नौबिसे–मुग्लिन सडक स्तरोन्नतिः लगभग २३ अर्ब लाग्ने अनुमान

अग्ला र कडा चट्टान भएका ठाउँमा पारिपट्टीबाट सडक खनिने
निर्माण सञ्चार, काठमाडौँ । नारायणगढ–मुग्लिन सडक स्तरोन्नति गरिएसँगै मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ ।

राजधानी काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट देशका विभिन्न जिल्लाहरु पुग्ने मुख्य सडकलाई सहज बनाउन लागिएको हो ।

मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारिपट्टी पनि सडक बनाइने भएको छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको पारिपट्टि २८ किलोमिटर सडक बनाइने छ ।

९६ किलोमिटर दूरी रहेको मुग्लिनदेखि नौबिसे सडकखण्डमा अग्ला र कडा चट्टान भएको क्षेत्रमा पारिपट्टीबाट सडक निर्माण गर्न लागिएको हो । ती ठाउँबाट नदी पार गरी सडक जोडिनेछ ।

श्रेष्ठका अनुसार सो सडकको विस्तृत अध्ययन भइ अर्थमन्त्रालयमार्फत् बजेटका लागि विश्व बैंकमा पठाइएको छ । अध्ययन पनि विश्व बैंकका प्राविधिक समूहले गरेको हो ।

लगभग २३ अर्ब खर्च लाग्ने अनुमान

यो सडक निर्माणका लागि विश्व बैंक सकारात्मक रहेकाले छ÷सात महिनाभित्रमा सडक निर्माणका लागि बजेटको टुंगो लाग्ने अनुमान छ ।

उक्त सडक निर्माणका लागि झण्डै रु २३ अर्ब खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए । काम सुरू भएको तीन वर्ष छ महिनाभित्र सक्ने गरी काम गर्ने तयारी गरिएको छ ।

वारिपट्टिको सडकले चितवन र धादिङ हुँदै काठमाडौं जोड्दै छ भने पारिपट्टि गोर्खा, धादिङ हुँदै काठमाडौं जोडिन्छ । 

८ किलोमिटर सडक छोटिने

वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सिस्ने खोलाबाट टुटीपाखासम्मको भागमा २ दशमलव ७ किलोमिटर लामो सुरुङ मार्ग बनाइने छ ।

अहिले गरिएको अध्ययनअनुसार सडक सम्पन्न हुँदा आठ किलोमिटर छोटो हुने र २० मिनेट समय कम लाग्ने उनले बताए । हाल सो सडकमा एउटा गाडी बिग्रँदा सडक अवरुद्ध हुने गरेको छ ।

सडकको स्तरोन्नति भएसँगै एउटा गाडी बाटोमा बिग्रँदासमेत दोहोरो आवतजावत गर्न सक्नेछन् ।

हाल सो सडक सात मिटर फराकिलो छ । गाडी बिग्रँदा पनि दोहोरो सवारी गुड्न नौ मिटर फराकिलो सडक चाहिन्छ ।

...

आइतबार २७, जेठ ०७५

प्रतिक्रिया

Related