प्लस टुको पाठ्यक्रमबाट गणित हटाउने शिक्षामन्त्रीको कदमको चौतर्फी विरोध, ‘सरकारको अदूरदर्शी कदम’

त्रिभुवन विश्वविद्यालय गणित विभाग र गणित समाजले गरे विरोध, निर्णय फिर्ता लिन आग्रह
निर्माण सञ्चार, काठमाडौँ । सरकारले प्लसटुबाट गणित विषय हटाउने निर्णय गरेपछि सरोकारवालाहरुले विरोध गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले प्लसटुका सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारिएसँगै यसको विरोध चौतर्फी सुरु भएको हो । 

सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । यसले गर्दा गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने बाध्यात्मक अवस्था आएको छ ।

विज्ञ के भन्छन्

सरकारको निर्णयप्रति नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा फिजिक्सका उपप्राध्यापक जीवन काफ्लेले भने, ‘कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५०/१०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनु पर्दछ ।’

उनले थपे, ‘सरकारको यस्तो निर्णयले विद्यार्थी अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले विश्वमा गणितलाई महत्व दिइरहेको समयमा नेपालमा गणितलाई प्राथमिकतामा नराख्नुलाई दुर्भाग्यका रुपमा व्याख्या गरेका छन् ।

उनले भने, ‘गणित विज्ञान तथा प्रविधिको आधार स्तम्भ र मेरुदण्ड हो । तर हाम्रो देशमा त्यसलाई बिगारेर कसरी समृद्धि हासिल गर्ने ?’

गणित समाजका अध्यक्ष प्रा. डा. टंकनाथ धमलाले सरकारको यस निर्णयले प्लसटु पढ्ने करिब पाँच लाख विद्यार्थीको विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने बताए ।

यस्तो असर पर्छ गणित हटाउँदा

इन्जिनियरिङ तथा सूचना प्रविधि विषयमा प्रवेश गर्न कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले जीव विज्ञान समूहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लेखित कार्यक्रमहरु अध्ययन गर्न पाउने छैनन् ।

सरकारले यो निर्णय गरेपछि व्यवस्थापन विषय समूहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणितमध्ये एकमात्र रोज्नु पर्ने बाध्यता छ । यी दुवै विषय उक्त समूहका विद्यार्थीहरुका लागि नभै हुँदैन ।

यसैगरी, त्रिभुवन विश्वविद्यालयको बीएससी अध्ययन गर्नको लागि ५० पतिशतभन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्तर्गत १०० पूर्णाङ्कको गणित पढेको हुनुपर्ने हुँदा पाठ्यक्रमको यो व्यवस्थाले उक्त समूहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुनेछन् । 

विगतमा सबै विज्ञानका विद्यार्थीहरुले १०० पूर्णाङ्कको गणित अनिवार्य पढ्ने व्यवस्था रहेकोमा सो हटाउँदा आधारभूत विज्ञानको जग नै खलबलिने नेपाल भौतिक समाजका सहसचिव इन्द्र भण्डारीको भनाइ छ ।

उनले भने, ‘भौतिक विज्ञान विषय पढ्ने तर सो विषय पढ्न आधारभूत रुपमा ज्ञान हुनु पर्ने गणित भने पढ्न नपाउने व्यवस्थाले गणित विनाको भौतिकशास्त्र कसरी पढाउने हो गम्भीर समस्या आउने प्रस्ट छ ।’

विदेश पढ्न जानुर्पयो भने जीआरई, जीम्याट, स्याट उत्तीर्ण गर्नुपर्छ जसमा गणितसमेत परीक्षा दिनुपर्छ ।

लोकसेवा आयोगमा समेत गणितको ज्ञान अनिवार्य छ ।

त्यसैले त्रि.वि. का उपप्राध्यापक खगेन्द्र अधिकारीले भन्छन्, ‘डाक्टर, इन्जिनियर, पाइलट, कृषि विज्ञलगायतका विशिष्ट प्राविधिक विषयमा आफ्नो भविश्य खोज्ने विद्यार्थीहरुलाई सोही क्षेत्रका विषयहरु नै जीवन उपयोगी हुन्छन् ।

तर यो पाठ्यक्रमले यी समूहका विद्यार्थीहरुका लागि जीवनउपयोगी विषयको रुपमा कस्तो विषय ल्याउन खोजेको छ, बढो विरोधाभाषपूर्ण छ ।

गणित केन्द्रिय विभागले निकालेकाे प्रेस विज्ञप्ति ... 

नेपाल गणित समाजले निकालेकाे प्रेस विज्ञप्ति ...

 

...

शुक्रबार २५, जेठ ०७५

प्रतिक्रिया

Related