विश्व बैंकको प्रक्षेपणः नेपालको वृद्धिदर ६.३% पुग्ने

विश्व बैंकका अनुसार सबैभन्दा बढी भारतको (६.७५%) र सबैभन्दा कम अफगानिस्तानको (२.६५ %) वृद्धिदर
निर्माण सञ्चार, काठमाडौँ । चालू आर्थिक वर्ष ०७४/७५ (२०१८) मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

गत जनवरीमा गरेको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा १ दशमलव ७ प्रतिशत बढाएर विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदरलाई आधारमानी विश्व बैंकको प्रक्षेपण दर सार्वजनिक भएको हो ।

विभागले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव २९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । यस आर्थिक वर्षको बजेटले भने ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो ।

विश्व बैंकको फ्ल्यागसिप प्रकाशन ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’को जनवरी अंकमा नेपालले जम्मा ४ दशमलव ६ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो ।

गत आर्थिक वर्ष ०७३/७४ मा भने नेपालले ७ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । आगामी दुई वर्षसम्म नेपालको आर्थिक वृद्धिदरमा आशातीत सुधार नहुने विश्व बैंकले प्रक्षेपण गरेको थियो । 

विश्व बैंकले भनेको छ, ‘त्यस्तै, सन् २०२० मा भने ४ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुनेछ ।’

यसअघि गत जनवरीमा सो वर्ष पनि साढे ४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकोमा शून्य दशमलव ३ बिन्दुले घटाइएको हो ।

बढ्दो घरेलु मागका कारण आयात बढेको तथा ऊर्जाको बढ्दो मूल्यका कारण नेपालको व्यापार तथा चालू खाता घाटा झन् खराब बन्दै गएको विश्व बैंकले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा भने ५ दशमलव ८९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बजार मूल्यमा भने आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत नै हुने विभागको प्रक्षेपण छ । संसारका अन्य मुलुकसँग तुलना गर्दा बजार मूल्यकै कुल गार्हस्थ उत्पादन वृद्धिदर नै प्रयोग गर्ने चलन छ ।

पछिल्लो समयमा आपूर्ति प्रणालीमा भएको सुधार, ऊर्जाको उपलब्धता एवं व्यापार क्षेत्रको विस्तार र निर्माण कार्यले गति लिँदा आर्थिक वृद्धिदरले गति लिएको अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमार्फत बताएको छ ।

विश्व बैंकका अनुसार यस वर्ष नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै तेस्रो उच्च भएको छ । नेपालभन्दा बढी दरको आर्थिक वृद्धिदर भारत र बंगलादेशले हासिल गर्ने उसले जनाएको छ ।

भारतको आर्थिक वृद्धिदर ६.७५ र बंगलादेशको ६.५५ हुने विश्व बैंकको प्रक्षेपण छ । सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानको २.६५ र श्रीलंकाको ३.१५ हुने विश्व बैंकले जनाएको छ ।

...

बिहीबार २४, जेठ ०७५

प्रतिक्रिया

Related