योजना आयोगको निष्कर्षः ३ वर्ष यता दोहोरो आर्थिक वृद्धि नहुने, बजेट भने तेब्बर

साँढे ९ को आर्थिक वृद्धिबारे योजना आयोगको यस्तो छ निष्कर्ष
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरी ‘समृद्ध’ मुलुक बनाउने भनिरहेकै बेला राष्ट्रिय योजना आयोगले भने नेपालको आर्थिक वृद्धिदर कम्तीमा अझै ३ वर्ष दोहोरो अंकले वृद्धि नहुने प्रक्षेपण गरेको छ ।

आयोगले तयार पारेको आर्थिक वर्ष २०७५-०७६ देखि २०७७-०७८ सम्मको मध्यकालीन खर्च संरचनाअनुसार यो अवधिभित्रमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल नहुने देखाइएको छ ।

आयोगको उक्त संरचनाले आउने वर्षमा ७.९, आर्थिक वर्ष २०७६-०७७ मा ९.१ र आर्थक वर्ष २०७७-०७८ मा ९.५ प्रतिशतको आर्थिक वैद्धिदर हासिल देखाइएको छ ।

आयोगको पूर्वानुमानले आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्ममा चाहिँ कृषि क्षेत्र आयतन चालु आर्थिक वर्षको भन्दा दोब्बर बढ्ने देखाएको छ ।

तर, चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत छ ।

अबको ३ वर्षपछि कृषि क्षेत्रको वृद्धिदर ५.६ प्रतिशत पुग्ने आयोगले अनुमान गरेको छ ।

योजना आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार गैह्रकृषि क्षेत्रका हकमा आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्म उद्योगको वृद्धिदर १४.९ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ९.४ प्रतिशत रहने छ ।

आउने ३ वर्षमा आर्थिक वृद्धिदर साढे ९ प्रतिशत पुग्दा मुद्रास्फिति चाहिँ ६.५ प्रतिशतमा सीमित राख्ने सकिने लक्ष्य आयोगले सार्वजनिक गरेको छ ।

आयोगले उक्त ३ वटै आर्थिक वर्षमा मुद्रास्फिति समान अंकको ६.५ प्रतिशत कायम राख्ने लक्ष्य प्रक्षेपण गरेको छ । आयोगले आउने ३ वर्षमा प्रतिव्यक्ति आम्दानी १ लाख ५४ हजार रुपियाँ पुग्ने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय झन्डै १ लाख ६ हजार रुपियाँ रहेको तथ्यांक बताउँछ ।

उसले आउने ३ वर्षमा क्रमशः आउने वर्षमा १ लाख १७ हजार, ०७६-०७७ मा १ लाख ३४ हजार र तेस्रो वर्षमा १ लाख ५४ हजार प्रतिव्यक्ति आय पुग्ने अनुमान प्रक्षेपण गरेको हो। गरिबीको रेखामुनि झन्डै २५ प्रतिशत रहेको अनुमान भइरहेकै बेला आउने ३ वर्षमा गरिबीको रेखामुनी रहेका नागरिकको संख्या १४ प्रतिशतमा सीमित राख्ने आयोगको लक्ष्य छ ।

आयोगले बहुआयामिक गरिबी सूचकांक २०.५ प्रतिशत कायम गर्ने र आर्थिक जोखिम सूचकांक २५ कायम राख्ने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षमा आर्थिक जोखिम सूचकाङ्क २८।४ रहेको छ ।

३ वर्षभित्र बजेट तेब्बर

आयोगले प्रक्षेपण गरे अनुसार आउने ३ वर्षमा देशको बजेटको आकार चालु आर्थिक वर्षको वास्तविक खर्चको तुलनामा झण्डै दोब्बरले बढ्ने छ ।

स्मरणरहोस्, चालु वर्षको वास्तविक बजेट खर्च भनेको १० खर्ब ४६ अर्ब रुपियाँ रहेको छ।

आयोगले बताए अनुसार आर्थिक वर्ष २०७७-०७८ को बजेटको आकार १८ खर्ब ८४ अर्ब ६० करोड रुपियाँको हुने छ भने आर्थिक वर्ष २०७६-०७७ मा १५ खर्ब ७७ अर्ब ७० करोड रुपियाँको बजेट बन्ने छ ।

पछिल्लो वर्ष अर्थात् आव २०७७-०७८ मा बजेटको आकार साँढे १८ खर्ब भन्दा माथि हुने छ ।

आयोग भन्छ, ‘यस अवधिमा (आव २०७७-०७८) मा संघीय सरकारले मात्रै १२ खर्ब २६ अर्ब रुपियाँ राजस्व असुल गर्ने योजना आयोगले उल्लेख गरेको छ ।

तर, बजेट मार्फत् अर्थमन्त्री डा युवराज खतिवडाले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ३१ अर्ब रुपियाँ राजस्व असुली गर्ने लक्ष्य घोषणा गरेका थिए ।

 

...

शनिबार, २६ जेठ, ०७५

 

प्रतिक्रिया

Related