यी हुन् ६ वर्षदेखि अलपत्र मोरङका विकासे आयोजनाः कुनकुन निर्माण कम्पनी छन् दोषी ?

कारवाहीको चेतावनीपछि हुनथाले धमाधम काम
निर्माण सञ्चार, काठमाडौँ | गृहमन्त्रालयले विकासे आयोजनाको ठेक्का लिएर अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएसँगै देशैभरका निर्माण कार्य धमाधम हुन थालेका छन् ।

वर्षौदेखि बेहाल अवस्थामा निर्माण काम छाडेपछि मुलुकको विकासस्तर पछाडि परेको भन्दै गृहमन्त्रालयले यस्तो कदम चालेको हो ।

ठूला–ठूला आयोजनाको जिम्मा लिएर तोकिएको समयमा काम सम्पन्न नगरी पटक–पटक म्याद थप्ने, बिचैमा काम छाड्ने लगायतका प्रवृत्ति निर्माण व्यवसायीमा बढ्दोक्रममा देखिन थालेको थियो ।

सोही प्रवित्तृ मुलुकभर हावी भएपछि गृहमन्त्री रामबाहादुर थापाले ठेक्का लिने र काम नगर्ने निर्माण व्यवसायीलाई कारावाही गर्ने चेतावनी दिएलगत्तै उनीहरुलाई भूकम्प आएसरह भएको छ ।

यसैकारण सुनसरी र मोरङ जिल्लामा सञ्चालित विकासे आयोजनाको ठेक्का लिएर विचैमा काम छाडेका निर्माण व्यवसायी पनि पुनः काममा फर्किएका छन् ।

आयोजनाका ठेक्का लिएर हालसम्म कामै नगरी बसेका एचएम बिल्डर, देव एण्ड सायरमुनी जेवी, जय बाबा बिटी सिराजदीन निर्माण कम्पनी, एमके निर्माण सेवा, रमन कन्स्ट्रक्सन लगायतले काम सुरु गरेका छन् ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनोज भण्डारीले सुनसरी र मोरङ जिल्लामा सञ्चालित दर्जन बढी विकास निर्माणको कामको सम्झौता गरेको ६ बर्ष वितिसकेको बताए ।

उनले भने‘ यी दुवै जिल्लामा गरी दर्जन बढी आयोजनाको ठेक्का लिइसकेको छन्, तर जिम्मा लिएको ६ वर्ष वितिसक्दा पनि पूरा भएको छैन ।’

ती आयोजनाको ठेक्का लिएका निर्माण व्यवसायीहरुले राजनीतिक रवैया देखाउँदै केही प्रतिशत मात्रै काम गरेर बाँकी अलपत्रै छाडेका थिए ।

विभिन्न बहाना र कारण देखाउँदै निर्माण व्यवसायीहरु काम अल्झाउने बाटो गर्दै बसिरहेका थिए ।

केही समयअघि गहृमन्त्री थापाले समयसीमा भित्र काम नसक्ने निर्माण कम्पनीको नाम गृह मन्त्रालयमा पठाउन निर्देशन दिएलगत्तै उनीहरु काममा फर्किएका छन् ।

यससँगै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पनि काममा नफर्कने निर्माण व्यवसायीको सूची गृहमन्त्रालयमा पठाएको थिए ।

सुनसरी, मोरङ प्रशासनले पनि काम नगर्ने व्यवसायीको पहिचान गरी एक साताअघि कार्यालयमा बोलाएर तत्काल ठेक्का लिएको कार्य सम्पन्न गर्न लिखित कागज गराएको थियो ।

पेश्की रकमसमेत तत्काललाई रोकेर अधुरा संरचना सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई भनेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

लिखित कागजात गराउँदा पनि कुनै निर्माण व्यवसायीले आफूले जिम्मा पाएको काम नगरेको पाइएमा तुरुन्तै नियन्त्रणमा लिएर कारवाही गर्ने भण्डारीको भनाई छ ।

 सुनसरी र मोरङमा यसरी हुँदैछ काम ?

गृहमन्त्री थापाले कारवाहीको चेतावनी दिएलगत्तै ६ वर्षअघि ठेक्का लिएर बीचमै छाडिएको सरकारी भवन र सडक निर्माणको काम हाल धमाधम भइरहेको छ ।

हाल सुनसरीको धरान सडक अन्तर्गत सिंहदेवी चोकदेखि भौडाहा चोकसम्मको सडक निर्माणको कार्य थालनी भएको छ ।

उक्त सडक डेढ वर्षअघि देव एण्ड सायरमुनी जेवीले जिम्मा पाएको थियो तर, अझै अलपत्र अवस्थामा छ । यसैगरी, धरानकै जिल्ला हुलाक कार्यालयको भवन निर्माणको कामको पनि अगाडि बढेको छ ।

उक्त भवन एचएम बिल्डरले जिम्मा पाएको थियो ।

एक वर्ष अघि नै निर्माण सम्पन्न गर्नुपर्ने यो भवनको ५० प्रतिशत काम मात्र गरेर बेहाल अवस्थामा छाडिएको छ ।

त्यस्तै, सुनसरीको दुईपटक म्याद थपिएको चिमडी स्वास्थ्य चौकीको भवन निर्माणको काम पनि निर्माण कम्पनीले अलपत्र पारेको छ ।

भवनको जिम्मा जय बाबा बिटी सिराजदिन निर्माण कम्पनीले लिएर वर्षौदेखि असरल्ल अवस्थामा छाडेको छ ।

त्यसैगरी माधव खनालको एमके निर्माण सेवाले ठेक्का पाएको मोरङको पथरी स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको पनि उस्तै अवस्थामा छ ।

पाँच वर्ष अघि निर्माण सम्पन्न गर्नुपर्ने यो स्वास्थ्य चौकीको काम पनि बीचमै छाडेर अलपत्र पारिएको छ ।

ठेकेदार कम्पनी तोदीरसिराजदीन जेवीले अगाडि बढाएको सुनसरीकै राजगछिया सिनवारी स्वास्थ्य चौकीको भवन बेहाल बनेको वर्षौ वितिसकेको छ ।

हाल यी सबै निर्माणका काम धमाधम थालनी भइरहेका छन् ।

रमन कन्स्ट्रक्सनले ठेक्का पाएको सुनसरीको सखुवागाछी बबियासिमान जोड्ने सडक निर्माणको काम पनि अहिले भटाभट सुरु भइरहेको छ ।

विगत एक वर्षदेखि निर्माणको कार्य रोकिएको यस सडकको अहिले काम भइरहेको हो ।

....

शुक्रबार, २५ जेठ २०७४ 

प्रतिक्रिया

Related