‘अवैध’ रुपमा सञ्चालित ग्रील तथा स्टील व्यवसायलाई औद्योगिक नीति अन्तर्गत ल्याउन अध्यक्ष कटुवालको अपिल

ग्रील व्यवसायी संघ गोगंबु बालाजुको साधारण सभा सम्पन्न
निर्माण सञ्चार, काठमाडौं । देशैभर गरी ११ हजार बढी ग्रील तथा स्टील व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ‘अवैध’ किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारले कानुनी दायरामा ल्याउन अपिल गरेका छन् ।

पछिल्ला दिनमा निर्माण सामग्री सहित विभिन्न वस्तुमा कालोबजारी बढिरहेको छ ।

त्यस्तै, लामो समयदेखि महासंघले गरेको प्रयत्न विपरीत ग्रील तथा स्टील्स व्यवसायभित्र पनि अस्वस्थ प्रतिस्पर्धा देखिएपछि अध्यक्ष कटुवालले कानुनको दायराभित्र नरहेको ग्रील स्टील्स व्यवसायीलाई कारबाही गर्न आह्वान गरेका हुन् ।

शनिबार (जेठ २६) मा भएको गोगंबु बालाजु क्षेत्रको तेस्रो वार्षिक साधारण सभाको उदघाटन गर्दै अध्यक्ष कटुवाल यस्तो धारणा राखेका हुन् ।

ग्रील तथा स्टील्स व्यवसायलाई राज्यको करको दायराभित्र ल्याइनु पर्ने, युवाहरुलाई स्वरोजगारको गन्तव्यका रुपमा ग्रील तथा स्टील व्यवसायलाई आत्मसम्मान जनक पेसा बनाइनु पर्ने र आत्मनिर्भर उद्योगका रुपमा यसलाई विकास गर्नु पर्ने आन्दोलनको अगुवाइ नै गर्दै आएका कटुवाल पछिल्ला दिनमा महासंघ मार्फत् पनि यस क्षेत्रलाई मर्यादित र जनशक्ति सहितको बनाउन लागिपरेका छन् ।

उनले मुलुक यतिबेला समृद्धिको युगमा प्रवेश गरेको बताउँदै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्न ग्रील उद्योग पनि पछि पर्न नहुने धारणा रखेका छन् ।

सञ्चालित ११ हजार मेटल फेब्रिकेटर्सहरुले कामको ठुलो सम्भावना रहेको उनको भनाइ छ । वार्षिक ४० अबै बढीको मेटल फेब्रिकेटिङबाट सेवा प्रदान गरी १ लाख ६० हजार बढी मानिस यतिबेला ग्रील तथा स्टील उद्योगमा संलग्न छन् ।

ग्रील तथा स्टील उधोगीहरुले स्वदेशमै ग्रीलजन्य सामग्रीहरु र फेब्रिकेटिङको सेवा दिएर मुलुकलाई यस क्षेत्रमा आत्मनिर्भर बनाउन जोड दिए ।

उनले अन्य मुलुकबाट हुने ग्रीलजन्य सामग्रीको आयातलाई प्रतिस्थापन गर्नु पर्ने धारणा रखेका हुन् ।

महासचिव लीलाबहादुर खड्काले हस्ताक्षर गरेको विज्ञप्तिले बताए अनुसार ग्रील तथा स्टील व्यवसायी संघ गोगंबु बालाजुका अध्यक्ष शिवलाल श्रेष्ठको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको थियो ।

सभाले फेरि पनि शिवलाल श्रेष्ठकै नेतृत्वमा ११ सदस्यीय कार्यसमितीको चयन गरेको उल्लेख छ । उपाध्यक्ष गोपाल विश्वकर्मा र गोपाल कार्की, सचिव भीमबहादुर रायमाझी, कोषाध्यक्ष शमन धमला र सदस्यहरुमा विष्णु बहादुर बानियाँ, राजेन्द्र प्रसाद पाण्डे, दिपक रसायली, जीवन कुमार भण्डारी, रामबहादुर श्रेष्ठ र बसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तो छ विज्ञप्ति

 

...

शनिबार, २६ जेठ, ०७५

 

प्रतिक्रिया

Related