सेयर बजारबाट अर्थमन्त्रीलाई लाग्यो ‘ठेस’, पुँजीगत ‘लाभकर’ पहिलो गासमै ढुंगा

सरकार, निजी क्षेत्रमाथिको ‘पुरानो’ रटान बदल, अराजकता रोक्तै प्रोत्साहन पनि गर
निर्माण सञ्चार, काठमाडौं । सरकारले ल्याएको पुँजीगत लाभकरलाई ‘पहिलो गासमै ढुंगा’ साबित भएको छ ।

नयाँ आर्थिक वर्षको बजेट मार्फत् ‘लाभकर’का माथि लगाउन खोजिएको अंकुश २ हप्ता नबित्दै सरकारले फिर्ता लिने ठाउँमा पुगेपछि यसलाई सरकारले ‘घुँडा टेके’को रुपमा हेरिन थालिएको छ ।

अर्थमन्त्रालयले बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णय गरेको थियो । लगानीकर्ता र ब्रोकर कम्पनीहरुको ३ दिने आन्दोलनको दबाब पछि यस निर्णयबाट सरकार पछि हटेको हो ।

बुधबार आन्दोलनकर्ता लगानीकर्ता ब्रोकर प्रतिनिधि र सरकार बीच भएको वार्तामा बिचको बाटो लिदै सरकार ‘पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने’ ठाउँमा पुगेको हो ।

यस अघि लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको उक्त निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको अर्थस्रोतले बतायो ।

अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले दिएको जानकारी अनुसार पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर लिन सरकार सहमत भएको हो ।

सेयर बजारका लगानीकर्ताहरुले आन्दोलन गर्दै बुधबार धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए ।

सरकारले पुनर्विचार नगरे आन्दोलन नयाँ तरंग सहित अघि बढ्ने र निजी क्षेत्र भड्कने सम्भावना देखेपछि सरकारले चाँडै यस्तो निर्णय गरेको देखिन्छ ।

यस अघि सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरु सहित भएर कारोबार नै ठप्प पार्न सफल भएका थिए ।

लगानीकर्ताको चर्को विरोध सरकारले थेग्न सकेन न त आफूले घोषणा गरेको कार्यक्रम सही थियो भनेर पुष्टि गर्ने अवसर नै पायो ।

आफू पनि बच्ने र केही समय ‘पर्ख र हेर’को अवस्था सिर्जना गर्दै सरकारले बचाउको बाटो लिएको स्पष्टै देखिन्छ ।

‘चालु आर्थिक वर्षभरी पुरानै व्यवस्था अनुसार पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको छ’, स्रोतले भन्यो, यसका लागि सरकारले एउटा सुझाव समिति गठन गरेको छ ।’

सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै अनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै व्यवस्था कायम गरिएको अर्थमन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले निर्माण सञ्चारलाई बताए ।

 

 

...

बुधबार, २३ जेठ, ०७५

 

प्रतिक्रिया

Related