दूधकाे पाउडरमा कृषि मन्त्रीकाे छड्के चेक, भेटियो ‘डेट एक्सपायर’ पाउडर

अनुगमन टाेलीले गर्याे पाउडर गाेदाममा सिल
निर्माण सञ्चार, काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बालाजुको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेका छन् ।

विभिन्न सञ्चार माध्याममा दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर बाहिर आएपछि मन्त्री खनालले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा अनुगमन गरेका हुन् ।

अनुगमनमा मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित सोमबार बिहान पुगेका मन्त्री खनालले अनुगमनपछि आधुनिक डेरी प्रोडक्टले सरसफाइमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको बताए ।

त्यसैगरी, दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको पाइएको छ ।

दूध बनाउन प्रयोग हुने पाउडरमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा शिल गरेको छ । टोलीले अहिले औद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरुमा अनुगमन गरिरहेको छ ।

मन्त्री खनालले पछिल्लो समय मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने तरकारी बजार, दुग्ध उत्पादन कम्पनीहरुको अनुगमनमा सक्रियता देखाएका छन् ।

यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।

...

शनिबार २८, जेठ ०७५

प्रतिक्रिया

Related