प्रचण्डका घरधनीलाई होला त कारबाही ?

‘शारदा अधिकारी’ले जिम्मा लिएका कुन–कुन सडक बेहाल ?
निर्माण सञ्चार, काठमाडौँ | समयमै काम नगर्ने निर्माण व्यवसायीमाथि खरो रुपमा उत्रिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कामको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार प्रचण्डकै घरधनी भएपनि कारबाही गर्ने दाबी गरेका छन् ।

बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले मापदण्ड मिचरे काम गर्ने, भित्रभित्रै राज्यलाई लुट्न खोज्ने ठेकेदार घरधनी, ठूला नेता वा जोसुकै भएपनि नछाड्ने बताएका छन् ।

निर्माण आयोजनाका ठेक्का लिएर अलपत्र छाडेमा त्यसलाई सरकारले गैरकानुनी कार्य ठान्ने बताउँदै उनले ती सबैलाई कारबाही हुने जिकिर गरे ।

कार्यक्रममा प्रचण्डका घरधनीलाई पनि कार्वाही हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा गृहमन्त्री थापाले निर्माणका काम जिम्मा लिएर अधुरै छाड्ने प्रचण्डका घरधनी मात्रै नभएर जोसुकैलाई कारबाही गर्ने भन्दै कडा रुपमा प्रस्तुत त भए । यससँगै अब गृहमन्त्री थापाले कारबाही गर्छन् वा कस्तो कदम चाल्छन्, त्यो भने हेर्न बाँकी छ ।

काठमाडौँ परिसरका दर्जनौँ ठेक्का लिएर अलपत्र पारेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको घरधनी शारदाप्रसाद अधिकारीले हालसम्म एउटा काम पूरा गरेको पाइएको छैन ।

प्रचण्डका घरधनीले जिम्मा लिएका कुन–कुन सडक बेहाल ?

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक बेहाल

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडक अहिले बेहाल अबस्थामा छ । २०७१ को जेठबाट निर्माण थालनी भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो ।

तर, सो सडकखण्डको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले जेठमा पनि सम्पन्न हुन मुस्किल देखिएको छ ।

 भक्तपुरको बिष्णु कुण्डली– सिद्धीकाली सडक अलपत्र

बिष्णु कुण्डली– सिद्धीकाली सडक पनि शैलुङसँगै ज्वाइन्ट भेञ्चरमा निर्माण कार्य भइरहेको छ । उक्त खण्डको काम पनि म्याद थपेरै अलपत्र पारेर राखिएको छ ।

नागढुंगा–कलंकी सडक खण्डको हालत पनि उस्तै

यस सडकको सबै खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ ।

जोइन्टभेन्चर भएता पनि मुख्य रुपमा सडकमा शैलुङले काम गरिरहेको छ । सडक विस्तारमा भएको यस्तो ढिलासुस्ती र लापर्वाहीले स्थानीय सास्ती खेप्न बाध्य छन् ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक

यो सडक शर्मा–शैलुङ–कान्छाराम जेभीले जिम्मा पाएको छ ।

२०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपर्ने भएता पनि हालसम्म कामको टुङ्गो भने लाग्न सकेको छैन ।

नागढुंगातर्फको ३.१० किलोमिटर सडक बल्ल पिच हुँदै

नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा–शैलुङ–कान्छाराम जेभीले काम गरिरहेको छ । यो खण्डको अवस्था पनि उस्तै नाजुक छ ।

बल्ल केही खण्डमा पिच भएको छ ।

६ महिना बाँकी कम्पनीको छैन चासो

ललितपुरको ढोलाहिटी–सुनकोठी–चापागाउँ–लेले सडकको एक खण्डमा पनि दिवा–शैलुङ जेभीले निर्माण गर्दैछ ।

उपत्यका सडक विस्तार आयोजनासँग गरिएको सम्झौता अब ६ महिना मात्रै बाँकी छ । तर, कम्पनीले हालसम्म कुनै चासो देखाएको छैन ।

वनस्थली–बालाजुचौकी–बोराटार सडकखण्डमा शैलुङकै हावी

वनस्थली–बालाजुचौकी–बोराटार सडकखण्डको जिम्मा पाएको शैलुङको सोही प्रवृत्ति हावी छ ।

१४ करोड रुपियाँ ठेक्का परेको यो सडकको निर्माण कार्य शैलुङ कन्ट्रक्सनले कहिले सक्छ भन्ने कुनै टुंगो छैन ।

धोबीखोला करिडोरको निर्माणको पनि छैन टुङ्गो गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला निर्माणमा पनि शैलुङको सैली उही छ ।

कपन क्षेत्रमा ३ वटा सडकका जिम्मा शैलुङले नै पाएको छ । समयमै काम नसकेर एउटाको म्याद थपिसकिएको छ ।

साथै अर्कोको म्याद थप्न डिभिजन सडक कार्यालयले विभागलाई पत्र लेखेको छ ।

शैलुङ कन्ट्रक्सनका सञ्चालक अधिकारी उनै हुन्, जसको घरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड बसेका छन् ।

‘क’ वर्गको कम्पनी भए पनि शैलुङ कन्ट्रक्सनको कार्यशैली पेटी ठेकेदारको भन्दा पनि कमजोर देखिएको छ ।

सडक विभागका अधिकारीहरुलाई सबैभन्दा तनाव दिने कम्पनीमा शैलुङ दोस्रो नम्बरमा पर्छ भने पहिलो पम्पु कन्ट्रक्सन रहेको छ ।

....

बुधबार २२ जेठ २०७५

प्रतिक्रिया

Related