जुम्ला बन्यो पहिलो रेडपाण्डा अनुगमन ब्लक !

अब प्रत्येक ३/३ महिनामा रेडपाण्डाको अवस्थाबारे अध्ययन
निर्माण सञ्चार, जुम्ला | पश्चिम नेपालकै पहिलो रेडपाण्डा अनुगमन ब्लक जुम्लालाई निर्धारण गरिएको छ । पातारासी गाँउपालिका ७ पट्मारास्थित महारुद्र सामुदायिक वनमा रेडपाण्डा अनुगमन ब्लक निर्धारण गरिएको हो ।

सामुदायिक बनको करिब ६ किलो मिटर क्षेत्रलाई आधारमानि ४ वटा ब्लकसहित २१ वटा रेडपाण्डा ट्रान्जेक्ट प्वाईन्टको रुपमा अनुगमन ब्लक निर्धारण गरीएको छ ।

विश्वमै दुर्लभ बन्दै गएको रेडपाण्डाको अवस्थाबारे उक्त सामुदायिक बनमा अध्ययन, अनुसन्धान गरिएपछि रेडपाण्डा रहेको अनुमानका आधारमा सो क्षेत्रमा रेडपाण्डा अनुगमन ब्लक तोकिएको हो ।

रेडपाण्डाको पुरानो दिसा र गुणका आधारमा त्यहाँ पहिले अधिकतम संख्यामा रेडपाण्डा रहेको अनुमान गरिएपनि हाल भने लोपउन्मुख अवस्थामा छ ।

ब्लक निर्धाणपछि उक्त सामुदायिक बनमा रहेका रेडपाण्डाको संरक्षण अभियानमा स्थानीय तथा सरोकारवालाको ध्यानाकर्षण हुने भएको छ ।

अब प्रत्येक ३/३ महिनामा रेडपाण्डाको अवस्था र संख्याको बिषयमा अध्धययन अनुसन्धान गरिने रेडपाण्डा संरक्षण जुम्ला जिल्ला परीयोजना प्रमुख पुरुषोत्तम जैशीले बताए ।

उनकाअनुसार रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाको समन्वयमा करिब एक हप्ता लगाएर ब्लक निर्धारण गरीएको छ ।

पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठको नेतृत्वमा ७ जनाको टोली एकहप्तादेखि ब्लक निर्धारणमा खटिएको थियो ।

 के कारण लोप हुँदै रेडपाण्डा ?

अतिचरीचरण क्षेत्र विस्तार, जंगलमा भेडा गोठालाहरुले जथाभावि कुकुर छाडा छोड्नु, आहारको विनास हुँदै जानु, बनमा आगलागि गर्नु, पानिको स्रोत घट्नु लगाएतका कारण बासस्थान र आहारा सकिँदै जाँदा रेडपाण्डा पनि लोप हुँदै गएको अनुसन्धानले बताएको छ ।

बनजंगल संरक्षण गर्नुका साथै गैरकाष्ठ बन पैदावर जथाभावि चोरी सिकारी न्युनिकरण गर्नसके रेडपाण्डाको संरक्षण तथा संख्या वृद्धिमा जोड पुग्ने पश्चिम नेपाल रेडपाण्डा संरक्षण संयोजक सरोज श्रेष्ठले बताए ।

सामुदायिक बनको संरक्षण गरि रेडपाण्डाको संख्या बढाउन सकेमा पर्यटनको संभावना र स्वदेशी तथा विदेशीले महारुद्र सामुदायिक बनमा रेडपाण्डाको अध्ययन, अनुसन्धान, अनुगमन गर्ने कार्य बढ्दै जाने देखिन्छ ।

यसले बातावरण सन्तुलन कायम गरी मानव स्वास्थ्यमा समेत फाईदा पुग्ने यस क्षेत्रका विज्ञहरुको भनाई छ ।

जुम्लबाट सागर परियार

...

सोमबार, २८ जेठ २०७५ 

प्रतिक्रिया

Related