‘बुढीगण्डकी अब बन्दैन टेबुल टेनिसको बल’– अर्थमन्त्री खतिवडा

पश्चिमसेती स्वदेशी लगानीमै बन्ने
निर्माण सञ्चार, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले लामो समयदेखि निर्माण गरिने भनिएको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना अब टेबल टेनिसको बलजस्तो बन्न नहुने बताएका छन् ।

आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरिएपछि अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

बुढीगण्डकी जलशय आयोजना लामो समयदेखि बन्ने भनिएता पनि नेपाल आफैँ बनाउने भन्ने, कहिले कुन कम्पनीलाई जिम्मा दिने, कहिले कम्पनी नै भाग्ने लगायतका समस्याले बुढीगण्डकी यता न उता जस्तै भएको थियो ।

कार्यक्रममा मन्त्री खतिवडाले त्यस आयोजना निर्माणको मोडालिटीबारे छलफल भइरहेको जानकारी गराए ।

उनले भने ‘बूढीगण्डकीलाई टेबल टेनिसको ब्याटले हानेको बलजस्तो कहिले यता कहिले उता पार्ने पक्षमा हामी छैनौं,’ ‘ब्याटिङ अब बन्द हुनुपर्छ भन्ने हाम्रो सोच हो ।’

यसअघिको सरकारले चिनियाँ कम्पनीबाट आयोजना फर्काएर स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको थियो ।

आउँदो आवमा बूढीगण्डकीको मुआब्जा वितरण सम्पन्न गरेर आयोजना अघि बढाउन १८ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री खतिवडाले जलाशय आयोजना निर्माण गर्न सहज नभएको दाबी गरे ।

यसैगरी, उनले सम्पूर्ण अध्ययन सकेर कार्यान्वयनमा जाने तयारी अवस्थामा रहेको पश्चिम सेती आन्तरिक लगानीमा निर्माण गर्ने बताए ।

अर्थमन्त्रीले मंगलबार प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा पनि आयोजना अन्तरिक लगानीमा निर्माण गर्ने घोषणा गरिएको थियो ।

उनले भने ‘लामो समय प्रतीक्षा गर्दा पनि यो आयोजना अगाडि बढ्न नसकेपछि आन्तरिक लगानीमा बनाउनुपर्ने बाध्यता देखियो ।’

...

बिहीबार १७ जेठ २०७५ 

प्रतिक्रिया

Related