ठूला आयोजनामा लगानी गर्न चीनले माग्यो प्रस्ताव

नेपाल सरकारका प्राथमिकतामा कुन–कुन ?
निर्माण सञ्चार, काठमाडौँ | चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाउनका लागि नेपाल सरकारसँग प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली असारको पहिलो साता चीन भ्रमणका लागि जाने तयारी भएको हुँदा सोही भ्रमणका क्रममा ठूला आयोजनाका सम्झौता गुनपर्ने चीनको माग छ ।

चीनले नेपालको ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूचि मागेको छ ।

चीनको मागअनुसार ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफल गरेर ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याइसकेको छ ।

उक्त सूची परराष्ट्र मन्त्रालयमा पठाइसकिएको ऊर्जा मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार ती आयोजनासम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदन पनि चिनियाँ पक्षलाई पठाइनेछ । जसमा तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाको नाम पठाइएको छ ।

त्यसैगरी, प्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको सूची पठाइएको मन्त्रालयले जानकारी दियो ।

ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ पक्षले आयोजना र प्रसारण लाइनको निर्माणमा चासो देखाएको बताएका छन् ।

प्राथमिकतामा कुनकुन ?

सरकारले तमोर, किमाथांका अरुण र नलसिंहगाड आयोजनालाई प्राथमिकतामा राखेको ऊर्जामन्त्री पुनले जानकारी दिए  । यस्तै, चिनियाँ पक्षले नेपाल–चीन प्रसारण लाइन निर्माणका लागि पनि चासो देखाइरहेको छ ।

ग्रिड कर्पोरेसन अफ चाइनाले जेठ पहिलो साता पहिलो नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका निम्ति विद्युत् प्राधिकरणलाई पत्र पठाएको थियो ।

प्राधिकरणलाई ग्रिड कर्पोरेसन अफ चाइनाले आ–आफ्नो भूभागको प्रसारण लाइन निर्माणको खर्च आफैँले बेहोर्ने भन्दै प्रस्ताव पेस गरेको हो । उक्त प्रसारण लाइन धादिङको गल्छीदेखि चीनको केरुङ हुँदै सिगात्सेसम्म पुग्नेछ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा चीनले एक जलविद्युत् आयोजना र प्रसारण लाइन उपहारस्वरूप बनाइदिने सम्भावना छ ।

यससँगै चीनले केही आयोजनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सम्भावना पनि देखिएको छ । विभिन्न चिनियाँ कम्पनीले अहिले कुल ८ सय ५० मेगावाट क्षमताका ११ आयोजनामा काम गरिरहेका छन् ।

केही दिनअघि चिनियाँ राजदूत यू होङले ऊर्जामन्त्री वर्षमान पुनसँगको भेटमा चिनियाँ सरकारको सन्देश सुनाएकी थिइन् ।

ऊर्जामन्त्री पुनलाई नेपालका लागि चिनियाँ राजदूत लीलामणि पौडेलले पनि भेटेका थिए ।

जलविद्युत् आयोजना बनाइदिने चिनियाँ चासोबारे पौडलले मन्त्रीलाई जानकारी गराएका थिए ।

विभिन्न क्षेत्रका आयोजनालाई चीनले गर्न सक्ने सहयोगको सम्बन्धमा चिनियाँ पक्षले परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग लगातार छलफल गरिरहेको छ ।

चिनियाँ टोली आइतबार परराष्ट्र मन्त्रालयमा पुगेर छलफल गरेको थियो ।

प्रधानमन्त्री ओली आफ्नो पहिलो कार्यकालमा चीन भ्रमण जाँदा पनि नेपाली पक्षले केही जलविद्युत् आयोजना निर्माणको जिम्मा लिनका लागि प्रस्ताव गर्ने गृहकार्य गरेको थियो ।

नेपालले प्रस्ताव गरेको विद्युत् आयोजना कस्ता छन् ?

तमोर: हाल ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना अध्ययनको चरणमा छ ।

नेपाल विद्युत् प्राधिकरणले उक्त आयोजनाको विस्तृत परियोजना अध्ययन र डिजाइनका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यस आयोजनाले तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लालाई छुनेछ । उत्तरगंगाः विद्युत् प्राधिकरणले उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत अध्ययन गरिरहेको छ ।

३ सय मेगाावट क्षमताको जलाशययुक्त आयोजना सजिलै र चाँडै निर्माण गर्न सकिने आयोजना मानिएको छ । उक्त आयोजना बागलुङमा बन्ने भएको छ ।

नलसिंहगाडः ४१० मेगावाट क्षमताको यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको क्रममा छ । यससँगै आयोजना निर्माणका लागि प्रभावितलाई मुआब्जा वितरण हुने क्रममा छ ।

जाजरकोटको खगेनकोट दल्लीमा निर्माण हुने यस आयोजनालाई आर्थिक वर्ष २०७४/७५ मा ५२ करोड रुपियाँ विनियोजन गरिएको छ ।

...

आइतबार २० जेठ २०७५ 

प्रतिक्रिया

Related