर्दागर्दै पनि ठेकेदारले काममा चरम लापरबाही गर्छ भने तपाईंहरूले कम्पनीलाई नङयाइदिनुपर्छ ।’

मन्त्रीको पहलमा एडीबी, समिति, ठेकेदार र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई मन्त्रालय बोलाएर कार्ययोजनाअनुसार कार्यप्रगति हुन नसकेको कारण सोधी पुनः काममा गति दिन ध्यानाकर्षण गराइएको थियो ।

ठेकेदारले काम गर्ने प्रतिबद्धता जनाउँदै जेठ १६ गते कामको प्रगति हेर्न स्थलगत भ्रमणमा बोलाएको थियो । तीन सातामा अर्थात् जेठ १६ गते मन्त्रालयका सचिवको नेतृत्वमा टोेली पुग्दा इन्जिनियरबाहेक कोही नभएपछि मेलम्चीकमो दूरावस्था भएको सरकारको ठम्याइ छ ।

सचिव बीसीले भने, ‘काममा लापरबाहीको चरम नमुना देख्यौं। आश्चर्यमा परेका छौं ।’ उनले थपे, ‘सार्वजनिक रूपमै बोलेको र कार्ययोजनामा सहमति भएको विषयमा काम नहोला भनेर हामीले सोचेकै थिएनौं ।’

सरकार किन मुकदर्शक छ ?

समयमा निर्माण कार्य पूरा नगर्ने ठेकेदारलाई तुरुन्तै समातेर थुन्ने भनेर तातिएको सरकार मेलम्चीको ठेकेदार कम्पनीसँग किन डराइरहेको छ ।

पछिल्लो पटक सरकारले समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनी घोषणा नै गरिसकेको छ । तर, मेलम्ची आयोजनाको काम गर्ने ठेकेदारसँग एक्सन लिन नसकेको देखिन्छ ।

प्राविधिकलगायत सबै सहयोग गर्दा पनि काम अघि नबढेको परामर्शदाताका तर्फबाट व्यवस्थापक विलास कोइरालाले बताए । यसअघि पनि पटकपटक सीएमसीले काममा अवरोध पुर्याउँदै आएको थियो ।

सुरुवातको चिनियाँ कम्पनीले पनि यस्तै समस्या ल्याएपछि सरकारले सम्झौता तोडेर सन् २०१३ मा यो इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएको थियो ।

...

शनिबार १९, जेठ ०७५

प्रतिक्रिया

Related