रेडपाण्डा संरक्षणमा जुम्ली शिक्षक, विद्यार्थी

निर्माण सञ्चार, कर्णाली प्रदेश । सिंजा गाँउपालिका २ चुलेलगाँउमा अवस्थित श्री आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरु विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुटेका छन् ।

गाउँको जंगलमा दुर्लभ जनावर रेडपाण्डा पाइने अनुमान गर्दै संरक्षणका लागि उनीहरु आवाज उठाउन थालेका हुन् ।

सामुदायिक वन घोषणा हुँदा पनि दिनप्रति दिन वन विनास तथा चोरी सिकारी बढ्दै गएपछि त्यस जङ्गलका रेडपाण्डा पनि दुर्लभ हुँदै गएको विद्यार्थी र शिक्षकको भनाइ छ ।

रेडपाण्डा संरक्षण नेटवर्क काठमाडौँ र कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सुरु गरेको रेडपाण्डा संरक्षण अभियानलाई उनीहरुले पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार रेडपाण्डा संरक्षण नेटवर्कको सहयोग र कर्णाली विकास हातेमालो सेवा समाजको आयोजनामा सम्पन्न रुट्स एण्ड सुट्स अन्र्तगत बाल क्लब पुर्नगठन तथा भित्रे लेखन अभिमुखीकरण मार्फत उनीहरुले रेडपाण्डाको विषयमा पूर्ण जानकारी पाएपछि संरक्षण अभियानमा जुट्ने घोषणा गरेका थिए ।

उक्त अभियानअन्र्तगत रेडपाण्डाको विषयमा नियमित भित्रे लेखन गर्ने, सुचना प्रकाशन गर्ने तथा विद्यालयको अतिरिक्त क्रियाकलपमा जानकारीमूलक कार्यक्रम गर्ने विद्यालयका बाल क्लब अध्यक्ष विनोद शर्माले बताए ।

विद्यालयले गर्दै आएको अतिरिक्त क्रियाकलापअनुसार रेडपाण्डा संरक्षणका लागि वन वृक्षरोपणका कार्यक्रम गरिने बाल क्लबको भनाई छ ।

कक्षा ८ सम्मका विद्यार्थी र शिक्षकहरुले पनि त्यस्तो अभियानलाई प्रभावकारी बनाउन समुदायमा छलफल गर्ने बताएका छन् ।

साथै भित्रे लेखनका विषयमा जानकारी पाएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक जयलाल खत्रीले भने, ‘विश्वको दुर्लभ जनावर रेडपाण्डा हाम्रो वनजङ्गलमा पहिले प्रसस्तै पाइन्थ्यो । तर अहिले देखिन छाड्यो । त्यसको प्रमुख कारण वन विनाससँगै पानीको स्रोत घट्दै जानु हो ।’

वासस्थान असुरक्षित भएपछि जीवन प्रक्रियामा असर पर्नुका साथै रेडपाण्डा लोप हुँदै गएको उनको भनाइ छ । रेडपाण्डा संरक्षण परियोजना प्रमुख पुरुषोत्तम जैशीले चुलेल गाँउ नजिकैको सामुदायिक वनहरुमा पनि रेडपाण्डा हुन सक्ने भन्दै विद्यार्थी, शिक्षक, सामुदायिक वन उपभोक्ता समिति र अन्य समुदायलाई पनि त्यसको संरक्षणका लागि अभियानमा जुट्न आग्रह गरे ।

उनले भने, ‘यसको संरक्षणको अभियानमा हामी मात्र लागेर हुँदैन, सबैको साथ चाहिन्छ । दुर्लभ जङ्गली जनावरको संरक्षणका लागि स्थानीय स्तरमा जनचेतना फैलाउनुका साथै स्थानीय तहले प्रत्यक्ष अभियान चलाउनु आवाश्यक छ ।’

रेडपाण्डा संरक्षणका लागि वनजङ्गल फडानी तथा आगलागी र चोरी शिकारीजस्ता अवैध कार्य रोख्नुपर्ने उनको भनाइ छ ।

त्यस गाँउको वनमा रेडपाण्डाको अवस्थाका विषयमा अध्ययन अनुसन्धान गरी कार्यक्रम संचालन गरिने उनले बताए । सोही अवसरमा रेडपाण्डाको विषयमा उनले विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र सामुदायिक वनका पदाधिकारीसँग अन्तक्रिया गरेका थिए ।

 

कर्णाली प्रदेशबाट सागर परियारको रिपोर्ट

...

आइतबार २७, जेठ ०७५

प्रतिक्रिया

Related