नारायणगढ–मुग्लिन खण्डको काम पूरा, निर्वाध रुपमा आवतजावत सुरु

निर्माण सञ्चार, काठमाडौँ । बहुप्रतिक्षित नारायणगढ–मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेको काम पूरा भएको छ । सडकको कालोपत्रे सकिएसँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटाइएको छ ।

मंगलबार चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब उक्त सडकखण्डमा भएका खाल्डखुल्डी र धुलोको समस्या हटेको छ ।

सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले भने, ‘सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको छ । अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’

गएको पुस १८ गतेबाट दैनिक बिहान १० देखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाका सूचना अधिकारी खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको जानकारी दिए ।

निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न भएको छ । आयोजनालाई तीन खण्डमा विभाजन गरी अलग–अलग ठेकेदारले काम गरेका थिए । समग्रमा ३३.२ किलोमिटरमध्ये ३२.७ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ ।

१२.७ किलोमिटरमा तेस्रो तहको पिच सकिएको छ । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ । बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने जानकारहरु बताउँछन् ।

राजधानी काठमाडौंको लाइफलाइनका रुपमा रहेको यो सडकखण्ड निर्माण पूरा गर्न निकै चुनौतीपूर्ण थियो । जटिल भौगोलिक बनावट, पहिरोको जोखिम र सवारी चापलाई व्यवस्थित गरेर काम गर्नुपर्ने भएकोले सडक निर्माण निकै महत्वाकांक्षी मानिएको थियो ।

 

याे पनि पढ्नुहाेस्....

पाँचौँ पटक म्याद थप्न आएको नारायणगढ–मुग्लिन सडक निर्माण कम्पनीमाथि छानबिन गर्न गृहमन्त्रीको कडा निर्देशन

...

बुधबार २३, जेठ ०७५

प्रतिक्रिया

Related