तल्लो मोदीको काम पूराः २० मेगावाट विद्युत थपिँदै

साउनबाट विद्युत उत्पादन सुरु हुने
निर्माण सञ्चार, काठमाडौँ । २० मेगावाट क्षमता भएको तल्लो मोदी जलविद्युत आयोजनाले आगामी साउनबाट केन्द्रिय प्रसारण लाइनसँग जोडिने भएको छ ।

उक्त आयोजनाको ९६ प्रतिशत निर्माण पूरा भएको आयोजनाको विद्युत प्रसारण लाइनमा जोडिने भएको छ । पर्वतको मोदी खोलामा निर्माणाधीन आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको सिनियर इन्जिनियर राजु खड्काले बताए ।

उनका अनुसार आयोजनाको सिभिल संरचना पूरा भएर हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान धमाधम भइरहेको छ ।

बाँध र सुरुङ पूरा भएको आयोजनामा हाइड्रोमेकानिकल उपकरण जडानको काम ९० प्रतिशत सकिएको छ । जडान सकिएपछि असार तेस्रो साताबाट उपकरण परीक्षण सुरु हुने मोदी इनर्जी कम्पनीले जनाएको छ ।

उपकरण परीक्षण पूरा गरेर साउनबाट आयोजनाले विद्युत उत्पादन सुरु गर्ने कम्पनीले लक्ष्य लिएको छ । आयोजनाबाट एक वर्षअघि विद्युत उत्पादन गर्ने तालिका भए पनि सुरुङमा देखिएको समस्याले निर्माण अवधि लम्बिँदा विद्युत उत्पादन सुरु गर्ने अवधि पनि एक वर्ष पछाडि धकेलिएको खड्काले बताए ।

आयोजनाबाट वार्षिक ११७.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ४.२ किलोमिटर दुरीमा पर्ने १३२ केभी मोदी सबस्टेसनमा लगेर जोडिने छ ।

२०६९ सालबाट निर्माण सुरु भएको आयोजना पूरा गर्न ४ अर्ब ६२ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

...

शुक्रबार १८, जेठ ०७५

प्रतिक्रिया

Related